शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पच्चीस लाख अलैँची बिरुवा बिक्री

शुक्रबार, ०६ साउन २०७४, १६ : १३
शुक्रबार, ०६ साउन २०७४

लमजुङ -जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा बिक्री भएको छ । 

जिल्लाका विभिन्न नर्सरीबाट रु दुई करोड भन्दा बढी मूल्यका बिरुवा बिक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । 

जिल्लाका विभिन्न नर्सरीमा करिब ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महिना उपयुक्त समय हो । अझै बिरुवा बिक्रीका क्रममा रहेको छ । 

जिल्लाबाट स्याङ्जा, गोरखा, धादिङ, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लामा अलैँचीका बिरुवा निकासी भएको छ । बिरुवा बिक्री वितरणका लागि जिल्ला कृषि विकास कार्यालयलगायत सङ्घसंस्थाले समन्वय गर्दै आएका छन् । 

अलैँची विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीको टोलीले जिल्लाको छिनखोला, भुष्मे र नयाँगाउँमा अनुगमन गरेको थियो । कृषकले अलैँची बगान व्यवस्थापनमा ध्यान नदिएकाले पुराना बोटमा समस्या देखिएको अधिकारीले बताउनुभयो । 

“केही ठाउँमा बाक्लो छहारी भई आवश्यक तापक्रम नपुग्दा बोटमा ढुसी लागेको पाइयो”, उहाँले भन्नुभयो – “रोग लागेको होइन, बढी चिस्यानले ढुसी लागेको हो ।” पुरानो बगैँचा भएकाले पनि पुरानो बोटमा समस्या देखिएको हो । अलैँची बगानमा छहारी पातलो बनाउन र गोडमेलमा ध्यान दिन उहाँको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप