केन्द्रीय संस्करण

निःसन्तानका लागि टेस्टट्युब बेबी बरदान : शुक्रकिटको मूल्य २ हजार

person access_timeअसोज २१, २०७५ chat_bubble_outline0

बुटवल । नेपालमा टेस्टट्युब बेबीको सुरुवात भएको १५ वर्षभन्दा बढी भएको छ । विसं २०६० बाट सुरु भएको यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान बनेको छ । यो सेवा ओम अस्पतालले सुरु गरेपछि अहिले देशका विभिन्न ठाउँमा पुगिसकेको छ । प्रदेश ५ को राजधानी बुटवलको लुम्बिनी सिटी अस्पतालमा २०७३ सालदेखि टेस्टट्युब बेबीको उत्पदानको सुरुवात भइसकेको छ । बुटवलमा यसको सुरुवात स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रदीपकुमार श्रीवास्तले गरेका हुन् । उनै श्रीवास्तसँग टेस्टट्युब बेबी सेवा लिनसक्ने दम्पती, त्यसको विश्वानीयता र खर्च लगायतका विषयमा कुराकानी गरेका छौँ । 
कस्ता दम्पतीले टेस्टट्युब बेबीको सेवा लिन सक्छन् ?

टेस्टट्युब बेबी निःसन्तान दम्पतीका लागि सन्तान प्राप्तिको राम्रो विकल्प बनिरहेको छ । टेस्टट्युब बेबीकै कारण कैयौँ दम्पतीले सन्तान सुख पाइसकेका छन् । विभिन्न चिकित्सकमा पुगेपछि अन्त्यमा हामीकहाँ नै आउने हुन् । उनीहरूलाई हामीले सुरुमा रिलेसन, सामान्य शारीरक अवस्था आदि परीक्षण गर्छौं । अन्य विधिबाट सन्तान उत्पदान गर्न सक्दैनन् भन्ने  निष्कर्षमा पुगेपछि टेस्टट्युबको प्रक्रिया जान सल्लाह दिने हो । यसमा पनि दुई विधि छन्– आईभी एफ र आईसीएसआई  रहेका छन् । टेस्टट्युब बेबीका लागि पहिला श्रीमान्को वीर्यको जाँच गरेपछि  सुक्रक्रिट छ कि छैन पत्ता लाग्छ । छ भने २० देखि ६० मिलियनबीच हुनुपर्छ । त्योभन्दा बाहिर पनि समस्या हुनसक्छ । पुरुषले सुक्रकिट उत्पदान गर्न सकेन भने डोनर  खोजिन्छ । महिलाको  शरीरले अन्डा उत्पादन गरेको  छैन या उत्पदान भए पनि पूर्ण क्षमताको छैन भने अन्य महिलाको अन्डा लिएर यो प्रक्रियमा जाने हो ।  यसभित्र दुई प्रकारका विधि छन् । महिलाहरूको शरीरले अण्डा उत्पादन गर्न सकेन भने दिदीबहिनी या साथीभाइको अण्डा लिन सिफारिस गरिन्छ । त्यो सिफासिर दम्पती आफैले दिने गरेका छन् । पुरुषको हकमा पनि यस्तै हुन्छ । प्रायः साथीभाइ र दाजुभाइ तथा आफन्तको लिएका हुन्छन् । यस्तो अवस्था भएन भने हामीले इम्रियो बैङ्कको स्थापना गरेका छौँ । जहाँ पुरुषको सुक्रकिट सुरक्षति रूपमा राखिएको हुन्छ । जहाँ हामीले विभिन्न डोनरका स्वास्थ्य सुक्रकिट राखेका हुन्छौँ । यस्ता डोनरको शारीरक परीक्षण गरेर राखिन्छ । उनीहरूलाई एक पटकमा हामीले २ हजारदेखि ३ हजार रूपैयाँसम्म दिने गरेका छौँ । त्यो रकम अन्तत बिरामीको उपचारमा जोडिन्छ । वीर्यलाई हामीले सुरक्षित तरिकाले राख्ने गर्छांै । उनीहरूको जात, रङ आदिलाई मिल्ने खालको मिलाएर प्रक्रियामा जान्छौँ । तर त्यो गोप्य हुन्छ । ताकि कसको हो, कुन हो हामीले भन्न मिल्दैन । यदि आफै डोनर खोजेर ल्याएका छन् भने हामीले गोप्यता राखिदिने हो । उनीहरूले सबै कानुनी प्रक्रिया पूरा गरेका हुन्छन्  । 

टेस्टट्युब बेबी प्रक्रिया के हो ?  
नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले भित्र्याएका थिए । अहिले देशमा विभन्न अस्पालहरूमा यो सेवा सुरु भएको छ । यस सेवाबाट कति बच्चा जन्मिए भन्ने स्पष्ट तथ्याङ्क पाइँदैन । सेवा प्रदान गर्ने अस्पतालका आआफ्नै तथ्याङ्क छन् । नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर यसको खास नाम चाहिँ यो होइन । 

कतिपयलाई के लागेको छ भने बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पूर्ण असत्य हो । यसलाई अङ्ग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । जसबाट बच्चा जन्मिछ । 

यसरी जन्माइन्छ बच्चा
सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिबेला बाबु र आमालाई अलिकति लठ्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । यसमा प्रयोग गर्ने टेस्टट्युब खासमा बजारमा पाइने आकारकै हुन्छ तर प्रकृति भने अलि फरक हुन्छ । त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस (सिसाको विशेष भाँडो)मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भु्रणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ । यसलाई अन्य महिलाको जस्तै डेलिभरीको प्रक्रियामा जान्छ । 

यी कारणले बच्चा नहुन सक्छन् ?   
सबै उपचार पद्धति अवलम्बन गर्दा पनि बच्चा बसेन भने मात्र टेस्टट्युब बेबीको आवश्यकता पर्छ । पाठेघरको सङ्क्रमण, यौनजन्य रोग, थाइराइड आदिका कारण बच्चा नबस्न सक्छ । डिम्बाशयमा अण्डा  नबन्नु, पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु, यौनजन्य रोग लाग्नु आदिले पनि बच्चा नबस्न सक्छ । ढिलो विवाह वा उमेर बढी भएमा पनि बच्चा नहुन सक्छ । यो अवस्थाका निःसन्तान दम्पतीका लागि विकल्पका रुपमा टेस्टट्युब बेबीले सन्तान सुखलाई पूरा गर्छ । 

टेस्टट्युब बेबी कति सफल ? 
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा ५० प्रतिशत मात्र टेस्टट्युब बेबी सफल भएका छन् । नेपालमा ३० देखि ४० प्रतिशत सफल भएको दाबी चिकित्सक श्रीवास्तवको छ । बुटवलको हक पनि ४० देखि ५०  प्रतिशत हो ।  यसो हुनुमा विभिन्न कारण रहेका छन् । हामीलाई हाम्रो वातावरण, उपकरण  आदिले साथ दिएकाले अलि सफल हुन सकेका हौँ । टेस्टट्युब बेबी राख्दा पनि नेचुरल फर्टिलाइजेसनकै विधि अपनाउने हो । यो असफल पनि हुनसक्छ ।  टेस्टट्युब बेबी राखेका बिरामीले चिकित्सकको परामर्शमा रहिरहनुपर्छ । खानपानलगायत हरेक वातावरण  अनुकुल हुनुपर्छ । श्रीमानलगायत परिवारको साथ, सहयोग, हौसला पनि उत्ति नै आवश्यक हुन्छ ।  

कति खर्च लाग्छ  ?
नेपालको सन्दर्भमा टेस्टट्युब बेबी सबैको सहज पहुँचमा छैन । तर त्यति धेरै महँगो पनि छैन । निजी अस्पतालमा दुई साढे दुई लाख रूपैयाँदेखि सुरु हुन्छ भने सरकारी अस्पतालमा त्योभन्दा कममा हुन्छ । हामीले बुटवलमा यस्तै मूल्यको हाराहारीमा काम  गरेका छौँ ।  भारतमा भन्दा यहाँ सस्तो छ । काठमाडौँका केही अस्पतालभन्दा बुटवलमा हामीले सस्तो गरेका छौँ । 

यस्तो छ टेस्टट्युब बेबीको इतिहास 
विश्वमा टेस्टट्युब बेबी सुरुवात भएको २५ वर्षपछि नेपालमा सुरु भएको हो । अहिले अधिकांश ठूला सहरमा यो सेवा उपलब्ध  छ ।  नेपालमा डा. भोला रिजालले यो सेवा सुरुवात गरेका हुन् । २०६० सालदेखि नेपालमा टेस्टट्युब बेबीको प्रचलन सुरु भएको हो । पहिलो पटक ओम हस्पिटलमा ओममणि तामाङ यो प्रविधिबाट जन्मिएका हुन् । अहिले नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । जसले यसको व्यापकता वृद्धि गरेको छ । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि यो सेवा बरदान सावित हुन भएको छ । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा मनाउँछौँ । विश्वमा पहिलो पल्ट यस प्रक्रियाको प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुइस ब्राउन थियो, जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टरमा भएको थियो । 
 

तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ