शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सनसनी’ मच्चाउने त्यो राजनीतिक घटना, एक वर्षअघि यसरी भएकाे थियाे वाम गठबन्धनको घोषणा

बुधबार, १७ असोज २०७५, ०८ : ५७
बुधबार, १७ असोज २०७५

काठमाडौं– तत्कालिन नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको हैसियतमा थियो । यस्तै तत्कालिन माओवादी केन्द्र भने नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागि थियो । 

तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दलहरु प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेकै बेला मध्ये दशैंमा एकाएक वाम गठबन्धनको घोषणा भयो ।

 जबकी राष्ट्रियताको मुद्दा चर्काउँदै आन्दोलनमा समेत होमिएको तत्कालिन एमाले र माओवादी केन्द्रबीच लगभग पानी बाराबारको अवस्था थियो । 

अत्यन्तै गोप्य ढंगले वाम गठबन्धन बनाउने तयारीमा जुटेका तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १६ गतेमात्रै वाम एकतागर्ने सम्बन्धी निर्णय भई सार्वजनिक भएको थियो । मध्ये दशैंमा गरिएको यो निर्णयले राजनीति एकाएक तातिएन मात्रै स्वयम् तत्कालिन एमाले र माओवादीका नेता कार्यकर्तासमेत चकित हुन पुगेका थिए । 

१६ गतेको निर्णयसँगै १७ गते राष्ट्रियसभा गृहबाट वाम गठबन्धनको घोषणा भएको थियो । यो गठबन्धन निर्माण प्रक्रियामा सुरुमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई समेत जोडिएका भएपनि पछि चुनावी प्रक्रियामा टिकटको भागबण्डा नमिलेसँगै बाहिरिएका थिए । 

तर तत्कालिन एमाले र माओवादी भने वाम गठबन्धनको घोषणासँगै निरन्तरको छलफल र समझदारीपछि एकीकृत भए । गत जेठ ३ गते यी दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।

यसो त एकताअघि नै  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर यी दल केन्द्रमा दुई तिहाई नजिक सिट हासिल गर्न सफल भए ।  अहिले नेकपाकै सरकार रहेको अवस्थामा काँग्रेस कमजोर अवस्थामा प्रतिपक्षमा रहेको छ । 

कसरी सम्भव भयो एकताको अध्याय ?
२०७४, भदौ महिना अघि सम्मपनि तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड एमालेलाई सिद्धाएपछि मात्र माओवादी पहिलो पार्टी बन्छ भन्दै थिए । स्थानीय तहको पहिलो चरणको चुनावमा कांग्रेससंग तालमेल गरेका प्रचण्डले कांग्रेससंगको सहकार्य दूरगामी महत्वको रहेको बताउँदै आएका थिए ।

विगतमा ‘भ्यागुताको धार्नी’ भनेर टिप्पणी गर्ने गरिएको वामपन्थी एकता अहिले सफल नै बन्न सफल बनेको छ  तर अहिले भने राजनीतिलाई नै चकित बनाइदिने एकता कसरी सम्भव भयो भन्नेमात्रै चर्चा गरिएको छ ।  

नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो, तर व्यबहारमा त्यसो हुन सकिरहेको थिएन् । बेलाबखत प्रचण्ड स्वयमले पनि वामपन्थी एकताको कुरा गर्ने गरेका थिए । 

कतिपयलाई आश्चर्य चकित तुल्याउनेगरी भएको तत्कालिन एमाले–माओवादी सहकार्य र एकताका प्रमुख सुत्रधारको रुपमा वामदेव गौतलाई लिइँदै आएको छ । गौतमले लामो समयदेखि ‘असम्भव’ ठानिएको काममा हात हालेका थिए । 

दोस्रो संविधानसभा चुनावमा धक्का खाएको माओवादीले पहिलो दल बन्ने आश मारिसकेको थियो । यस्तै निराशाका कारण प्रचण्डले बेला बखत माओवादी बिघठनको कुरा समेत उठाउने गरेका थिए । 


सधैभरी राजनीतिक अस्थिरताका कारण देशमा अर्थिक विकास हुन नसकेको भनेर राजनीतिक दलको चर्कोे आलोचना हुने गरेको अवस्थामा दुई दल सुशासन, स्थिरता र विकासको एजेण्डा बोकेर एकता प्रक्रियामा होमिएका थिए । 

यो एकता प्रक्रियालाई सफल बनाउन तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमालेका नेता विष्णु पौडेलको पनि महत्वपूर्ण भूमिका रहेको थियो । दुई पक्षीय नेताहरुबीच भित्रभित्रै विभिन्न चरणमा छलफल हुँदै पहिला चुनावी गठबन्धन गर्ने र त्यसपछि एकता नै गर्नेगरी वाम गठबन्धनको घोषणा गर्नेगरी समझदारी बनेको थियो । सो उद्देश्यले अहिले मूर्तरुप लिइसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप