बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करणको अलराउण्ड प्रदर्शन र सन्दीपको उत्कृष्ट बलिङ सामु थाइल्याण्ड निरिह

आइतबार, २१ असोज २०७५, १६ : ०४
आइतबार, २१ असोज २०७५

एजेन्सी । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ सामु थाइल्याण्ड निरिह बन्दा नेपालले आइसीसी विश्व टी–२० क्रिकेट अन्तरगत एशिया छनौटमा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ ।

आइतबार मलेसियाको क्वाललम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १७३ रनको विशाल योगफल पछ्याउने क्रममा थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो ।  खेलको नवौँ ओभरमा पानी परेपछि खेल रोक्न परेको थियो ।

नेपालको जीतमा करण केसी र सन्दीप लामिछाने नायक बने ।

थाइल्याण्डलाई सस्तोमा समेट्न सन्दीपले ५ तथा करणले ३ विकेट लिए ।

थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे । खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ । 

मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन समेत जोड्न सकेन ।

यसअघि, टस जितेको थाइल्याण्डले नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।

ओपनरद्वय अनिल कुमार शाह र विनोद भण्डारीले पहिलो विकेटका लागि २८ रनको साझेदारी गर्दै नेपाललाई आक्रमक शुरुवात दिलाए । शाहले २५ तथा भण्डारीले १५ रन बनाए ।

त्यसपछि शरद भेस्वाकरले ३४ तथा दीपेन्द्र सिंह ऐरीले ३० रन बनाउँदै नेपालको पारीलाई अगाडि बढाए ।

त्यसपछि नेपालले लगातार विकेट गुमायो । आरिफ शेख, पारस खड्का र ज्ञानेन्द्र मल्ल सस्तोमा आउट भएपछि आएका करण केसीले नेपालको पारीलाई विस्फोटक ब्याटिङसहित फिनिसिङ दिलाए ।
उनले मात्र १४ बेलमा ४ छक्का र २ चौकासहित सर्वाधिक ४० रन बनाए ।

यसअघि समूह बीमा रहेको नेपालले यसअघि मलेसियालाई आठ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको थियो ।

अब नेपालले असोज २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ । 

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । 

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रोचरणमा प्रवेश गरिसकेका छन् । दोस्रोचरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिमचरणका लागि छनोट हुनेछन् । 

अन्तिमचरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप