बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कविता : दानव

शनिबार, २० असोज २०७५, ०९ : ०८
शनिबार, २० असोज २०७५

-रन्जन पौडेल    
ए दानव 
तेरा कान कहाँछन् ?
अझै पुगेको छैन तलाई
कलिलो  मासुको भोकले
अझै भिजेको छैन तेरो आँत
तैले फुटाएको मूलले
अझै भरिएको छैन तेरो हात
तैले थिचेका
शिशुका  बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाका
सासहरुले

ए दानव
तँ  अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके
सुन्न ! आज एउटा समाचार छ, बलात्कार ।

तँ  भुलबस पनि  यो नसोच कि
तँ  लुक्दै छस
तँ  खेल खेल्दै छस
बोल,  के को ?
शक्तिको  कि  पैसाको ?
न्यायको कि  अन्यायको ?
हारको कि  जितको ?
सत्यको कि  असत्यको ?
थुक्क  ! धिक्कार  छ तलाई
तेरो अङ्गलाई
तेरो आत्मालाई
तेरो जन्मलाई
ए दानव
तँ  अझै मेरो चिच्याहट सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके
आज एउटा समाचार छ, बलात्कार ।

होसियार  !
होसियार  !
सरकार तेरा बलात्कारी लुकाउने गुफाहरु
अब एक एक निर्दोष बलात्कृत आत्माको झिल्को ढडेलो भाइसक्यो
अब  पोल्ने छ तलाई
अनि भत्भती  छट्पटाउने छस् तँ
अब त्यही आगोबाट निस्केका  प्रश्नका ज्वालाले तेरो बलात्कार गर्नेछ
चोक चोकमा गल्ली गल्लीमा गाउँ, सहर, सडकमा
गर्जनेछन् चम्कनेछन्
तेरो कालरात्रीको पर्खाइमा
तैँले नै फुटाएका ती  मूलहरु आँशुका  झोलीहरु
काली बनेर
तेरो बली चढाउन
ए दानव
तँ अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके
आज एउटा समाचार छ , बलात्कार ।

स्वर्गबाट..
आमा
मलाई माफ गरिदेऊ  ।
तिम्रा  आँशुका ऋण कुनै अर्को जन्ममा तिर्नेछु ।
तर अब आमा,
तिमी अरू सयौँ आमाका छोरीहरुलाई ऋणको भोगी हुन नदिनु ।

आमा
अब तिमी  एक्लै छैनौ ।
तिमीसँग अब करोड आवाज छन्
जुन आवाजले ती दानबका कानका जाली मात्र हैन
तेस्का हरेक अङ्ग अङ्गलाई बिस्फोट गराउने छन् ।

आमा
लड्नु आमा तिमी
जबसम्म
मलाई लडाउनेहारु लड्दैनन्
मलाई लडाउनेहरु लड्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप