शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘असोज १७ गतेको त्यो सहमति, जुन पार्टी एकताको महत्वपूर्ण कडी बन्यो’

बुधबार, १७ असोज २०७५, ११ : ४४
बुधबार, १७ असोज २०७५

२०७५ असोज १७ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच भविष्यमा पार्टी एकतामा जाने रणनीति सहमतिसहित सङ्घीय र प्रदेश चुनावका लागि गठबन्धन भएको दिन । काँग्रेस र माओवादीबीच सरकार चलिरहेका बेला गुप्तशैलीमा भएको एमाले र माओवादी अर्थात बामगठबन्धन धेरैका लागि आश्यर्चजनक थियो र काँग्रेसका लागि त एउटा दुर्घटना नै । त्यही सहमतिअनुसार एमाले र माओवादी प्रतिनिधि सभा निर्वाचनतर्फ १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा मिलेर चुनाव लडे । गठबन्धन घोषणामा सहभागी नयाँ शक्ति चाहिँ दस दिनमा बाहिरियो । पछि दुई दल एमाले र माओवादी मात्र संयुक्त घोषणापत्रमा चुनाव लडे । उनीहरूलाई सानदार जित पनि मिल्यो र केपी ओली नेतृत्वको सरकार पनि गठन भयो । तर पनि पार्टी एकता हुने नहुने अनिश्चतता कायमै थियो । दुई पार्टीभित्रै पनि एकता विरोधी समूह थिए भने राष्ट्रिय–अन्तर्राष्ट्रिय केही शक्ति केन्द्र पनि एकताको विपक्षमा थिए । तर पनि ०७५ जेठ ३ गते एमाले–माओवादीबीच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जन्मियो । बामगठबन्धनदेखि शक्तिशाली नेकपा निर्माणसम्मको दौडधूपमा लाग्ने नेतामध्ये एक थिए, विष्णु पौडेल । उनी पार्टी एकतापछि नेकपाको महासचिव भए । पौडेलले रातोपाटीका लागि बबिता शर्मासँग बामगठबन्धन घोषणापछिको एक वर्षको यसरी स्मरण गरेका छन् :

असोज १७ गते नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा एउटा ऐतिहासिक दिन हो । नेपालका दुईवटा ठूला कम्युनिस्ट पार्टीहरूले साझा घोषणपत्र र साझा उम्मेदवार लिएर हामी चुनावमा जान्छौँ र चुनाव लड्छौँ । राजनीतिक स्थायित्व सुनिश्चित गर्छौँ । देशलाई विकास, समृद्धि र सामाजिक न्यायतर्फ अगाडि लिएर जान्छौँ । विकासतर्फ अगाडि लिएर जान्छौँ भनेर सार्वजनिक रूपले प्रतिबद्धता व्यक्त गरेको दिन हो । 

त्यो सहमतिको औचित्य, त्यसपछिका घटना र देशका परिणामले पुष्टि गरेको छ । हामीले असोज १७ गते सहमति मात्र गरेनौँ, त्यस सहमतिको सफल एवम् प्रभावकारी कार्यान्वयन पनि गर्यौँ । कतिपय मानिसहरू भन्ने गर्थे, यो सहमति निर्वाचनको बेलामा उम्मेदवारी दर्ता गर्ने विन्दुसम्म पुग्दा नपुग्दै ब्रेक भइसक्छ । तर त्यस्ता मानिसका अनुमान परिमाणले गलत सावित गरिदिएको छ । हामीले बडो सहज ढङ्गले आवश्यक गृहकार्य गरेर पार्टीको चुनावी घोषणा पत्र तयार गर्यौं । हामीले प्रत्यक्षतर्फका साझा उमेदवारहरू प्रतिनिधिसभा र प्रदेशसभामा तयार गर्यौँ । अत्यन्तै उत्साहका साथ हामी चुनावमा सामेल भयौँ । जसको परिणाम देशव्यापी रूपमा आइ नै सकेको छ । 

सङ्घीय संसदमा बहुमत, सातवटा प्रदेश सभामध्ये छवटा प्रदेश सभामा बहुमतमा छौँ । दुई नम्बर प्रदेशसभामा बहुमतमा त छैनौँ तर त्यहाँ पनि ठूलो पार्टी भइसकेका छाँै । यो निर्वाचन परिणामबाट प्रस्टै छ । हामीले लिएको निर्णयलाई नेपाली जनताले अत्यन्त सही समयमा र आवश्यक ढङ्गले निर्णय गरेका थियौँ भन्ने पुष्टि गरेको छ । सङ्घीय सरकार र प्रादेशिक सरकारको जगमा अगाडि बढ्ने गरी गृहकार्य गरेका छौँ, त्यही अनुरूप सहमतिको जगमा हामी निर्वाचनमा सहभागी भयौँ । निर्वाचनको परिणामको जगमा उभिएर हामीले पार्टी एकता सम्पन्न गर्यौं । पार्टी एकताको एउटा महत्वपूर्ण कडीका रूपमा असोज १७ गतेको सहमति थियो । यदि त्यो सहमति भएको थिएन भने पार्टी एकता हुनै सक्दैनथियो । त्यसकारणले पार्टी एकताको एउटा महत्वपूर्ण आधारका रूपमा  असोज १७ गतेको सहमतिलाई लिन सकिन्छ । 

हुन त असोज १७ गतेको प्रसङ्ग पुरानो भइसक्यो । हामीले यो घटनाको परिणाम सार्र्वजनिक हुँदा आकस्मिक, चामत्कारिक, जादुमय भनेर टिप्पणी गरिएका हुन् । अन्तर्यमा नगई बाहिरबाट हेर्दा त्यस्तो देखिन्थ्यो पनि तर यथार्थमा सघन गृहकार्यको परिणाम थियो असोज १७ गते । सघन गृहकार्यको नतिजा थियो जेठ ३ गते ।

हामी त्यही सहमतिको जगमा उभिएर निर्वाचनका परिणामहरू र त्यसले प्राप्त गरेका उपलब्धिबाट पार्टी एकता सम्पन्न गर्यौं र केन्द्रीय तहमा पार्टी एकता सम्पन्न गरेपछि हाम्रा सामुन्नेमा केही महत्वपूर्ण जिम्मेवारी उपस्थित भइसकेका छन् । एउटा जिम्मेवारी पार्टीलाई देश, प्रदेश, जिल्ला र स्थानीय तहमा एकीकृत गर्नु छ । अर्कोतर्फ तीनै तहका जनप्रतिनिधि संस्थाहरूमा हामी अत्यधिक ठूलो सङ्ख्यामा छौँ । विकास, समृद्धि, सामाजिक न्यायसमेतको अभिभारा नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको छ । 

गाउँपालिका, नगरपालिका प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाको कुरा गरौँ । यी सबै ठाउँमा हामी निर्णायक शक्ति भइसकेको हुनाले अब देशलाई अगाडि बढाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । अब हामीले यी दुवै क्षेत्रमा आफूलाई अब्बल सावित गर्नुपर्छ । जनताको अपेक्षा अनुरूप हामीले आफूलाई अगाडि बढाउनु पर्छ । हामी त्यस दिशातर्फ सोच्दै छौँ र कदम चाल्दै छौँ । 

गठबन्धन र एकताको व्यावहारिक पाटो 
हुन त असोज १७ गतेको प्रसङ्ग पुरानो भइसक्यो । हामीले यो घटनाको परिणाम सार्र्वजनिक हुँदा आकस्मिक, चामत्कारिक, जादुमय भनेर टिप्पणी गरिएका हुन् । अन्तर्यमा नगई बाहिरबाट हेर्दा त्यस्तो देखिन्थ्यो पनि तर यथार्थमा सघन गृहकार्यको परिणाम थियो असोज १७ गते । सघन गृहकार्यको नतिजा थियो जेठ ३ गते । त्यो जेठ ३ गतेमा पुग्नका लागि त्यसबीचमा धेरै किसिमका औपचारिक र अनौपचारिक वार्ताहरू, छलफलहरू भएका छन् । त्यसका लागि पार्टी एकता संयोजन समिति बनाएर हामीले कार्य गरेका छौँ । लामो समयको कसरतको नतिजा थियो जेठ ३ गते । 

भूकम्पपछि बडो असहज परिस्थिति सिर्जना भएको थियो । भूकम्पको सामना गर्ने पनि छ ।  संविधान निर्माण गर्नुपर्ने पनि छ । राष्ट्र ठूलो विपतमा आइपर्यो त्यतिबेला । भूकम्पको सामना पनि मिलेर गरौँ र राष्ट्रलाई संविधान दिने काम पनि मिलेर गरौँ भन्ने निष्कर्षमा हामी पुग्यौँ । धेरै नै संवाद, छलफल विर्मशमा हामी पुग्यौँ । परिणामतः हामी मिलेरै संविधान निर्माण गर्नमा सफल भयौँ । यदि हामीले संविधान निर्माण गर्न नसकेको भए त मुलुक दुर्घटनातिर जान्थ्यो । त्यो परिस्थितिको मूल्याङ्कन गरीकन हामीले संविधान निर्माण गर्यौँ । संविधान निर्माणको पृष्ठभूमिमा जुन प्रकारको सहकार्य थियो, त्यो सहकार्यले हामीलाई संविधानपछि निर्वाचन तालमेलका लागि एउटा आधार दिएको थियो । निर्वाचनको तालमेल गर्ने ठाउँ असोेज १७ गतेको विन्दुमा आइपुग्याँै । असोज १७ गतेले जेठ ३ गतेका लागि आधार तयार गर्यो । यो बाहिरबाट देखिएजस्तो चामत्कारिक भन्ने कुरा होइन । यो सुचारिक र योजनाबद्ध नै हो ।

एकतापछिको अवस्था
हामीले के कुरामा जोड दियौँ भने पार्टी एउटा परिवार जस्तै विधिमा, व्यवस्थपनमा सञ्चालित हुन्छ । एउटा क्लब पनि विधि निर्माण गरेर सञ्चालन हुन्छ । त्यसमा पनि यति ठूलो पार्टी । यसको व्यवस्थापन प्रभाकारी विधिका आधारमा मात्रै सञ्चालन सम्भव छ भन्ने निष्कर्षमा हामी थियौँ । त्यसैको नतिजा हामीले लामो व्यवस्थित गृहकार्य गरी विधान र नियमावली तयार गरेका छौँ । विधान र नियमावली हाम्रो पार्टीको सङ्गठनात्मक जीवनलाई मार्गदर्शन गर्ने महत्वपूर्ण दस्तावेज हो । केन्द्रीय तहको एकता भयो । विधान र नियमावली पनि हामीले तयार गर्यौैं । प्रदेश, जिल्ला तहमा हाम्रो एकता कसरी गर्ने भन्ने प्रश्न हाम्रोसामु उपस्थित भयो । हामीले के सोच्यौँ भने अहिले अधिवेशन गरेर, सम्मेलन गरेर कमिटीहरू निर्माण हुन सक्दैनन् । यतिबेला मनोनितको माध्यमबाट कमिटीहरू निर्माण गर्ने हो । 

हामीले व्यक्तिको मुख हेर्ने होइन । हामी विधिको चस्माबाट समस्याको समाधान खोज्ने खोज्छौँ । यसक्रममा सम्बन्धित सबै व्यक्ति पात्रका निम्ति हामीले एउटा यथोचित मर्यादा र सम्मानका साथ उपहार गर्छौँ । उपयुक्त जिम्मेवारी प्रदान गर्ने हाम्रो प्रयास रहन्छ । एउटा कोसिस के छ भने स्थायी कमिटीले गरेका निर्णय कहिल्यै पनि अन्तिम हुँदैनन् । त्यो पनि केन्द्रीय कमिटीमा जानु पर्छ । सचिवालयहरूले गरेका निर्णय पनि अन्तिम हुँदैनन् । त्यो पनि स्थायी कमिटीमा जानुपर्छ । कहिले निर्णय अनुमोदनका निम्ति लगिन्छ, कहिले प्रस्तावका रूपमा लगिन्छ ।

मनोनयनको माध्यमबाट कमिटीहरू बनाउँदा तलको विचार र सुझावलाई सङ्गठित गर्न उचित हुन्छ भन्ने ठानेर हामीले कार्यदलहरू निर्माण गर्यौँ । जनवर्गीय सङ्गठनको एकता प्रक्रियालाई अगाडि बढाउन र सुझाव सल्लाहा दिने प्रयोजनका लागि हामीले कार्यदलहरू बनायौँ । कार्यदल बनाउँदा हामीले एउटा मापदण्डमा आधारित भएर बनायौँ । को मान्छे रहन्छ, को मान्छे रहँदैन भनेर हामीले मान्छेको मुख हेरेनौँ । पहिला मापदण्ड बनायौँ । मापदण्डले कार्यदल तयार गर्यौँ । कार्यदलहरूले आआफ्नो तहमा काम गरे । कार्यदलले आफ्नो काम गरे । उनीहरूले सिफारिस गरेका छन् । 

अहिले कार्यदलका सिफारिसहरूमा प्रवेश गरेर हामीले छलफल गर्न र निर्णय गर्न भ्याएका छैनौँ । यसबीचमा हामीले प्रदेश तहका चार पदाधिकारीको टुङ्गो लगाएका छौँ । त्यसबाहेक अरू कमिटीको एकीकरण बाँकी छन् । जिल्ला तहभन्दा माथिका कमिटी बनाउने जिम्मा तिनै कार्यदलाई दिइएको छ । जनवर्गीय सङ्गठनको एकता प्रक्रियामा पनि हामी औपचारिक रूपमा प्रवेश गर्न पाएका छैनौँ । हामीले सोचेको के छ भने निर्णय समस्याको समाधान हो । निर्णय समस्याको समाधान बनेर आउनुपर्छ । निर्णयले समस्या सिर्जना गर्न हुँदैन । त्यसकारण हामी सुविचारित ढङ्गले निर्णयमा पुग्नका लागि अलिकति समय लिएका छौँ । अब यो कामलाई निश्चित अवधिभित्र टुङ्ग्याउँछौँ । हाम्रो पार्टी विधिसम्मत ढङ्गले, प्रभावकारी ढङ्गले र गतिशील रूपमा अगाडि बढ्छ । अहिले पनि पार्टी विधिम्मत चलेको छ ।

पार्टीभित्र असन्तुष्टिको पाटो 
पार्टीमा देखिएका पछिल्ला असन्तुष्टिका बारेमा मैले धेरै मिडियामा बोलेको छु । एउटै कुरा बारम्बार दोहोर्याउँदा गुण धेरै चपाए जस्तो हुन्छ । म यति भन्न चाहन्छु, पार्टी विधिमा चलेको छ । अब पनि चल्छ । दुई अध्यक्षमा अधिकार केन्द्रित गर्ने हाम्रो सोच पनि छैन । अध्यक्षहरू स्वयम्ले त्यसरी चाहनु भएको छैन । सम्पूर्ण रूपमा भन्ने हो भने पार्टी सदस्यहरूमा अधिकार छ । पार्टी सदस्यहरूको अधिकारलाई विभिन्न तहका कमिटीहरूमा हस्तान्तरण गर्ने गर्छौं । अधिकार व्यक्तिमा केन्द्रीकृत भइरहेको छ । अझै हुँदैछ भन्ने कुरा विल्कुल गलत हो । हामी त्यो चीजमा विश्वास नै गर्दैनौँ । स्थायी कमिटीका बारेमा हाम्रो विधानमा निश्चित व्यवस्था छ । समय अवधि पनि तोकिएको छ । तोकिएको समयावधिका हिसाबले स्थायी कमिटीको बैठक बस्ने बेला भयो । हामी अब स्थायी कमिटीको बैठकमा आवश्यक गृहकार्यसहित जान्छौँ । 

पार्टीमा समस्याको समाधान  
हामीले व्यक्तिको मुख हेर्ने होइन । हामी विधिको चस्माबाट समस्याको समाधान खोज्ने खोज्छौँ । यसक्रममा सम्बन्धित सबै व्यक्ति पात्रका निम्ति हामीले एउटा यथोचित मर्यादा र सम्मानका साथ उपहार गर्छौँ । उपयुक्त जिम्मेवारी प्रदान गर्ने हाम्रो प्रयास रहन्छ । एउटा कोसिस के छ भने स्थायी कमिटीले गरेका निर्णय कहिल्यै पनि अन्तिम हुँदैनन् । त्यो पनि केन्द्रीय कमिटीमा जानु पर्छ । सचिवालयहरूले गरेका निर्णय पनि अन्तिम हुँदैनन् । त्यो पनि स्थायी कमिटीमा जानुपर्छ । कहिले निर्णय अनुमोदनका निम्ति लगिन्छ, कहिले प्रस्तावका रूपमा लगिन्छ । विधानले दिएका सीमासम्मको अधिकारलाई प्रयोग गर्छ सचिवालयले । आवश्यक विषयहरूमा उसले निर्णय गर्छ । आवश्यक विषयहरूमा प्रस्ताव तयार गर्छ । प्रस्ताव तयार गरेको छ भनेदेखि त्यो प्रस्ताव लिएर सचिवालय स्थायी कमिटीको बैठकमा जान सक्छ । निर्णय गरेको छ भने त्यो निर्णयलाई अनुमोदनको प्रस्ताव लिएर स्थायी कमिटीमा जानुपर्छ सचिवालय । सचिवालयको निर्णय अन्तिम होइन, स्थायी कमिटीको निर्णय पनि अन्तिम भन्ने होइन, त्यसो त केन्द्रीय कमिटीले गरेका निर्णयहरू महाधिवेशनप्रति पनि उत्तरदायी भएर गर्नुपर्छ । 

केन्द्रीय कमिटीले गरेका निर्णय पनि अन्तिम हुँदैनन् । महाधिवेशनले गरेका निर्णयहरू नै अन्तिम हुन्छन् । किनभने महाधिवेशन समस्त पार्टी सदस्यहरूको प्रतिनिधित्व गरेर आयोजना गरिन्छ र त्यो पार्टीको सर्वोच्व संस्था हुने गर्दछ । त्यसकारणले हरेक संस्थाका लागि प्रत्यायोजित अधिकार छन् । महाधिवेशनले केन्द्रीय कमिटीलाई अधिकार प्रत्यायोजन गर्छ । केन्द्रीय कमिटीले महाधिवेशनले प्रत्यायोजन गरेका हकसम्म उसले आफ्नो अधिकार प्रयोग गर्ने हो । स्थायी कमिटी सचिवालय जस्ता संस्थाहरूले पनि निश्चित सीमासम्मका अधिकारहरू अभ्यास गर्छन् । तर, ती सम्बन्ध संस्थाप्रति उत्तरदायी भएर । सचिवालयले कुनै पनि निर्णय गर्यौँ भनेदेखि उसले स्थायी कमिटीप्रति, केन्द्रीय कमिटीप्रति उत्तरदायी भएर निर्णय गर्छ । स्थायी कमिटीले निर्णय गर्यो भनेदेखि पनि उसले केन्द्रीय कमिटीप्रति उत्तरदायी भएर निर्णय गर्छ । 

नेपाल कम्युनिस्ट पार्टीभित्र जनताले गुटको अस्तित्व देख्ने खालको क्रियाकलाप कहीँ कतैबाट भयो भने त्यो गलत हुन्छ । हामी नेपाल कम्युनिस्ट पार्टीलाई गुटको फेडरेसन होइन एउटा एकताबद्ध सुदृढ पार्टीका रूपमा अगाडि बढाउन चाहेका छौँ । हाम्रा आजसम्मका समस्त क्रियाकलाप त्यही उद्देश्यका निम्ति केन्द्रित छन् ।

एकताको अनुभव हाम्रो नयाँ होइन, पहिलो एकता पनि होइन । हामीले पृष्ठभूमिको कुरा गर्ने हो भने पूर्व नेकपा एमाले वा पूर्व नेकपा माओवादी केन्द्रसँग एकताका प्रशस्त अनुभव छन् । विभिन्न धारहरूको बीचको एकताको क्रममा हामी जेठ ३ गतेभन्दा अगाडिको ठाउँमा आइपुगेका थियौँ । जेठ ३ गते फेरि हामीले नयाँ उचाइबाट यो एकता सम्पन्न गरेका छाँै । त्यसकारण एकता भन्ने बित्तिकै त्यसका विशिष्ट विशेषताहरू हुन्छन् । त्यसमा फरक फरक पृष्ठभूमि हुन्छन् । फरक फरक अभ्यास र अनुभव हुन्छन् । फरक फरक मनोविज्ञान, योगदान र इतिहास हुन्छ । त्यो फरक फरक इतिहास, योगदान, अनुभव र पृष्ठभूमि सबैलाई एकताबद्ध गर्नुपर्छ । एकताबद्ध भन्नाले दुईवटा कमिटीलाई एउटा बनाउने र हिजो दुई ठाउँमा रहेका साथीलाई एक ठाउँमा गोलबन्द गर्ने मात्र विषय होइन । त्यो विचार, मूल्यमान्यता र आदर्शको एकता, शैलीको एकता, भावनाको एकता हो । एकताभित्र बहुआयामिक भाव अन्तर्निहित छन् । एकताको विषयमा विर्मश, चर्चा गरिरहँदा वा एकताको प्रक्रियालाई अगाडि बढाइरहँदा ती सबै ख्याल गर्नुपर्छ । त्यसकारण एकताका प्रक्रियाको जे जति काम बाँकी छन्, ती कामहरू छिटो सम्पन्न गर्नु त छँदै छ । सँगसँगै हामीले अत्यन्तै बुद्धिमतापूर्वक, सावधानीपूर्वक सम्पन्न गनुपर्छ । त्यसरी एकता सम्पन्न गर्नासाथ हाम्रो आन्तरिक जीवनमा समस्याका सम्भावना न्यून भएर जान्छन् । हाम्रो आन्तरिक जीवन विधिसम्मत बढ्दा सुदृढ हुने सम्भावना बढेर जान्छ । हामीले एकता प्रक्रियालाई आधारभूत तहसम्म सँगसँगै लिएर सम्पन्न गर्ने नै छौँ । तर एकता सबै हिसाबले बलशाली होस् उपलब्धिपूर्ण होस् र यो न्यून समस्याको समाधान गर्ने होइन कि समस्त समस्याको समाधान गर्ने एउटा सशक्त माध्यमका रूपमा अगाडि बढोस् भन्ने पक्षमा छौँ । त्यसले गर्दा केही ढिलो भएको छ । ढिलो भएकोमा हामी आफै पनि चिन्तित छौँ । तर हामी परिपक्व ढङ्गले नै एकता प्रक्रियालाई टुङ्ग्याउन पनि चाहेका छौँ । 

नेकपामा गुटको अस्तित्व सम्भव छैन
नेपाल कम्युनिस्ट पार्टीभित्र जनताले गुटको अस्तित्व देख्ने खालको क्रियाकलाप कहीँ कतैबाट भयो भने त्यो गलत हुन्छ । हामी नेपाल कम्युनिस्ट पार्टीलाई गुटको फेडरेसन होइन एउटा एकताबद्ध सुदृढ पार्टीका रूपमा अगाडि बढाउन चाहेका छौँ । हाम्रा आजसम्मका समस्त क्रियाकलाप त्यही उद्देश्यका निम्ति केन्द्रित छन् ।

त्यसकारण मलाई लाग्दैन कि यो पार्टीमा गुटको अस्तित्व रहन्छ । गुटहरू बन्छन् । हामी गुटलाई समाप्त गर्छौं । पार्टीलाई विधिका साथ एकताबद्ध भएर सञ्चालन गर्छौं । विगतका कतिपय प्रवृत्तिहरू विभिन्न ढङ्गले विभिन्न ठाउँमा प्रकट हँुदा हुन् । तर अब त्यो नेपाल कम्युनिस्ट पार्टीको मुख्य प्रवृत्ति बन्दैन । नेपाल कम्युनिस्ट पार्टीभित्र गुटको अस्तित्व सम्भव छैन । गुट जन्मिनका लागि, गुट फैलिनका लागि त्यस प्रकारको अनुकूल वातावरण पार्टीभित्र हुँदैन । हामी ढुक्क छौँ । देश र प्रदेशमा रहनु हुने नेपाली, जो नेपाल कम्युनिस्ट पार्टीको उज्ज्ववल भविष्य चाहनुहुन्छ । म उहाँहरू सबैमा आश्वस्त पार्न चाहन्छु । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप