बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघका कारण काँग्रेस बैठक स्थगित, शशांकले दिए देउवालाई बहिस्कारको चेतावनी

शुक्रबार, १९ असोज २०७५, १२ : ३३
शुक्रबार, १९ असोज २०७५

काठमाडौँ । काँग्रेसका शीर्ष नेताहरुबीच नेविसंघको विधान कस्तो बनाउने भन्ने विषयमा विवाद भएपछि आजका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठक नै स्थगित भएको छ । 

काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण पौडेलले विशेष कारणबस आज (शुक्रबार) का लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २१ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । 
तर, काँग्रेस नेताहरुका अनुसार नेविसंघको विधानमा भएको विवादका कारण केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो । 

काँग्रेसको संगठन विस्तारमा महत्वपूर्ण मानिने नेविसंघमा खासगरी ३२ वर्षे प्रावधान राख्ने कि नराख्ने भन्नेमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षबीच बिबाद छ । 
नेविसंघमा नयाँ नेतृत्व चयनका लागि १२ औं अधिबेशन आगामी कार्तिक १६ गतेबाटबाट सुरु हुदैछ । त्यसअघि नेविसंघ केन्द्रीय समितिले तयार पारेको विधान निर्देशक समिति हुँदै पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने हुन्छ । 

नेविसघले सर्वसम्मत पारित गरेको उक्त अधिवेशन तालिकासहितको विधान निर्देशक समितिमा छलफलका क्रममा विवाद भएपछि समिति अनिर्णित बनेको थियो । 

नेविसंघले पारित गरेको विधानमा ३२ वर्षे हदम्यादको विषय समेटिएको थिएन । तर, निर्देशक समितिको बैठकमा नेताहरु गुरु घिमिरे र किशोर सिंह राठोरले ३२ प्रावधानको प्रशंग निकालेका थिए । यसमा पौडेल पक्षका विद्यार्थी नेताहरुले ठाडै अस्वीकार गरेका थिए । समितिले निर्णय गर्न नसकेपछि आज बस्ने भनिएको काँग्रेस केन्द्रीय समितिबाटै विधान टुङ्गो लगाउने तयारी थियो । 

यसअघि काँग्रेस सहमहामन्त्री डा. प्रकासशरण महत नेतृत्वको नेविसंघ हेर्ने निर्देशन समितिले नेविसंघको नयाँ विधान र नियमावली पारित गर्न बोलाएको बैठकमा पौडेल र सिटौला पक्षले ३२ वर्षे हदम्याद कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए । 

पौडेल पक्षका केन्द्रीय सदस्य तथा १२ औं अधिबेसनमा अध्यक्षका प्रत्यासीका रुपमा चर्चामा आएका मोती भण्डारीले  अधिवेशन गर्ने सर्तमा आफुहरुले अध्यक्ष नैनसिंह महरले मनोनित गरेका २२ पदलाई विनाशर्त अनुमोदन गरेको बताए ।  उनले अध्यक्ष महरले विजय गच्छदार समूहलाई समेत मिलाउने गरि पारित विधान विपरित थप १५ जना केन्द्रीय सदस्य मनोनयन गरेर उल्लंघन गरेको आरोप समेत लाए ।

यसैबीच नेविसंघ विवादमा काँग्रेस महामन्त्री शशांक कोइराला पनि पौडेल र सिटौला पक्षको माग बमोजिम विधान अनुमोदन गर्ने पक्षमा देखिएका छन् । महामन्त्री कोइरालाले नेविसंघको विवाद नसल्टयाएसम्म केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने चेतावनी देउवालाई दिएपछि शुक्रबारको बैठक आगामी सोमबारलाई बोलाएको कोइराला निकट एक नेताले रातोपाटीलाई बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप