शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय टोली फर्कियो

आइतबार, २१ असोज २०७५, १६ : ३६
आइतबार, २१ असोज २०७५

काठमाडौँ– बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । 

बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको हो । 

लिग पुनः शुरु 

यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यही असोज २४ गतेदेखि हुने भएको छ । लिग निर्देशक सञ्जीव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महीनाका लागि लिग स्थगित हुनेछ । 

एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने लक्ष्य लिएको छ । त्यसपछि दशैँ–तिहारको विदामा लिग स्थगित हुनेछ । ‘पहिलो राउण्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ । दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिरदेखि लिगको दोस्रो चरणका खेल शुरु हुनेछन्,’ निर्देशक मिश्रले भने । 

पहिलो चरणका मच्छिन्द्र र च्यासल, फ्रेण्डस् क्लब र थ्रीस्टार, जावलाखेल युथ क्लब र नेपाल पुलिस, हिमालयन शेर्पा र एपिएफ तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी गरी पाँच खेल बाँकी छन् । तीन दिनमा पाँच खेल खेलाउँदा दुई दिन दुई–दुई खेल हुनेछ भने एक दिन एउटा खेल हुनेछ । 

उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लब विजयी भएको थियो । लिगका खेल तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पुरस्कार पाउने छ । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ‘ए’ डिभिजनका १३ क्लब सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप