शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : खबरदार यौन पिपासुहरू

शनिबार, २० असोज २०७५, १० : ११
शनिबार, २० असोज २०७५

-गायत्री लम्साल  

आजभोलि शिकारीहरू छ्याप्छ्याप्ती छन्
मान्छेको भेषमा डुलेका छन् यमराजहरू
छ महिनादेखि–सत्तरी काटेकालाई समेत
निर्लज्ज नङ्ग्याएर लास बनाउँछन्
खबरदार यौन पिपासुहरू । 

पुरुष नामका केही कलङ्क,
अझभन्दा, मान्छे नामका कलङ्कहरू
मानव अधिकार मान्छेका लागि हो,
दानवहरूका लागि होइन
कानुन र नीति नियम सबै 
मान्छेकै लागि हो
राक्षसहरूका लागि होइन ।

त्यसैले
सज्जन पुरुषहरू
जहाँ भेट्छौ तिनीहरूलाई
त्यहीँ सिध्याइहाल 
नारीहरू तिमी आफै शक्ति हौँ 
जागिहाल क्षणभरमा नै 
छोरी बलात्कार गर्ने राक्षसलाई
लोग्ने भनेर नओत 
हाम्रै घरेलु हतियार खुर्पाले
दुई टुक्रा पारिदेऊ ।

जुनसुकै रूपमा, जुनसुकै भेषमा
हुन सक्छन् यौन पिपासु
जसले जहाँ भेट्छौँ त्यहीँ
मारेर मात्र छाडिदेऊ । 
हामी तीन करोड नेपाली 
एक ढिक्का भएर
हरेक दिन एक एक सिध्याउँदै जाऔँ
यी नरपिचासहरूलाई ।

जबसम्म वीभत्स बलात्कारका 
घटनाहरू रोकिँदैन
एसिड आतङ्कले त्रसाउँदैन
तबसम्म हाम्रो अभियान जारी राखौँ ।
अनि बल्ल खोजौँला सरकारसँग न्याय
अनि बल्ल सोधौँला हाम्रा कानुनले के भन्छ ?
अनि बल्ल डाकौँला मानव अधिकारकर्मीलाई 
खबरदार यौन पिपासुहरू । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप