बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस्टर वर्ल्डको उपाधि नेपाल भित्र्याउने लक्ष्य छ – विकल्प राज श्रेष्ठ

शुक्रबार, १९ असोज २०७५, १३ : ५२
शुक्रबार, १९ असोज २०७५

विकल्पराज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ का विजेता हुन् । चितवन निवासी उनले केही दिन पहिले राजधानीको होटल अन्नपूर्णमा आयोजित फाइनल प्रतिस्पर्धामा सो उपाधि चुमेका हुन् । बीबीएस चौथो वर्षमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित सोसल मिडिया उपाधिसमेत हात पारेका थिए । उपाधिसँगै विभिन्न पुरस्कार र अवसर प्राप्त गरेका उनले यो वर्ष आयोजना हुने ‘मिस्टर वल्र्ड’मा समेत नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । उनी अहिले त्यसको तयारी गरिरहेका छन् । मिस्टर वल्र्डको टाइटल नेपाल भित्र्याउने एक मात्र लक्ष्य राखेका उनको चलचित्र अभिनय पनि रुचिको विषय हो । तर उनको छिट्टै अभिनयमा होमिने विचार भने छैन । मिस्टर नेपाल विजेता विकल्पसँग यस्तो छ रातोपाटीको दस प्रश्न ।
 
‘मिस्टर नेपाल वल्र्ड २०१८’ को विजेता चुनिँदा कस्तो लाग्यो ?
– एकदमै खुसी छु । जिम्मेवारी बढेको महसुस भएको छ । देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसरसमेत पाएको छु । जोकोहीले यस्तो अवसर कहाँ पाउँछ र ? त्यसैले अवसरको पूरै सदुपयोग गर्नेछु ।

के कारणले दिलायो यो उपाधि ?
–मेरो मिहिनेत, लगनशीलता, आयोजकले म्यानेज गरेको राम्रा ट्रेनरले गर्दा उपाधि जित्न सफल भएँ । इतिहास रच्न सफल भएँ । 

मिस्टर वल्र्डमा के लैजाने विचार छ ?
– नेपाल कलासंस्कृतिमा विश्वकै धनी देशमध्येमा पर्छ । हाम्रो कलासंस्कृति अन्य देशको भन्दा धेरै फरक पनि छ । हाम्रो देशको कलासंस्कृति, भेषभूषालगायत धेरै विषय समेटेर जाने तयारी गर्दैछु ।

अभिनयतिर रुचि छ कि ?
– अहिले नै अभिनयका बारेमा सोचेको छैन । मेरो पहिलो प्रथामिकता भनेको ‘मिस्टर वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्नु हो । त्यसपछिको कुरो हो– अभिनय । अभिनयतिर रहर त छ तर अभिनय गर्ने, नगर्ने निर्णय गरेको छैन ।

टिपटप बनेर हिँड्न कति मनपर्छ ?
– सौन्दर्य मानिसका लागि अति आवश्यक छ । पुरुषको हकमा भने टिपटप बनेर हिँड्नुपर्छ । किनभने मानिसले सबैभन्दा पहिले हेरेर जज गर्ने भनेकै बाहिर सौन्दर्य हो । भित्री सौन्दर्य भनेको प्रस्तुत गरेपछि मात्र थाहा हुने हो । 

पूरा नभएको सपना ?
–सपना भनौँ कि के भनौँ, मिस्टर वल्र्डको उपाधि नेपाल भित्र्याउने छ । 

फुर्सदको समय के गर्न मनपर्छ ?
–आफ्नो व्यक्तित्व विकास हुने, क्षमता वृद्धि हुने खालका अध्यायन गर्न मनपर्छ ।

घुमघामतिर कतिको रुचि छ ?
–अहिलेसम्म लाइफ बिजी नै छ । बिजी लाइफमा धेरै कुरामा ध्यान पुर्याउनुपर्छ । त्यसैले घुमघाम मनपरे पनि अहिले कमी नै छ भनौँ ।

मनपर्ने सवारी साधन ?
पहिलो त पब्लिक सवारी साधनमा हिँड्न मनपर्छ । त्यसपछि मनपर्ने भनेको मोटरबाइक हो ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
–डेट एक जनासँगै जानुपर्छ भन्ने छैन । धेरै जनासँग पनि जान सकिन्छ । महत्वपूर्ण कुरो डेटको उपलब्धि हो । एक व्यक्तिको नाम लिनुपर्दा पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठसँग जान चाहन्छु । उहाँ मिस नेपाल पनि हो । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड’मा समेत पुगिसक्नु भएको छ । त्यसैले उहाँसँग डेट जाँदा केही सिक्न पाइन्छ भन्ने मलाई लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप