शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : राम प्रसाद !

शनिबार, २० असोज २०७५, १० : १५
शनिबार, २० असोज २०७५

-डिल्लीराम अम्माई    

झ्याम्म लाग्यो रामप्रसाद 
तिम्रो अलङ्कार 
तिम्रो बन्दुकझैँ पड्केको विम्ब
चलाइरह्यौँ तिम्रो सर्पिलो जिब्रो 
र फुकाइरह्यौँ माउसुलीको मुख 
मकै भुटेर फुला उठे झैं 
कविताको फूल उठायौँ ।

शब्द र अक्षरहरू सुकाएर बिस्कुन झैं ,
साथीभाई एउटै मझेरीमा जुटायौ ,
धन्य हौ रामप्रसाद तिमी !
इरानको मरुभूमिमा 
गजल गाउँदै 
सन्देश पुर्यायौ र सम्झिन पुग्यौ
बन्दुक सुनेर 
बारुद पिएर 
तेजाबभित्र बाँचेकी
सिरियाकी छोरी !

आमाको सम्झनामा, 
हाम्रै आँगनमा नाचेर 
निर्मलाको हत्याको 
शोक धुन बजाउँदै 
एकछिन शोकाकुल देखियौ 
र राजाहरूलाई आक्रोश पोख्यौ ।

ए ! रामप्रसाद 
कहाँ पुगेनौ तिमी 
शब्द शब्दमा देश कुद्यौ, 
अक्षर अक्षरमा सागर 
लयमा आनन्द र 
विम्बको उत्कर्षमा 
विद्रोह न्यायको नारा
पहरा कन्दरा अनि सहर 
कविताभित्र जुलुस 
ए ! राम प्रसाद ! 
भ्यायौ रामप्रसाद भ्यायौ !!
संसार ब्युझायौ !

निम्तो छ फेरि पनि आऊ है, 
चटनी लिएर पीरो 
अदुवाको अचार अनि 
साँधेको निबुवा पाना भरी !

हेलो रामप्रसाद ! 
अब हुने उत्सव 
महाकविको सम्झनामा
अलिकति शीतलता 
अलिकति हावा 
र अलिकति मह 
झोलामा राख्नु है !
लौकाको बियाँ गनेर शब्दका 
धेरै परेवाहरू घुर्ने छन् त्यहाँ 
तिमी न झिजाउनु नबिझाउनु 
केवल 
तिनका पङ्खाहरू 
शब्दका थोपाहरू उनेर 
कविता पोखेर भिजाउनु । 
बाई रामप्रसाद !

-बेल्जियम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप