शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका जवाननै क्रिश्चियन धर्मका नेता, यस्तो छ धर्म परिवर्तनको भ्रम

मङ्गलबार, १६ असोज २०७५, १९ : ५४
मङ्गलबार, १६ असोज २०७५

बुटवल– ‘म सशस्त्र प्रहरीको जागिर गर्दैछु । मेरो जागिर १५ पुरा भई १६ मा टेक्दै छ ।  म प्रभु यशुख्रिष्टको प्रदेश दुत हुँ । म र मेरी श्रीमतीले तनहुँ र लम्जुङ्गमा प्रभुको प्रचार गर्दै आएका छौं, झण्डै ३ सय जना सहभागी कार्यक्रम हलमा आफुलाई बुद्ध गुरुङ्ग नाम र सशस्त्र प्रहरीको जागिरे बताउने ब्यक्तिले प्रभु यशुख्रिष्टको यसरी प्रचारमूलक भाषण  गरे ।

केश कटिङ्गदेखि जिउडाल र लवाजसमेत प्रहरी वा सेनाको मान्छे भनेर अनुमान गर्न सकिने उनले यसरी प्रचार गरेकी मानिसको जिवनमा आउने सबैखाले परिवर्तन उनै प्रभुको विश्वास गरेर मात्र सम्भव छ ।  मंगलबार बिहान गुल्मीको सदरमुकाम तम्घासको ईन्दे्रणी पार्टी प्यालेसको सभाहल भित्रको कुरा हो यो ।

पोखरा, बुटवल, स्याङ्गजा, अर्घाखाँचीबाट आएकाहरुमा आफुलाई प्रभु यशुख्रिष्टको प्रचार गर्ने लिडर बताउनेहरुमध्ये उनै गुरुङ्गलाई बोल्ने समय दिइयो । उनै प्रहरीको मान्छे हुँ भन्नेले नै प्रभुको चमत्कारबारे चर्चा गरेपछि सहभागि बालकदेखि बृद्धसम्मले ध्यानपूर्वक सुनिरहेका थिए । 

उनी सशस्त्र प्रहरीका वहालवाला जागिरे हुन् भने कसरी क्रिश्चिन धर्म प्रचारका लागि प्रदेश दुत हुन सके ? कि उनले सर्वसाधारणलाई विश्वास दिलाउन सशस्त्र प्रहरीको हवला दिँदै भ्रममा पारिरहेका छन् ? यस्तो सवाल मनमा खेलाउनेहरु पनि प्रशस्त थिए ।

उनले प्रभुबारे यसरी बखान गरे– ‘म यसमा लागेको चार बर्ष भयो । गत चैत्र महिनामा हामीले यस धर्मको तीन महिने लिडरसिप तालिम पोखरामा लिएका थियौं । त्यसपछि म प्रदेश दूत भएको हुँ । प्रभुको विश्वास नगर्नु अघिसम्म म विरामी हुने, दुब्लाउने, पाईल्स जस्ता जटिल रोगबाट ग्रसित थिएँ । मादक पदार्थ पिएर श्रीमतीसँग दिनहुँ झगडा हुन्थ्यो ।

अहिले म एक मुठी बियर पनि पिउँदिन । श्रीमतीसँग कहिल्लै झगडा पनि हुन छाड्यो । मेरो त्यो विमार पनि अहिले औषधी उपचारनै नगरी आफै निको भएर यस्तो फुर्तिलो छु । प्रभु यशुलाई लाख–लाख धन्यवाद...’ उनको प्रशिक्षणको अर्थ लागू औषध दुव्र्यसनीमा फसेका मानिसहरुलाई त्यस धर्ममा आकर्षित गर्ने रहेको प्रस्ट हुन्थ्यो ।

प्रभुको विश्वास गरेदेखि कसैले बर्षौ अघिदेखि बेपत्ता भएको छोरा एक हप्तामै भेटेको, क्यान्सर, मुटुरोग, मेरुदण्ड निको हुने, निसन्तानलाई सन्तान समेत हुने र अन्य समस्या समेत स्वतः समधान हुने जादुई छडी हुने कुरामा विश्वास दिलाउँदै थिए उनी ।

सो कार्यक्रममा कसैले किडनीको बिमार आफै निको भएको बताइरहेको थिए भने कुनै महिलाले आफ्नो श्रीमान सँधै बिरामी पर्ने गरेको, डाक्टरकहाँ लगेर हैरानी परेपछि प्रभुको विश्वासमा लागेपछि आफैं निको भई अहिले सुःखद दाम्पत्य जिवन बिताएको बताउँदै थिए ।  एक जनाले आफु विगतमा विल्लीबाँठ भएको, बिहान बेलुकाको गुजारासमेत चलाउन सक्ने अवस्था नभएपछि प्रभुको शरणमा पर्नासाथ कोही छोराहरु लण्डन, कोही अमेरिका पुगेर सम्पन्न र शुखी जीवन ब्यतित गरेको बताउँदै थिए ।

विज्ञानलाई ठाडो चुनौती
कार्यक्रमका सबै धार्मिक प्रचारकहरुले मेडिकल विज्ञानलाई ठाडै चुनौती मात्र दिएनन,  उपहास समेत गरिरहेका थिए । पोखराबाट आएकी धर्म प्रचारक ज्ञानु दिदीले वर्तमान अवस्थामा चेलीबेटीमाथि बलात्कारका घटना बढ्नुमा हिन्दु धर्मलाई दोष दिइन् । उनले भनिन्ः हेर्नुन, संसारिक दुनियाँमा यतिबेला देशैभर साना नानीहरु समेत बलात्कारको शिकार भईरहेका छन्, यता हाम्रो स्वर्गमा विश्वास गर्नेहरुमध्ये एउटी बालिकाको कहानी म यहाँ सुनाउन चाहन्छु ।’

उनले थपिन्– ‘एक दिन बाटोमा एउटी बालिका बलात्कारको शिकार हुँदै गरेको बेला उनका दाजुले च्याप्प समातेर बलात्कारीबाट बहिनी छुटाउन सफल भएछन् ।  त्यसपछि उनका दाजुले भन्दै थिए– ‘धन्न प्रभुको विश्वास गरेको थिएँ र बहिनी बचाउँन सफल भएँ ।’

उनीहरुको सबै कुराप्रति विश्वास ग्रहण गर्दै सोझा महिलाहरु लिन भइरहेका थिए । उनिहरुका शब्दैपिछे परर्र थालीको गडगडाहट सुनिन्थ्यो ।

 घोकाएको कुरा बिराउनेहरुलाई सिकाउँदै
तम्घास अर्घाखाँचीका केहि दलित र जनजाती महिला पुरुषहरु मञ्चमा पुगेर परिचय दिन समेत नसक्ने खालका थिए । त्यसका बाबजुद पनि प्रभुका बारेमा बोल्न केहि दिनयता घोकाउँदै आएको स्पष्ट बुझ्न सकिन्थ्यो ।  त्यस्ता कुरा बोल्न प्रचारक दुर्गा लामिछाने   पनि सिकाउँदै थिईन् । 

उनी सिक्नेहरुले बिराएको खण्डमा मायालु पाराले हल्का हिर्काउँदै र सामान्य झपार्दै थिईन् ।  भिडियो खिच्नेहरुले प्रष्टै सुन्न सकिन्थ्योकि उनले खानेखुसी गर्दै सिकाएको कुरा  । उनी भन्दै थिइन्– ‘पहिला यस्तो बिमार थियो ।  अहिले सबै ठिक भयो, प्रभुलाई लाख–लाख धन्यवाद भन्नु के कस्तो बिर्सेको हो ।’

६ महिना देखि सरोकारवालाले सुईको पाएनन्
स्याङ्गजा घर भई धर्म प्रचारमा पोखराबाट गुल्मीमा गत ६ महिनादेखि  परिचालित उनीहरु तम्घासको एक डेरामा बसेर खुल्लामखुल्ला संविधानको धज्जी उडाउँदै धर्म प्रचारमा लाग्दै आएका  छन् । उनीहरुले गुल्मी र अर्घाखाँचीलाई कार्य क्षेत्र बनाएका छन् ।

कार्यक्रममा सहभागीहरु अधिकांश दलित र गरिव देखिन्थे । अगुवाहरु समाजमा चिनिएका  केही दलित र जनजाती  नेताहरु थिए । केहि किशोरीहरुलाई निकै आकर्षक पहिरनमा चिटिक्क सिंगारेर कार्यक्रमको शोभा बढाईएको थियो । सभाहलको बातवरण नाचगान सहित  बसीरहुँ लाग्थ्यो ।  उक्त पार्टी प्यालेस यति बेला गुल्मीको हकमा काठमाडौंको सोल्टी होटल जस्तै महँङ्गो मानिन्छ  ।

निकै महँङ्गो हल भाडा लिएर आयोजना गरिएको त्यस कार्यक्रमकी मुख्य प्रचारकमध्ये ज्ञानु दिदीको लबाई खुवाई ‘हाईफ्रोफाईल लेवल’ को लाग्छ, एक सहभागिले भन्दै थिए ।  उनले बाँधेको घडी हिराजडित जस्तै देखिन्थ्यो । त्यसको ज्योति बेला–बेलामा आँखामा टल्किन्थ्यो । उनले लगाएका झुम्काको टलक पनि हिरा जोडित हो कि भनेर अनुमान गर्न सकिन्थ्यो ।

उनले सुरुमा कुनै राजनैतिक दल, कुनै धर्ममा आकार्षित गर्न आफुहरुले यस्तो कार्यक्रम नराखेको कुरा बताएकी थिइन् । त्यसमा प्रतिबद्द हुँदै प्रभुको विश्वास गर्न बाँचुञ्जेल छाड्न नहुनेमा प्रतिबद्ध गराउँदै थिईन् । अर्का धर्म गुरुले पनि सोही कुरामा जोड दिँदै थिए ।

कसैलाई दशैं आएजस्तो थियो
कामाडौंदेखि  चार पाँच जनाको टिम केहि दिनयता त्यसै पार्टी प्यालेसको अट्याज बाथरुम सहित उच्च सुविधा सम्पन्न कोठा लिएर तयारीका लागि बसेको सुनाईयो । कार्यक्रमको स्यवम सेवकका रुपमा यताउता गरिरहेकाहरु पालैपालो करिव २० जनाको समुहले मासु– भात सहितको स्तरीय खाना खाँदै थिए ।

त्यसपछिको खाजा नास्ता गरिब  परिवारका  लागि मिठो मुख लगाउने दशैं आएजस्तो थियो ।  दलित समुदाय उतार्नका लागि बढी मात्रामा तम्घास भुजेलखर्क लक्षित गरिएको देखियो । सहभागि महिलामध्ये कतिपय घरयासी तनाव सहँदै आएका, कसैका सन्तान नभएका, कसैले उपचार पाउन नसकेका, कसैले समाजको उत्पीडन सहेका, कोही छुवाछुत विभेद र अन्य अन्याय अत्यचारबाट आजित भएका र  एकाध आर्थिक उपार्जनमा उच्च महत्वकांक्षा लिएर आएका थिए ।

काम लागेन जादुई छडी

जस्तोसुकै जटिल समस्याको पनि प्रभुको विश्वास गरे समाधान हुने, जीवनका सफताहरुले आफैं पछ्याउने, जस्तोसुकै जटिल बिमार पनि स्वतः निको हुने प्रचारप्रसार ब्यापक रुपमा गरिदै आएको थियो । त्यो थाहा पाउनसाथ अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५, उल्का नाच्नेचौरस्थित सुकुम्वासी र हरेक अभावले विक्षिप्त बनेकी   ५५ वर्षीया बाटुलादेवी दमैलाई त्यो कुरा सच्चा ईश्वरको वरदान जस्तै लाग्यो । अन्ततः त्यहाँका केही महिलाहरुको सहारामा उनी तम्घास पुतलीबजारको उनीहरु बस्ने घरमा शरण पर्न आईन् ।

उनी पाठे घर र ब्लड प्रेसर विमारको औषधी खाई रहेकी थिईन् । प्रभुका अनुयायीहरुले त्यो औषधी खान छाड्नुस, प्रभुको विश्वास लिदै प्राथनामा जुट्नुस्, प्रभुको कृपाले आफै निको हुन्छ भन्ने सुझाव दिए ।

उनले एक महिनाजति औषधी खान छाडेर प्रभुको प्राथनामा लागिन् । अन्ततः उनको मृत्यु भयो । उनका छिमेकी अर्घातोषका सञ्चारकर्मी तथा हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य दिपेन्द्र श्रेष्ठले त्यो भ्रम हो, अकालमा ज्यान जाला, बरु औषधी उपचार गर्ने पैसा छैन भने हामी गाउँवासीले उठाउँला भनेर  सुझाए ।

तर उनि त्यस धर्ममा लिन भई सकेकी थिईन । उनले मानिनन् । श्रेष्ठ भन्छन त्यसको केहि दिन नबित्दै उनको दुई महिना अघि मृत्यु भयो । 

रहयो कुरा सशस्त्र प्रहरी हुँ भन्नेको  

आज खुल्ला औपचारिक कार्यक्रममै आफुलाई सशस्त्र प्रहरीको जागिरे बताउने ती व्यक्तिले दिएको अभिव्यक्ति गम्भीर आपत्तिजनक छ । उनी यदि सशस्त्रकै वाहलवाला हुन् भने उनलाई कुनै पनि धार्मिक सप्रदायिकताका पक्ष र विपक्षमा बोल्ने आँट कसरी आयो ? उनी माथि कार्वाही हुने कि नहुने ?

यदि परिचय ढाँटेर बोलेका हुन् भने उनलाई धार्मिक ठगका रुपमा कार्वाही हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।  उनीहरु भोली पाल्पा कार्यक्रम गर्न जाँदै छन् ।

उनी खास को हुन् ? भन्नेबारे बुझ्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको ध्यानकृष्ट गराईएको छ ।  पौड्यालले भने– ‘मैले सशस्त्रका डिएसपी साबलाई पनि बुझ्न लगाएको छु । उनीहरु यहाँबाट हिँडिसके ।  भोलीसम्म पाल्पासँग बुझेर उनको वास्तविकता के रहेछ बुझ्ने छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप