कथा : कन्या हेर्न जाँदा
-शैलेश भट्टराई
करिब बाह्र वर्ष अगाडिको कुरा हो । मेरो बिहेको लागि केटी हेर्न भनेर एउटा घरमा गयौँ । हाम्रो टोलीमा मलगायत मेरा कान्छा मामा र बुबा थियौँ । यो मेरो आठौँ वा नवौं प्रयास थियो । केटी हेरियो । मनपर्यो । राम्री लाग्यो । बी.एड. सकेर स्थानीय बोर्डिङ स्कुलमा पढाउँदी रहिछन् । मैले केटी मन परेको इसारा मामालाई गरेँ । मामाकै पहलमा हामी दुईलाई छुट्टै गफ गर्ने वातावरण मिलाइयो । हामीले गफ पनि गर्यौं । आंशिक नै सही एकअर्कालाई बुझ्ने कोसिस गर्यौं । एक अर्काका प्राथमिकताहरू सेयर गर्यौं । अन्त्यमा उनले पनि मलाई मन पराइन् जस्तो लाग्यो । कुरो मिल्ला जस्तो भो ।
केटी हेर्ने यो क्रमसम्म आइपुग्दा ममा भएको उच्चाताभाषको अंश निकै खिइसकेको थियो । नत्र यिनलाई पनि केही न केही बात लगाई अस्वीकार गर्ने थिएँ । किनभने बिहेको कुरो चल्न थालेपछि मैले आफूले आफूलाई चानचुने मान्छे ठानेकै थिइनँ । ‘संसारमा म जत्तिको योग्य, सक्षम, पढालिखा, राम्रो युवक पाए, जसले पनि हत्ते हालेर छोरी दिन्छन्’ आफूले आफूलाई यस्तै सोच्थेँ ।
एम.ए. पास गरेको, आफ्नै व्यापार व्यवसाय भएको, धन सम्पत्ति चाहिँदो भएको, सुन्दर, स्वस्थ, चार भाइ छोरामा कान्छो छोरो, दाजुहरू छुट्टिवरी आफ्नो आफ्नो व्यवस्था गरिसक्नु भएकाले म आफूलाई सबैभन्दा योग्य वर ठान्थेँ । यस अघिका धेरै प्रस्तावहरू मेरो यस्तै सोचका कारणले रद्द भएका थिए । मेरो यही सोचकै कारण औकातभन्दा अग्ला कन्या पनि ताकियो । ताक्नु एउटा कुरो पाउनु अर्को कुरो । स्वाभाविक नै थियो पाइएन ।
हिँड्ने बेलामा हामीलाई चिया नास्ता आइपुग्यो । हामीले कपाकप खायौं । नास्ता खाइसकेर हामी हिँड्न लाग्यौँ । मेरा आँखा भने केही खोजिरहेका थिए, कोही खोजिरहेका थिए । यसो यताउती पल्याक पुलुक हेरेँ, कतै देखिएन खोजेको कुरा । जाँदाजाँदै एक झल्को भए पनि हेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । अन्तमा आँगनमा पुगेपछि माथ्लो तलाको झ्यालमा देखेँ । मन शान्त भयो । यसरी हिँड्ने बेलामा आँखा चार बनाएको क्षण अहिले सम्झँदा पनि मन त्यसै त्यसै रोमाञ्चित हुन खोज्छ ।
त्यहाँबाट हिडियो । अलिक परै पुगेपछि मामाले हाम्रो टोलीसामु घोषणा गरिदिनुभयो– ‘त्यो घरमा तिम्रो बिहे हुनसक्दैन बुझ्यौ भान्जा ।’ मलाई एकछिन त भाउन्न भो । बुवा पनि छक्क पर्नु भो । केटी हेर्न थालेको सुरुवाती दिनहरूमा त यस्तो कुराले आफूलाई रमाइलो लाग्थ्यो । आहा फेरि अर्की केटी हेर्न जान पाइने भो भनेर मख्ख परिन्थ्यो । कोही काली, कोही खलपत्रे, कोही अग्ली, कोही होची, कसैको नाक धेरै चुच्चो, कसैका आँखा साना, कसैको बोली धोद्रो, कोही मोटी, कोही पातली, कोही बान्की नपरेका यस्तै यस्तै केही खोट लायो अनि हिँडिहाल्यो नयाँ केटी हेर्न । उरन्ठेउलोपनले होला नयाँ नयाँ केटी हेर्न पाउँदा म पनि मख्खै थिएँ त्यतिखेर ।
यस्तो उरन्ठेउलो लोभ यतिखेर आएर करिब करिब उन्मूलन भइसकेको थियो । गाउँ समाजमा पनि फलानाले केटी हेर्न थालेको यति भइसक्यो, अझै पाएको छैन भन्ने गाइँगुइँ सुनिन थालिसकेको थियो । अनि भाउन्न हुनु स्वाभाविक नै थियो । मैले सोधें– ‘किन र मामा के खराबी छ र ती केटीमा ?’
मामाले भन्नु भो– ‘त्यस्ता घरमा साइनो जोड्न जानु पर्या छैन, बुझ्यौ ।’
‘हामी अलिअलि इज्जत भएकै मान्छे हौँ ।’
बुवाले पनि सोध्नु भो– ‘किन त कान्छा तैँले त्यहाँ के खराबी देखिस् र ? मलाई त ठिकै लाग्यो । लुरिकान्ते पनि मन पर्यो भन्छ ।’ केटाकेटीमा म निकै दुब्लो र कमजोर भएकाले घरका सदस्यले ‘लुरे कान्छो’ भन्दा भन्दै अपभ्रंश भएर मेरो बोलाउने नाम नै लुरिकान्ते भएको थियो ।
मामाले भन्नुभो -
‘हैन भिनाजु तपाईंले केही पनि विचार गर्नु भएन ?’
बुबाले विचार नगरेको जनाउ दिनासाथ मामा कड्के–
‘जिन्दगी विताउने कुरा हो भिनाजु, ससाना कुरा पनि विचार गर्नुपर्छ ।’
‘हामीलाई तीनले हेपेको देख्नु भएन ?’
‘हेप्नुको पनि हद हुन्छ नि !’
मामाको भाषण जारी छ -
‘तीनले हामीलाई कुटुम्ब बनाउनयोग्य ठानेका भए चिया दिँदा स्टिलको गिलासमा दिँदैनथे ।’
‘त्यस्तासँग हुँदैन हाम्रो भान्जाको बिहे ।’
हाम्रो पारिवारिक वृत्तमा देश विदेश घुमेको, पढेलेखेको, आफ्नो कुरा प्रष्टसँग राख्ने, सरकारी जागिरे, परेको बेलामा हाट्टहुट्ट गर्ने कान्छा मामा नै भएकोले उहाँ नै हावी हुँदै आउनु भएको छ– ठूल्ठूला निर्णयहरूमा । त्यसैले उहाँले जे भन्यो, त्यही हुने भएकाले यो कुरो क्यान्सिल भयो !
करिब एक महिनापछि अर्की केटी हेर्न जाने कुरा भो । पुरानै टोलीका सदस्यका साथ कन्याको घर गइयो केटी हेरियो । फेरि हेराहेर, भेटाभेट । अनि कुराकानी, गफगाफ । खानपान । सब ठीकठाक । मन पराइयो । उनले पनि मन पराएकै जस्तो लाग्यो । कुरो मिल्ने पक्का पक्की भो । भोलि छाडी पर्सी टीकोटालो गर्न आउने तय भो । अब बिदावारी हुने बेला भो । हाम्रा मामालाई दीर्घशंकाले समात्यो । ठाउँ कुठाउँ उहाँलाई दीर्घशंका लाग्नु पुरानो रोग हो । उहाँको पेट बारम्बार बिग्रिरहन्छ– आजभोलि पनि । एकताका त खाना अघि, खाना पछि, खाजा खाँदाखाँदै, फिल्म हेर्दाहेर्दै कुनै पनि बेला दीर्घशंकाले दुःख दिन्थ्यो । जानुभो उहाँ शौचालय । उहाँको शौच– ध्वनि बाहिरसम्म सुनिन्थ्यो । भटटटटट... । घरमा पनि उहाँ ट्वाइलेट गएको कुरा सजिलै थाहा हुन्थ्यो । यो ध्वनि सायद कन्या पक्षकाले पनि सुनेहुन् । शौच सकेर उहाँ बाहिर आएपछि हामी हान्नियौं आफ्नो गन्तव्यतर्फ । कन्या हुन्छ हुन्न भन्ने अन्तिम निर्णय दिने त उही कान्छा मामा नै थिए । मेरा बा पनि उनकै मुखतिर घरी घरी यसले के भन्छ भनेझैँ गरेर हेरिरहनुहुन्थ्यो ।
यत्तिकैमा बुबाले मख्ख पर्दै भन्नु भो -
‘केटी त काइदाकी रै’छे हगि कान्छा ? लुरिकान्तेसँग ठ्याक्कै जोडा मिल्ने ।’
‘बिहे चाहिँ यही माघमै सिध्याउनु पर्छ ।’
‘टीकोटालो भएपछि धेरै टाँग्नु हुन्न ।’
‘कुरो भाँडिन बेर लाग्दैन ।’
‘रात रहे अग्राख पलाउँछ भन्छन् ।’
मेरो बुबाको एकोहोरो कुरा सिद्धिए जस्तो भएपछि कान्छा मामा उफ्रिनुभो–
‘छि ! त्यस्ता फोहोरीकहाँ पनि सम्बन्ध जोड्छन् ?’
‘हैन के विधि फोहोर राख्न सकेका होलान् ट्वाइलेट !’
‘एक त कमोट नभाको ट्वाइलेट, त्यसमाथि त्यस्तो फोहोर अनि दुर्गन्धित ।’
‘सुसु गर्न पनि सकस हुने त्यहाँ कसरी मैले त्यत्रोबेर बिताएँ ! वाफ रे वाफ !’
अझै कड्किँदै मामा बोले– ‘होइन हामी आउँदैछौँ भन्ने थाहा पाएपछि बेलैमा सफा गर्नु पर्दैन ?’
‘हेर भान्जा तीनले पनि हामीलाई हेपे ।’
‘ससुराली आउँदा हाम्रा भान्जाले त्यस्तो फोहोरमा कसरी शौच गर्ने ?’
उनीहरूले हाम्रो बारेमा के सोचे त्यो मेरा कान्छा मामालाई मतलब थिएन र मतलब थिएन सायद हामी बाउ छोरालाई पनि । यो मागी विवाहमा केटा र केटीले मात्रै मन पराएर नहुने रै’छ । यो कुरो पनि टुटेपछि चाहिँ म निकै दुःखी भएँ ।
बैँस छउन्जेल लभ गर्न नखोजेको पनि होइन तर असफल भइयो । आफूले मन पराएकीले आफूलाई मन नपराउने अनि आफूले मतलब नगरेकीले हत्ते हाल्ने । केटी पट्याउन पहल गर्ने तर पटक्कै नजान्ने । अनि लभ गर्न जान्नु भनेको कठिन प्राविधिक सीप जान्नु जस्तै भो मेरा लागि । अनि कसरी हुन्थ्यो लभ । सीप सिकाउने गुरू पनि भेटिएनन् । एकबारको जुनी लभै नगरी सिद्धियोभन्दा हुन्छ । त्यही भएर त लुरू लुरू अरूको पछिपछि लागेर केटी खोज्न हिँड्नुको विकल्प थिएन । स्टिलको गिलासमा चिया दिने र शौचालय सफा गर्न बिर्सिने दुवै ठाउँका कन्या मलाई मन परेका थिए । कान्छा मामाले नमाने पनि आफै पहल गरेर कुरो मिलाउँ कि जस्तो पनि नलाग्या होइन । तर आँट आएन । बैंसमा लभ किन गर्न सकिन भन्ने कुराको आधा उत्तर थियो यो । त्यसैले अब अर्को प्रयास गर्नुको विकल्प थिएन ।
हाम्रो टोली पुनर्गठन गर्नुपर्ने आवश्यकता देखेँ । मामाले गर्दा नै कुरो भाँडिएको आभास मलाई भो । त्यसैले अब मामालाई निलम्बन गरेर फुपूलाई नियुक्ति दिने विचार गरेँ । हाम्रो घरको ठुलीकान्छी फुपू हाम्रो परिवारमा सबैभन्दा पढालिखा र समझदार मानिनुहुन्छ । प्रगतिशील विचारधाराले ओतप्रोत हुनुहुन्छ । दलीय राजनीतिमा सक्रियताका साथ लाग्नुभएको छ । देश बदल्ने उच्च सोच लिएर हिँड्नुभाको छ । विशेषगरी महिला हक हितका कुरामा खरो बोल्नुहुन्छ । आजभोलि पनि उहाँको सक्रियता उस्तै छ अर्थात् पार्टीमा उहाँको पीठो बिक्छ ।
तर मामालाई निलम्बन गर्नु निकै गाह्रो थियो, जो वर्षौंदेखि हाम्रो निर्णय प्रक्रियामा सामेल थिए । त्यसैले एउटा खुरापाती आइडिया लगाएर मामालाई रोक्न सफल भएँ ।
अनि गइयो पुनर्गठित नयाँ टोलीका साथ फेरि नयाँ केटी हेर्न । अघिल्ला प्रयासहरूमा जे–जे भो ती सबै भए यो पटक पनि । केही छिनपछि कन्या चिया नास्ता बोकेर अतिथि सत्कार हेतु आइन् । अलिक परको सोफामा बसिन् । म हेरेको हेरै भएँ । अलिक नजिक आएर बसे हुन्थ्यो जस्तो लागेको थियो । तर आइनन् । त्यहीँबाट बोलचाल भो । कन्यासँग छुट्टै गफ भएन । समूहमै गफ भो । हामीले करिब दस बाह्रवटा प्रश्न गरेपछि उनले सबैका अगाडि मलाई एउटा प्रश्न गरिन्– तपाईं के काम गर्नु हुन्छ ?’
मैले भने– ‘मेरो सानोतिनो व्यापार छ ।’
अन्त्यमा मलाई केटी मन पर्यो । केटीलाई के भयो थाहा थिएन । अब त मलाई बैंसले अनमत्त बनाएको हो वा जतिसक्दो छिटो विवाह गर्नुपर्छ भन्ने सोचले हो, जुन केटी हेर्यो त्यही मन पर्न थालिसकेको थियो । त्यसमाथि यी त राम्रै थिइन् । बाटो हिँड्दा अनौपचारिक रूपमा देखेका अधिकांश केटीलाई पनि ‘यत्तिकी भए त हुन्छ’ भन्दै मनमनै कल्पिन थालिसकेको थिएँ । यसरी कल्पिँदा बाटोमा देखेका कुनै पनि केटीलाई मेरो मनले अनुपयुक्त ठहर नगर्न थालिसेक्छ । सुरुसुरुमा यस्तो हुनु असम्भव नै थियो । त्यतिखेर यस्तो लाग्थ्यो– ‘मेरो बाटो कुरेर बत्तीस लक्षणयुक्त कुनै राजकुमारी बसिरहेकी छिन् ।’ मेरी पत्नी त यस्ती हुनुपर्छ उस्ती हुनुपर्छ अनेक अनेक मापदण्ड बनाएको थिएँ । जस्ता तस्ता केटीमा ‘झार’ भन्दै आँखै नजाने । मेरो साथी सोमलालले आफूले बिहे गर्ने केटीको फोटो देखाउँदा उडाउनु उडाएको थिएँ मैले । न रूप न रङ, न ढङ, न हाइट, न वर्ण केही पनि राम्रो देखिनँ मैले त्यतिखेर । अनि अनायासै भन्देछु– ‘छि ! सोमलाल यस्तीसँग बिहा गर्ने ?’ सायद सोमलालले आफ्नी श्रीमतीलाई पछि यो कुरा हुबहु भन्यो होला । पछिसम्म पनि उसकी श्रीमती मलाई देखी सहन्नथिन् । धन्न उसले मलाई गिज्याउन चाहिँ भ्याएन– ‘मैले त नराम्री भए पनि घरजम त गरेँ, खै त तँलाई कुनै केटीले पत्याएका ?’
यसपछि हाम्रो टोली त्यहाँबाट निस्कियो ।
‘मलाई त केटी मन पर्यो दिदी । अब कुरो छिन्न आउनुपर्छ पर्सी ।’ जाँदाजाँदै बाटोमा अलिक पर पुगेपछि मैले भनेँ ।
फुपूले त मेरो सातो खानु भो– ‘थुक्क बजिया त्यस्ती बोल्नेसमेत सोमत नभएकी केटी पनि बिहा गर्छन् ? केटी नै नपाएजस्तो ?’
म चित खाएँ । उनले बोलेको सम्झेँ । त्यही एउटा प्रश्न मात्रै थियो । उनले भन्दा हामीले कता हो कता धेरै बोलेका थियौँ । उनी मौन जस्तै थिइन् । हामी भने चाहिने नचाहिने कुराहरू सोध्दै पतर पतर बोलिरहेका थियौं । तर बोल्दा गल्ती उनीबाट भएछ । अचम्म लाग्यो । के गल्ती भएछ ? जान्न मन लाग्यो । सोधें दिदीलाई–‘ के बोलिन् र दिदी तिनले त्यस्तो ?’
फुपूले भन्नु भो ‘तपाईं के काम गर्नु हुन्छ रे !’ उनले बोलेको यही नै हो । तर अझै पनि मैले त्यो बोलीमा त्यस्तो केही भेट्टाएको थिइन जो मेरी फुपू औंल्याइरहनु भएको थियो । ।
फुपूले थप्नु भा -
‘बोलेको ढङ्ग हेर न ।’
‘तपाईं के गर्नु हुन्छ रे !’
‘आदर गरेर बोल्न कस्तो नसिकेकी !’
‘बाउआमा पनि कस्ता !’
‘सिकाउनु पर्छ नि छोरीलाई आदर सोमत ।’
फुपूको पार्टी भूमिगतबाट खुल्ला भएपछि अरू नेताको जस्तै उहाँको पनि खानपान, रहनसहन, बोलीचाली, सङ्गत व्यवहारमा निकै परिवर्तन आइसकेको थियो । जमिनमुनि बस्दाको काइदा र जमिनमाथि बस्दाको काइदामा फरक हुनु अनौठो भएन । ‘ठाडा’ ‘ठड्यौरा’ सारा बोलीहरूमा प्रतिबन्ध लगाउनु भएको थियो । आफूलाई कुल घरानियाँ, खान्दानियाँ देखाउने यस्ता धेरै इन्डिकेटरहरू उहाँले थप्दै लानु भा’थ्यो । २०४६ पछि उहाँलाई आइस्योस् र गइस्योस् टाइपका शब्दहरू मात्रै मन पर्न थालेको थियो ।
त्यही भएर मैले उनीसँग बोलुन्जेल तिमी सम्बोधन गरेर कुराकानी गरेँ, त्यो चाहिँ फुपूलाई राम्रै जँच्यो तर उनले बोलेको मन परेन । यसरी यो कुरो पनि क्यान्सिल भयो । म केही गर्न नसक्ने निरीह देखिएँ । यसरी यो प्रयास पनि असफल भएकोमा म हीनताले ग्रस्त भएँ ।
यस्तै यस्तै कुराहरूले मेरो बिहा पर पर धकेलिरहेको थियो । केटी हेर्नु, खोट लाउनु, अस्वीकार गर्नु र फेरि नयाँ केटी हेर्न हिँड्नु, फेरि खोट लाउनु अनि अस्वीकार गर्नु मेरो नियति जस्तै हुन थालेको थियो । कहिलेकहीँ त म केटी हेर्न मात्रै जन्मेको रैछु, बिहा गर्न होइन जस्तो लाग्थ्यो । यही कुचक्रले मेरो बैंस सिध्याउँछ कि जस्तो लाग्दैथियो । यही कुचक्र घुम्दा घुम्दै एउटा भयानक दुर्घटनामा मेरा दुवै आँखाका ज्योती गुमे । डाक्टरहरूले अनेक कोसिस गर्दा पनि गुमेको ज्योती फर्काउन सकेनन् । यत्तिकै चलिरहेकै थियो । यसको करिब दुई वर्षपछि फेरि एक कन्याको कुरो आयो । यो कुरो आएपछि म एकपटक फेरि रोमाञ्चित भएँ । कन्या हेर्नेओर्ने, घरपरिवार बुझ्ने, कूल खानदान केलाउने इत्यादि कुनै पनि झन्झट परेन । कसैले पनि केटी हेर्न जाने भन्ने कुरै उक्काएनन् । उनैसँग मेरो घरजम भो जो मजस्तै थिइन् अर्थात् नेत्रहीन । अहिले म एउटी छोरीको बाउ भएको छु । घर गृहस्थी राम्रैसँग चलिराखेको छ । बडो खुशी छु, सुखी पनि छु । ‘देखेको पाइन्न लेखेको पाइन्छ’ भन्ने लोकोक्ति भने बेलाबखत सम्झिरहन्छु ।