बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारत–चीनबिचको तनावमा किन चुप छ भूटान ?

शुक्रबार, ०६ साउन २०७४, १५ : ३५
शुक्रबार, ०६ साउन २०७४

दिलिप कुमार शर्मा/ बीबीसी

पछिल्लो एक महिनादेखि डोकलाम सीमा विवादको विषयमा भारत र चीनबिच तनाव बढ्दो छ । दुबै देशका मिडियामा यो तनावका समाचार प्राथमिकताका साथ छापिएका छन् तर यसबारे भूटानले भने अहिलेसम्म मुख खोलेको छैन ।

जबकी डोकलामको यो विवादित मुद्दा प्रत्यक्ष रुपमा चीन र भूटानसँग सम्बन्धित छ ।

भारतसँग भूटानको कूल ६ सय ९९ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमामा असमसँग भूटानको २ सय ६७ किलोमिटर सीमा रहेको छ । असमको एकमात्र सामड्रुप जोंगखार शहरमार्फत भूटान प्रवेश गर्न सकिन्छ ।

भूटानको दक्षिण–पूर्वी भागमा रहेको सामड्रुप जोंगखार शहरमा वर्षौंदेखि व्यापार गरिरहेका अधिकांस नागरिकले सीमा विवादमाथि भारत–चीन बिचको तनावसँग जोडिएका खबरबारे कसैले पनि चर्चा नगरेको बताए ।

त्यसकारण उनीहरुलाई भारत र चीनबिच तनाव बढिरहेको छ भन्ने महसुस नै नभएको पनि जानकारी दिए ।

त्यहाँ कुनै असर छैनः

भुटानमा बस्ने भारतको राजस्थानका राकेश जालानले बीबीसीसँग भने, ‘भारत चीनबिच तनावको स्थिती बारे हामीलाई महसुस नै हुँदैन । थुप्रै पटक टेलिभिजनको खबरले थाहा त हुन्छ तर यहाँ त्यस्तो कुनै चर्चा हुँदैन ।’

‘मेरा हजुरबुवा करिब ५० वर्ष पहिले भुटान आएका थिए । त्यसपछि बुवा र म यहाँ नै बस्यौं । यहाँको स्थिती सधैंझैं निकै शान्त छ । निकै मिलनसार व्यक्तिहरु छन् । त्यसकारण हामीलाई भारत बाहिरको अन्य देशमा बसिरहेका छौं भन्ने कहिले महसुस भएन ।’

कपडा व्यापारी राकेशका अनुसार भूटान सरकारले यदि भारतीय व्यापारीका लागि अहिलेको कानूनमा केही परिवर्तन ल्याउँछन् भने त्यहाँ बस्न थप सहज हुने र थप सुविधा पाइनेछ ।

सामड्रुप जोंगखार शहरमा भारतीय व्यापारीको करिब ३० देखि ३५ पसल छन् । यसका साथै भूटानको सीमावर्ती फुन्त्शोलिंग, गेलेफूजस्ता शहरमा पनि भारतीयले वर्षौंदेखि व्यापार गरिरहेका छन् ।

सुरेश अग्रवाल पश्चिम बंगालका सिलिगुडी शहरका हुन् ।

उनी भन्छन्, ‘यहाँ दैनिकी निकै राम्रोसँग चलिरहेको छ । कुनै पनि समस्या छैन । चीन र भारतको विवादको विषयमा यहाँ कुनै हल्ला छैन । न नै हामीलाई कुनै डर छैन । यो ठाउँलाई छोडेर जाने कुनै प्रश्न नै उठ्दैन । मेरो जन्म यहिँ भएको छ र मर्नेबेलासम्म म यहिँ बस्नेछु ।’

भूटानमा शान्तिः

उत्तर प्रदेशको बलियाबाट करिब ४० वर्ष पहिले भूटान आएका लल्लू प्रसाद गुप्ताले भने, ‘भारत र चीनबिच तनाव वा युद्धको खतराजस्तो कुनै पनि कुराबारे हामीलाई केही जानकारी छैन । यहाँ यस्तो प्रकारको कुनै पनि चर्चा छैन । यस्तो कुराबारे हामी कहिले पनि सोच्दैनौं किनभने हाम्रो इलाका (भूटान) मा निकै शान्ति छ र हामी पूर्ण रुपमा सुरक्षित छौं ।࡮’

उनी थप्छन्, ‘यहाँ त अब हाम्रो उमेर नै बितिसकेको छ । म १८ वर्षको हुँदा भूटान आएको थिएँ । अब म यहाँ नै मर्नेछु । त्यसकारण हामी चाहन्छौं कि भूटान सरकारले हाम्रो बारे केही थप सोचोस् । यहाँका मानिसहरु निकै राम्रा छन् र हामी एक–अर्कालाई निकै सम्मान गर्छौं ।’

लल्लू प्रसाद गुप्ताका दाइ करिब ५५ वर्ष पहिले भूटानको सामड्रुप जोंगखार शहर भित्रिएका थिए । जनरल स्टोरको पसल चलाउने गुप्ता भूटान सरकारको अहिलेको कानून कडा भएको बताउँछन् । यद्यपी, त्यहाँको कानून सबैका लागि बराबर भएको पनि उनी बताउँछन् । त्यसकारण उनले निकै सोचेर र कानूनको दायरामा बसेर आफ्नो व्यापार गर्दछन् ।

वास्तवमा भूटानमा व्यापार गरिरहेका यी भारतीयहरु त्यहाँ बसेको ५० वर्षभन्दा पनि धेरै भइसकेपनि यीमध्ये कोही पनि व्यापारीसँग घर वा पसलको स्वामित्वको अधिकार छैन ।

भूटान सरकारले भारतीयहरुलाई पसल र घर दुबै एक वर्षका लागि भाडामा ‘लिज’ दिएको छ र अर्को एक वर्षपछि नयाँ ‘लिज बनाउनु पर्छ । लिजका अनुसार कुनै पनि व्यापारी सरकारको अनुमती बिना कुनै प्रकारको निर्माण गर्न सक्दैन ।

यसै सन्दर्भमा एक व्यापारीले आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा भने, ‘हाम्रो परिवार सन् १९६३ मा यहाँ आएको थियो । पहिले यहाँ धेरै स्वतन्त्रता थियो तर केही वर्षयता भूटान सरकारले नियमलाई निकै कडा बनाएको छ । पहिले परिवारका सबै मानिसहरुलाई एक वर्षका लागि पहिचान पत्र दिइन्थ्यो ।

तर अब भूटान सरकार केवल व्यापार गर्नेहरु अर्थात् जसको नाममा पसल हुन्छ, ती व्यक्ति र उनकी श्रीमतीको मात्र आइ–कार्ड जारी गर्दछ । यस्तोमा व्यापारीका भाइ–भतिजा वा अन्य आफन्तलाई आधिकारिक रुपमा यहाँ बस्ने अनुमती दिइएको छैन ।’

भूटाको यो इलाकामा मिडियाको उपस्थिती कम नै देखियो । यद्यपी, एक दुईवटा पसलमा भूटानको राष्ट्रिय पत्रिका कुएनसेल देखिएता पनि त्यसको पहिलो पानामा चीनसँगको सीमा विवादसम्बन्धि कुनै खबर देखिएन ।

भूटान अब लोकतान्त्रिक देश भइसकेको छछ तर यहाँ आज पनि राजतन्त्रको प्रभाव धेरै देखिन्छ । त्यसकारण त्यहाँका मानिसहरु आफ्नो देशबारे मिडियासँग खुलेर कुरा गर्दैनन् ।

राजाको तस्बिरः

यहाँ हरेक पसलभित्र राजाको तस्बिर राख्न अनिवार्य छ । यस्तै, शहरको विभिन्न स्थानमा तैनाथ रोयल भूटान पुलिसका सिपाही आफ्नो निलो रंगको पोसाकमा त्यहाँको राजाको तस्बिर भएको ब्याज लगाउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप