शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चाडवाडमा माग हुने खाद्य वस्तुमा केजीमै ३०० रुपैयाँसम्मको वृद्धि, फलफूल र तरकारी पनि उस्तै महङ्गो

सोमबार, २२ असोज २०७५, १७ : ३१
सोमबार, २२ असोज २०७५

काठमाडौँ । चाडवाड नजिकिएसँगै धेरै माग हुने खाद्य वस्तुको भाउ आकासिएको छ । दशैँ तिहारमा टिका लगाउन जाँदा कोशेलीको रुपमा प्रयोग हुने नरिवल काजु लगायतको मूल्य महङ्गो भएको छ । 

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ दशैँ–तिहारमा कोशेलीको रुपमा प्रयोग हुने नरिवल, काजु, बदाम लगायतको मूल्य बढेको बताउँछन् । 

प्रतिकेजी ३ सय रुपैयाँ पर्ने नरिवलको मूल्य अहिले झण्डै ४०० रुपैयाँमा बिक्री हुन थालेको उनी भन्छन् । 

उनका अनुसार काजु केजीमै ३ सय रुपैयाँ बढेको हो भने बदाम २ सय रुपैयाँसम्म बढेको हो । 

यस्तै धेरै माग हुने तेलको मूल्यपनि लिटरमा २० रुपैयाँसम्म बढेको छ । यो दुई हप्ताभित्र बढेको मूल्य हो । 

नरिवल, काजु, बदाम लगायतको मूल्य बढ्नुमा डलरको भाउमा भएको बृद्धि र ढुवानी भाडाको बढोत्तरीका कारण रहेको श्रेष्ठको भनाई छ । 

हामीले खाद्य वस्तु आम उपभोक्ताले कतिमा किन्न पाइरहेका छन् भनेर नेपाल खुद्रा व्यापार संघसँग बुझ्न खोज्यौँ । संघले असोज १२ गते खाद्य बस्तुको नयाँ मूल्य कायम गरेको छ जसका अनुसार तेल, जिरा, पिठो लगायत खाद्यान्नमा मूल्य बढेको छ । 

यता, ज्वानो केजीमै सय रुपैयाँले बढेको छ भने अरुमा ५ देखि २५ रुपैयाँसम्म बढेको देखिन्छ । खुद्रा व्यापार संघले यसअघि साउन १२ गतेमात्र मूल्य अपडेट गरेको थियो । 

संघका अध्यक्ष श्रेष्ठका अनुसार ठुलो परिणाममा मूल्य घटबढ नभएकाले भदौ महिनामा भने नयाँ मूल्य सूचि सार्वजनिक नगएिको हो । 

खाद्य वस्तुको खुद्रा बजार बिक्री मूल्य



 स्रोतः नेपाल खुद्रा ब्यापार संघ

फलफूल तथा तरकारीको थोक मूल्यमै ५५ प्रतिशतसम्म बृद्धि
ठुलो गोलभेडा  थोक मूल्यमा नै प्रतिकेजी  ५२ रुपैयाँ पुगेको छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा  यसको मूल्यमा २३ प्रतिशतले बृद्धि भएको हो । भदौ २२ गते यसको मूल्य ४२ रुपैयाँ थियो । यद्यपि, थोक मूल्यमा ५२ रुपैयाँ प्रतिकेजीमा पाउने टमाटरलाई उपभोक्ताले खुद्रा पसलबाट कम्तीमा १०० रुपैयाँ तिरेर किनिरहेका छन् । ६८ रुपैयाँसम्ममा पाइने बोडीलाई पनि उपभोक्ताले कम्तिमा १०० रुपैयाँ खर्च गरेर किनिरहेका छन् । 

थोक बजारमै आज सानो गोलभेडाको औसत मूल्य ६५ रुपैयाँ छ । एक महिनाको अवधिमा यस्तो गोलभेडामा झण्डै ५५ प्रतिशतले बढेको हो । काउली मुला, गाजर, बन्दा, बोडी लगायतको मूल्य घटेको भनिएपनि खुद्रा पसलेहरुले उपभोक्ताको ढाड सेकिने गरी मूल्य बढाएर लिएका छन् । 

अनारमा ५२ प्रतिशतले मूल्य बढेको छ । भेडे खुर्सानी, हरियो खुर्सानी, तिते करेला, माछा आलु लगायतको होलसेल मूल्यमै बृद्धि छ । थोक मूल्य भन्दा खुद्रा व्यापारीले भने चाडवाडलाई देखाएर डेढ सयदेखि २ सय प्रतिशतसम्म बढी मूल्य लिएर फलफूल तथा तरकारी बेचिरहेका छन्  ।


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप