मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चाडबाडमा टुर ट्रेन्ड : यस्ता छन् ट्राभलले ल्याएका टुर प्याकेज

बुधबार, १७ असोज २०७५, १५ : ०५
बुधबार, १७ असोज २०७५

नेपाली समाजमा चाडबाड भन्ने वित्तिकै पारिवारिक जमघट सबैभन्दा पहिलो नम्बरमा आउँछ । टाढा टाढा रहेका परिवारका सदस्यहरू पनि दसैं, तिहार, छठ जस्ता ठूला चाडमा आफ्नो घर फर्कने र परिवारका साथ दुःखसुख साट्ने, मीठो मसिनो खाने र रमाउने चलन छ । नेपालमा दसैँ तिहार जस्ता ठूला चाडबाडमा विदेशिएका र राजधानी केन्द्रित परिवारका सदस्यहरू आफ्नो पुख्र्यौली घर फर्कने र आफन्तसँग भेटघाट गर्ने चलन पुरानो हो । 

तर अहिले समय बदलिएको छ । चाडबाडलाई पारिवारिक जमघटमा मात्रै सीमित नराखी परिवार तथा साथीभाइ मिली नयाँ नयाँ स्थानहरू घुम्ने ट्रेन्डको विकास ह्वात्तै बढेको छ । 

हुन त नेपालमा २०७२ सालको गोरखा भूकम्पपछि गाउँ छाड्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । भूकम्प प्रभावित जिल्लाका गाउँघर शून्यप्रायः छन् । केही वर्षदेखि चाडबाडमा लामो बिदा हुने भएकाले नेपालीहरू नयाँ नयाँ स्थान घुम्न र रमाउन थालेका छन् । विदेश घुम्न जानेको सङ्ख्या बढेसँगै ट्राभल एन्ड टुरहरूको व्यवसाय पनि फस्टाउन थालेको छ । विभिन्न हवाई कम्पनी अनि ट्राभल कम्पनीहरूले चाडबाडलाई लक्षित गरेर ल्याउने टुर प्याकेजले गर्दा विदेश भ्रमण गर्ने नेपाली पर्यटकहरू दिनानु दिन बढेको आँकलन गर्न सकिन्छ । 

अहिलेको दसैँ, तिहार तथा छठलाई मध्य नजर गरेर थुप्रै ट्राभल एजेन्सीहरूले देश विदेशका लागि टुर प्याकेज धमाधम सार्वजनिक गरेका छन् ।  

ठमेलमा अवस्थित स्काईलर्ड ट्राभल एन्ड टुरले दसैं तिहारलाई लक्षित गरेर स्पेसल प्याकेजहरू सार्वजनिक गरेको छ । ट्राभलले नेपाली पर्यटकको गन्तव्य स्थान बनेको थाइल्यान्ड टुरका लागि प्रि बुक गर्नेहरूलाई विशेष अफर ल्याएको थियो । प्रि बुक गर्ने ग्राहकले जम्मा ३७ हजार नौं सय ९९ मै ५ दिन ४ रातको प्याकेज खरिद गर्न सक्ने स्काईलर्ड ट्राभलका म्यानेजिङ डाइरेक्टर सुरज थापाले बताए । उक्त प्याकेजमा ग्राहकले बैङ्कक र पटायाका विभिन्न क्षेत्रको भ्रमण गर्न पाउने छन् । 

राउन्ड ट्रिप एयर टिकट, भिसा, २ रातको पटाया बसाइमा दैनिक ब्रेक फास्टसहित कोरल आइसल्यान्ड टुर, जसमा लन्चसहितको उक्त भ्रमण प्याकेजमा वल्र्ड जेम्स ग्यालरीको भ्रमण अनि ब्याङ्कक सिटी टुर रहेको थापाले जानकारी दिए । यदि फुकेट टुर पनि सामेल गराउने हो भने (बैङ्कक, पटाया र फुकेट)को लागि ५३ हजार चार सय ९९ मा प्याकेज खरिद गर्न सकिनेछ । 

थापाका अनुसार ट्राभलले मलेसिया अनि सिङ्गापुरको प्याकेजिङ पनि गरेको छ । ग्राहकले थाइल्यान्ड मलेसिया अनि सिङ्गापुरको कम्बो प्याकेज भने ९९ हजार चार सय ९९ मा खरिद गर्न सक्नेछन् । यो प्याकेजमा ३ रात मलेसिया, २ रात सिङ्गापुर, २ राता पाताया र २ रात बैङ्कक रहेको छ । ९ रात १० दिनको यो प्याकेज लिन चाहनेले सिङ्गापुर बसाइमा सेन्टोसामा केवलकारको मज्जा लिन सक्नेछ । त्यसैगरी विङ्गस् अफ टाइम, सी अक्युरियम र म्याडम टुसाडस्को भ्रमण गर्न सकिन्छ । 

दसैं तिहारका लागि विशेष अफर दिएको ट्राभलले तीन सय जनालाई प्याकेज बिक्री गरिसकेको र अब प्रि–बुकिङ सकिएकाले प्याकेजिङ गर्दा यो भन्दा केही महँगो पर्न आउने थापाले बताए । ट्राभलले मलेसियाका लागि पनि चार दिनको विशेष प्याकेज गरेको छ । जसमा क्वालालाम्पुरको चकलेट फ्याक्ट्रीदेखि बटु गुफा अनि स्विस आउटलेटसम्मको यात्रा हुनेछ । बाली हुँदै फर्कने अवसर मिल्नेछ । 

ग्राहकले हरेक टुर प्याकेजमा तीन तारे होटलमा एकोमोडेसन, ब्रेकफास्ट, फ्री भिसा, मलेसिया र सिङ्गापुरबीच फ्री एयर फेयर, साइड सिन, गाइड र ट्रान्सपोर्टेसनलगायतका सुविधा हुने थापाले जानकारी दिए ।

दरबारमार्गस्थित प्रेसिडेन्ट ट्राभल एन्ड टुरले पनि दसैं तिहार लक्षित स्पेसल प्याकेज सार्वजनिक गरेको छ । ट्राभलले श्रीलङ्का, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, दुबई, अजरबैजानका साथै युरोपको टुर प्याकेज दिएको छ । 

युरोप भ्रमण गर्न चाहनेका लागि ट्राभलले नेदरल्यान्ड, फ्रान्स अनि बेल्जियमको कम्बो प्याकेज दुई लाख ५० हजारमा बनाएको छ । सात रात आठ दिनको यो प्याकेज धेरैले रुचाएको प्रेसिडेन्ट ट्राभलका अपरेसन डाइरेक्टर सिद्धार्थ बिक्रम थापाले बताए । 

ग्राहकले सिङ्गापुर र मलेसियाको चार रात पाँच दिनको प्याकेज ९० हजारमा लिन सक्ने ट्राभलले जनाएको छ ।

४ रात ५ दिनको थाइल्यान्ड भ्रमणका लागि ५० हजारको प्याकेज ल्याएको प्रेसिडेन्ट ट्राभलले दुबईका लागि ४ रात ५ दिनकाको प्याकेज ९० हजारमा ल्याएको छ ।

९० हजारमा ल्याएको दुबई प्याकेजमा फेरारी वल्डसहित अवुधाबी ग्रान्ड मस्क घुम्न सक्नेछन् । बुर्ज खालिफा, लस्ट च्याम्बर, डल्फिन सो, दुबई एक्युरियम, अन्डरवाटर जु, वाइल्ड वादी वाटर पार्क, बक्वाभेन्चर, दुबई  मल, बलिउड थिम पार्क लगायत घुम्न सकिने थापाले जानकारी दिए । 

त्यसैगरी बाकु र अजरबैजानका लागि पनि विशेष प्याकेज छ । जसमा चार रात पाँच दिनको प्याकेजको शुल्क ७५ हजार रहेको छ । बाकु र अजरबैजान भ्रमण प्याकेजमा फ्री भिसा, थ्री स्टार होटेलमा ब्रेकफास्टसहितको ४ दिने नाइट एकोमोडेसन रहेको छ । 

काठमाडौंकै हात्तिसारमा रहेको स्मार्ट होलिडेजले पनि चाडबाड लक्षित विशेष प्याकेजको व्यवस्था गरेको छ । दुबई घुम्ने नेपालीको सङ्ख्या बढेसँगै दुबईका लागि विशेष अफरसहितको प्याकेज ल्याएको स्मार्ट होलिडेजका अपरेसन म्यानेजर राम खड्काले बताए । 
विशेषतः दुबई घुम्न जाने नेपाली पर्यटकले चार रात पाँच दिनको प्याकेज खरिद गर्ने गरेका छन् । छोटो अनि उचित मूल्यमा पाइने भएकाले यस्ता प्याकेजमा नेपालीहरूको आकर्षण बढेको खड्काले बताए । 
दसैंको विशेष अफर स्वरूप ६९ हजार नौ सयमा नै प्याकेज बिक्री गरेको खड्काले बताए । दुबई जाने नेपालीले दुबई सिटी टुर, डिजर्ट सफारी, ढो क्रुजको आनन्द लिन सक्नेछन् । 

काठमाडौँकै बाँसबारीमा रहेको ड्रिमी डेस्टिनेसन नेपालले नेपाली पर्यटकको प्रमुख रोजाइको स्थान थाइल्यान्डको विशेष प्याकेजहरू बिक्री गरेको छ । यीबाहेक मलेसिया, सिङ्गापुर अनि वाली पनि नेपाली पर्यटकको प्रमुख गन्तव्य स्थान हुन् । यसलाई मध्य नजर गरेर डेस्टिनेसनले यी सबै देशका लागि भ्रमण प्याकेजहरू बिक्री गरेको छ । 

ड्रिमीले थाइल्यान्डका लागि ४१ हजार पाँच सयमा स्पेसल बैङ्कक पटायाको प्याकेज दिएको छ । त्यसैगरी बैङ्कक, पटाया अनि फुकेटको कम्बो प्याकेज ५६ हजार छ सयमा बिक्री गरेको छ । गत वर्षको तुलनामा यो वर्ष छुट्टी मनाउन थाइल्यान्ड जाने नेपाली पर्यटक निकै बढेको ड्रिमी डेस्टिनेसनकी म्यानेजिङ डाइरेक्टर ऐश्वर्य श्रेष्ठले बताइन् । 

अक्टुबरका लागि त अब टिकट पाउन मुस्किल भएर नोभेम्बरका लागि प्याकेज बिक्री गरिरहेको उनी बताउँछिन् । अक्टुबरका लागि एयरलाइन्सको टिकट बुकिङ नै सकिएकाले सबै एजेन्सीहरूले नोभेम्बरका लागि प्याकेजिङ गरिरहेको उनले जानकारी दिइन् । सबैभन्दा सस्तो ४१ हजार पाँच सय रुपैयाँदेखि सुरु हुने भ्रमण प्याकेज स्थान र दिन अनुसारले बढ्दै जाने श्रेष्ठले जानकारी दिइन् ।

यसरी प्याकेज लिएर घुम्न जाँदा हवाई टिकट, निःशुल्क अनएराइभल भिसा, ट्रान्पोटेसन र होटेलको अग्रिम बुकिङलगायत गाइडको पनि व्यवस्था हुनेछ । विभिन्न स्थानहरूको साइट सिइङमा जाँदा पनि निःशुल्क पिक एन्ड ड्रपको सुविधा हुने हुँदा यस्ता प्याकेजमा नेपाली पर्यटकको आकर्षण बढेको छ । 

यता कमलपोखरीमा रहेको बोन होलिडेजले पनि चाडवाड लक्षित विशेष प्याकेजहरू गरेको छ । दुबई घुम्न जान चाहनेहरूका लागि विशेष प्याकेजहरू सार्वजनिक गरेको बोन होलिडेजमा दसैं तिहार र छटका लागि मात्रै दुई सयभन्दा धेरैले प्याकेज लिएका छन् । चार रात अकोमोडेसनसहित तीन तारे होटलको बसाइसँगै दुबई सिटी टुर, धो क्रुज डिनर, डेजर्ट सफारी, क्यामेल राइड, बेली डान्सको आनन्द जम्मा ५९ हजार नौं सय ९९ मा पनि बिक्री गर्यो । ट्रान्सपोर्ट अनि दुबई भिसा निःशुल्क मिल्ने अनि सस्तो मूल्यमा आफ्नो बिदाको सही सदुपयोग गर्न सकिने भएकाले दुबई घुम्ने नेपाली पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बोन होलिडेजका म्यानेजिङ डाइरेक्टर विनोदराज पौडेलले बताए । 

दुबईसँगै होलिडेजले बाकु, बाली, इजिप्टको पनि प्याकेजिङ गरेको छ । जसमा इजिप्ट जाने नेपाली पर्यटक पनि प्रशस्तै छन् । सस्तो र छोटो समयमा नै नयाँ नयाँ ठाउँ घुम्न पाउने भएकाले इजिप्ट पनि नेपाली पर्यटकको गन्तव्यमा परेको पौडेलले बताए । बाकुको चार रात पाँच दिनको प्याकेज सार्वजनिक गरेको बोन होलिडेजले बाकुका मुख्य मुख्य स्थानको भ्रमण गर्न सकिने बताएको छ । 

नेपाली पर्यटकले बिदाको उत्तम गन्तव्यमा थाइल्यान्ड, बाकु, बाली, दुबई अनि इजिप्टलाई धेरै रोज्ने गरेको पाइएको छ । बोन होलिडेजले बालीका लागि ६७ हजार चार सय ५०, थाइल्यान्डका लागि ४९ हजार चार सय ५०, मलेसियाको, ९२ हजार चार सय ५०, दुबई, ६३ हजार चार सय ५०, इजिप्ट ७७ हजार चार सय ५०, बाकु ७७ हजार चार सय ५० र रसिया एक लाख ५४ हजार चार सय ५० मा प्याकेजिङ गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप