शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मापदण्ड नपुगेको अस्पताललाई ३०० शैया सञ्चालन अनुमति दिन स्वास्थ्य सचिवकै जोडबल

बिहीबार, १८ असोज २०७५, १६ : ४१
बिहीबार, १८ असोज २०७५

काठमाडौं– मापदण्ड नपुगेको मेडिकल कलेजलाई अस्पताल सञ्चालनको अनुमति दिन स्वास्थ्य सचिव नै लागिपरेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आर्थिक प्रभावमा परेर सचिव डा पुष्पा चौधरीले घट्टेकुलोस्थित काठमाडौं नेशनल कलेज प्रा.लि.लाई ३०० शैयाको अस्पताल सञ्चालन गर्नका लागि अनुमति दिन लागिपरेकी हुन् । 

स्वास्थ्य सचिव डा चौधरीको लबिङका बीच मंगलबार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले काठमाडौँ नेशनल कलेजलाई अहिलेकै अवस्थामा अस्पताल चलाउन स्वीकृति दिन नसकिने भन्दै एक पत्र नै काटेपछि हल्लीखल्ली मच्चिएको छ । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य सचिव डा चौधरी नै स्वीकृति दिन लागिपरेको अवस्थामा महाशाखाले काटेको पत्रबाट हंगामा मच्चिएको छ । 

महाशाखाले नेशनल कलेजले ३०० शैयाको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरेपनि पूर्वाधार पूरा नभएकाले अहिलेकै अवस्थामा स्वीकृति दिन नसकिने स्पष्ट पारेको छ । 

महाशाखाका प्रमुख डाक्टर दिपेन्द्र रमण सिंहका अनुसार निवेदकको माग बमोजिम स्वीकृति दिन मिल्ने वा नमिल्ने सम्बन्धमा स्थलगत निरीक्षण गर्न अनुगमन समिति गठन गरिएको थियो । जसअनुसार समितिले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका, २०७० (दोस्रो संशोधन २०७३) बमोजिम ३०० शैयाको अस्पताल सञ्चालन गर्न चाहिने पूर्वाधार लगायत अस्पताल भवनको नक्सा डिजाइन, राष्ट्रिय भवन संहिताको मापदण्ड बमोजिम भवन निर्माण भएको स्वीकृत पत्र, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत पत्र, भवन निर्माण सम्पन्न पत्र, प्याथाोलोजी, रेडियोलोजी, तथा जनशक्ति र अन्य पूर्वाधार पूरा भएपछिमात्रै स्वीकृतिको प्रक्रिया अघि बढाउन सकिने उल्लेख छ । 

कलेजले स्वास्थ्य मन्त्रालयमा बुझाएको  प्रतिवेदनमा सबै पूर्वाधार तयार भइसकिएको दाबी गरिएको छ । सोही प्रतिवेदनलाई आधार मानेर स्वास्थ्य सचिव डा चौधरी हाल ४५ शैया रहेको काठमाडौँ नेशनल कलेजलाई  ३०० शैयामा अस्पताल संचालनको लागि अनुमति दिन लागि परेकी हुन् ।

तर, महाशाखाले भने समितिले औंल्याएका प्रतिवेदनलाई टेकेर मात्रै स्वीकृति दिन सकिने जानकारी कलेजलाई गराएको छ । मन्त्रालयमा आएको प्रतिवेदनमा अन्यौलता भएको कारण नयाँ प्रतिवेदन बुझाउन पनि अस्पताल प्रशासनलाई जानकारी गराएको बताइएको छ ।

यसविषयमा स्वास्थ्य सचिव चौधरीलाई सम्पर्क गर्दा सम्पर्कमा आइनन् । रातोपाटीको सम्पर्कमा आएका मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले भने अहिलेसम्म कलेजलाई स्वीकृति नदिएको दाबी गरे । स्वीकृति लिनको लागि यस्तो मापदण्ड हुनुपर्ने छ भनेर पत्रमार्फत जानकारी गराएको कुरालाई मिडियाले गलत तरिकाले प्रचार गरेको उनको भनाई थियो । 

काठमाडौँ नेशनल कलेजलाई ३ सय शैयाको स्वीकृत दिने लबिङमा लागकी स्वास्थ्य सचिव डा चौधरी यसअघि कर्मचारीको सरुवा, बढुवामा विवादमा तानिएकी थिइन् । असोज १६ गते बसेको  संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य मन्त्रालय मातहतको सरुवा बढुवामा आर्थिक चलखेल भएको भन्दै प्रश्न गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप