केन्द्रीय संस्करण

जब राष्ट्रिय नाचघरमा कवि गोविन्दपुरे कविता वाचन गर्न थाले : स्टेजमा आए बलात्कृत नारीहरू

person access_timeअसोज १६, २०७५ chat_bubble_outline0

सोमबार अपराह्न राष्ट्रिय नाचघरको एउटा हल खचाखच भरिएको थियो । स्टेजको एक कुनामा एकजना कवि बसेका थिए । स्टेजमा उनीमाथि मात्र प्रकाश पारिएको थियो बाँकी भाग अँध्यारो थियो । यता दर्शकदीर्घा विद्यार्थी, साहित्यअनुरागी र साहित्यकारहरूले भरिएको थियो । 

हलको एउटा छेउमा बसेका थिए मोरङका युवाकवि शिव रेग्मी गोविन्दपुरे । जब उनले कविता वाचन गर्न थाले, मीठो धुन बज्न थाल्यो । उज्यालो हुँदै आएको स्टेजमा  कविताको भाव अनुसार विभिन्न भावभङ्गीसहित कलाकारहरू प्रस्तुत हुनथाले । उनीहरूले कवितामा भएको विम्बअनुसार अभिनय गर्न थाले । 

नमस्कार 
म निर्मला पन्त
नेहा पुन
पूजा कार्की
माया विक

कवि गोविन्दपुरेले ड्रिमबार शीर्षकको कविता वाचन गर्न थाले । उनले यो कविता वाचन थालेसँगै स्टेजमा देखापर्न थाले विभिन्न समयमा बलात्कृत भएका बालिकाहरूको रूपमा महिला कलाकारहरू । बलात्कारका घटना पहिलादेखि भए पनि अहिले प्रकाशमा धेरै आएको भन्दै उनले जबसम्म मानिसको सोचमा परिवर्तन गर्न सकिँदैन तबसम्म यस्ता घटनाको अन्त्य नहुने भावसहित बलात्कारका घटनामा मारिनेहरूको सम्झाना कविता लेखेका छन् । उनीहरूले कवितामा आएको भावअनुसार जीवन्त अभिनय गर्न थाले । 

सबै सबैको एकाकार पञ्चशिखा 
यो समाजका नरभक्षीहरूले 
आँखा गाडेकी कारुण नारी 
ममा कुनै सुगन्ध त थिएन
कुनै आकर्षण पनि थिएन
उमेर पनि त थिएन
न थियो कुनै प्रेमिल इसारा कसैप्रति 
तर पनि हरवार 
मेरा तस्बिर अघिल्तिर 
सम्मोहित भएर
मेरा अङ्ग अङ्ग चिमोटेर लुछेर कोपरेर
हायल कायल गराइएकी पञ्चशिखा

थाहा छ यहाँ कसैलाई 
न समाजको हेक्का छ 
न थितिको प्रवाह छ 
न अपनत्वको आदर छ 
न भाइचाराको विश्वास छ 
र त छन् यति दुष्ट भक्षकहरू मेरा वरिपरि 
हो उही राक्षसहरूको 
हरेक पटकको प्रहारबाट 
थिलथिलो भएको यो शरीर लिएर 
दुष्टहरूको भोक प्यास र नसा उतार्न 
आज खोलेकी छु यो ड्रिमबार 

कविले बलात्कृत भएका चेलीको पीडालाई सशक्त रूपमा प्रस्तुत गरेका थिए । कवितामा बलात्कृत भएका महिलाहरूले आफ्ना शरीरका प्रत्येक अङ्ग अङ्गको परिकारसमेत पकाएको र त्यो पनि खान आग्रह गरिरहेका थिए । कवितामा आफूमाथि भएको अन्याय, वेदना व्यक्त गर्दै अन्याय गर्नेले छुट नपाउने कुरा पनि बलात्कृत नारीहरूले बोलिरहेका थिए । 

हे दुष्टहरू आओ घिच र तृप्ती लुट 
मेरा यी आङ्गिक परिकारहरूबाट ।
तिमीहरूले त मलाई 
चिथोरेर गिजोलेर रेटेर पिसेर अमिलो पारेर 
बेवारिसे पारेर मिल्काएर भागेका थियौ 
तर आज हामी आफै त्यसमा नुन चुक बेसार हालेर 
राक्षसी मथिङ्गललाई 
अमन गराउने गरी घिचाउनेछौँ ।
यी हेर त 
यो हाम्रो फिलाको सेकुवा
याद आउला जो बारबार मुसारेको 
अनि यी हाम्रा स्तनका पक्कु
आवेगका अन्धतामा हाम्रो तनभरीको रगत 
नसक्किउन्जेल यहीँबाट चुसेका थियौ हैन ?
हाम्रा नाभिका हरेक मादकता मोलेर यी ममका डल्लाहरू उसिनिदिएका छौँ 
हरबार प्रतिकार गर्ने यी निरीह हातहरू 
आफै काटेर सुकुटी सुकाइदिएका छौँ 
हे नरपिसाच हो 
ती यौन प्यासले कहिल्यै नथाक्ने 
आँखाहरूलाई आफै सोध 
यी पुठ्ठा र नलिहाडको कए परिकार तुल्याइदिऊँ ???

दर्शकहरू कविता सुन्दै नाटक पनि एकसाथ हेरिरहेका थिए । कविता नाटक हेर्न आएका काभ्रेका दीपक तिमिल्सिनाले आफूले यसरी पहिलो पटक नाटक र कविता एकसाथ सुन्न र हेर्न पाएको बताए । उनले भने– ‘साहित्यका दुई विधालाई यसरी एकसाथ प्रस्तुत गर्दा निकै रोचक हुदो रहेछ ।’ 

सामाजको एउटा समस्याका रूपमा सम्बन्धविच्छेदलाई पनि कवि गोविन्दपुरे र कलाकारहरूले जीवन्त रूपमा प्रस्तुत गरे । उनले सम्बन्धमा तितोपन, खल्लोपन आएपछि मान्छेहरूमा स्वतन्त्रता खोज्ने प्रवृत्ति बढेको, खुसी जीवन बाँच्नका लागि बाबुआमाले सम्बन्ध विच्छेदको बाटो रोज्दा उनीहरूका सन्तानमा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने भावमा अर्को कविता प्रस्तुत गरे । मञ्चमा आएका कलाकारहरूले श्रीमान श्रीमती छोरी, वकिल लगायतका पात्रहरूले सशक्त अभिनय गरे । 

कविता–नाटकमा एउटा मिलेर बसेको बाबु आमा र छोरीसहितको परिवारमा अचानक अविश्वासको खडेरी उत्पन्न हुन्छ । लोग्ने स्वास्नीले सबन्ध विच्छेद गर्छन् । सम्बन्ध विच्छेदपछि छोराछोरीमाथि कस्तो मनोवैज्ञानिक पीडा पर्छ भन्ने भावमा रहेको कविता अघि बढ्छ । 

म बर्बराऊँ कसरी 
सुरु गरूँ कहाँबाट
हे भगवान.....
मलाई उही आमाको रूप किन दियौ ?
हे भगवान.....
मलाई उही बाबाको मन किन दियौ ?
ठीकै छ नियती म मेरै जिउँछु
निर्णय म मेरै गर्छु ।

हो वकिल साहव,
वहाँहरूले त आआफ्ना खुशी रोज्नुभो
आआफ्ना उडानका लक्ष निर्धारण गर्नुभो
आआफ्ना सुख सयलका पोका पन्तुरा कस्नुभो 
यो सम्बन्धका तीता मीठाबाट तर्केर 
एक दुर गन्तव्यतर्फ ।
आखिर उसैगरी मैले पनि रोज्न पाउने
कुनै पृथक गन्तव्य खोई ?? 
....................................
बाबा लौ आफै भन्नुस त
यो मेरो रूपले आँसु बग्नेगरी 
म उही आमाको 
झझल्को किन दिऊँ हजुरलाई ??
मेरी आमा यो मेरो मनले मुटु दुख्ने गरी 
म उही बाबाको 
झझल्को किन दिऊँ हजुरलाई ???

कवि शिव रेग्मी गोविन्दपुरेले ड्रिमबार, सम्बन्ध विच्छेदजस्तै गरी आफ्ना १२ कविता प्रस्तुुत गरेका थिए । बल्छी, जङ्गबहादुर, तिमी, माला–खादा–टीका र मेरो देश, मेरा बाको बैंसलगायतका कविता प्रस्तुत गरेका थिए । 

मेरा बाको बैँसमा एकजना बुढा भइसकेका पात्र, जसलाई कविले बैँसको बेला देखेनन् तर उनले आफ्नो बैँसको बेला ग्रामीण परिवेशमा कसरी बिताए भन्ने कल्पना गरेर उनले कविता लेखेका छन् । 

पुनर्निर्माण शीर्षकको कवितामा भूकम्पलाई पृष्ठभूमि बनाएर सदाचार र एकताको भावनालाई समेटर कविता लेखेका उनले अन्य कविताहरूमा पनि सामाजिक, राजनीतिक परिवेश र त्यसको प्रभावका बारेमा कविता लेखेका छन् । 

कविता–नाटक कार्यक्रमपछि कवि गोविन्दपुरेले आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । उनले भने– ‘जसरी विम्ब विम्ब जोडेर कविता बनाइन्छ, त्यसरी नै कलाकारहरूले पनि कलामा प्रस्तुत गर्नुभयो । कवितामा मात्र हुँदा बुझ्न गाह्रो भएका शब्दहरू कलाकारहरूको अभिनयले राम्रोसँग बुझ्नुभयो होला भन्ने लागेको छ ।’ 


१२ कविता ४० कलाकार
गोविन्दपुरेका १२ कवितामा राष्ट्रिय नाचघरका ४० कलाकारहरूले अभिनय गरेका थिए, जसको निर्देशन कलाकार वीरेन्द्र हमालले गरेका थिए । कार्यक्रमपछि उनले भने– ‘कविता वाचन गर्नु र नाटक गर्नु फरक कुरा हो । कविले बोलिरहेको छ र प्रत्यक्ष रूपमा कविताका विम्बहरूलाई कलाकारहरूले प्रस्तुत गर्नु नै सबैभन्दा महत्वपूर्ण र गाह्रो कुरा हो ।’

उनले आफूले २०४० सालतिर पनि कवितामा नाटक, पेन्टिङमा नाटक गरेको स्मरण गरे । उनले बसन्त चौधरीको कवितामा धेरै नाटक गरेको बताँउदै लूनकरण दास–गङ्गादेवी चौधरी कला मन्दिर, एम आर्ट थिएटर र सांस्कृतिक संस्थानले हालसालैदेखि यस्ता प्रकारका कार्यक्रम थालेको जानकारी दिए । नयाँ कवि साहित्यकारलाई मञ्च प्रदान गर्ने यस्ता कार्यक्रम निरन्तर रूपमा अघि बढ्ने हमालले बताए । 

कवितामा समस्या मात्र हैन समाधान पनि छ : साहित्यकार महेश प्रसाईं

गोविन्दपुरेको कवितामा कालचिन्तन रहेको साहित्यकार महेश प्रसाईंले बताए । अहिले देशको सममायिक, भूराजनीतिक, आर्थिक, सामाजिक राजनीतिक समग्र विषयका विम्ब कवितामा समेटिएको उनको धारणा छ । 

उनले भने– ‘हामी लोकतन्त्रमा गयौँ, गणतन्त्रमा गयौँ, खै त जनताले सुरक्षा पाएको ? हत्या, हिंसा, बलात्कारबाट देश गुज्रिरहेको छ, महँगी बढिरहेको छ, कालाबजारी बढिरहेको छ, मानवतावादको विघटन भइरहेको छ । नेतृत्वकर्ताले जनतालाई कहाँ आश्वस्त गर्न सके ? यी विषयलाई उहाँका कविताले विम्बका रूपमा बोलेका छन् ।’ कविले प्रस्तुत गरेको कवितामध्ये ड्रिमबार, बल्छी, सम्बन्धविच्छेद अहिलेको जल्दोबल्दो समस्या रहेको भन्दै अहिले महिलाले भन्दा पुरुषले सम्बन्ध विच्छेद गरिरहे र तिनीहरूबाट जन्मिएका सन्तानले एकसाथ बाबु र आमा नपाउने अवस्थालाई चित्रण गरिएको कविता उत्कृष्ट रहेको उनको भनाइ छ ।  

उनले भने– ‘शिव रेग्मीको कविताको महत्वपूर्ण पक्ष कविता भनेको समस्या मात्र हैन, समाधान पनि हो । उहाँका प्रत्येक कवितामा समाधान, निराकण र उपाय पनि छन् ।’  

हरेक महिना कविता– नाटक : अध्यक्ष राई 
हरेक महिनाको १५ गते मासिक रूपमा कवितासँगै नाटकको कार्यक्रम गर्ने गरेका सांकृतिक संस्थानका अध्यक्ष उद्योग राईले जानकारी दिए । पाँच महिनादेखि संस्थानले यो कार्यक्रम गर्दै आएको हो । कविता नाटकमा सांस्कृतिक संस्थानका स्थायी कलाकारहरूले अभिनय गर्छन् भने अहिले २५औँ ब्याचका तालिम गरिहेका विद्यार्थीले पनि अभिनय गर्ने गरेका छन् । 

कार्यक्रमका बारेमा अध्यक्ष राईले भने– ‘कवितामा आएको भावलाई मूर्त अमूर्त रूपमा नाटकमा उतार्नका लागि सुरु गरिएको थियो । कविताले जे बोलेको छ, त्यसलाई अभिनयबाट देखाउन सकियो भने त्यो झन् प्रभावकारी हुन्छ । मासिक रूपमा कविता मञ्चन हुनुका साथै हरेक महिनाको अन्तिम शुक्रबार सङ्गीतसम्बन्धी कार्यक्रम पनि गर्ने गरेका छौँ । मोसफलमा रहेका कविहरू, गीतकारहरू, सङ्गीतकारहरूलाई सांस्कृतिक संस्थानले आफ्नो क्षेत्रबाट माथि उठ्न टेवा पुगोस भनेर पनि एउटा प्लेटफर्म दिएको हो । आफ्नो कलालाई फराकिलो बनाउने एउटा अवसर हो ।’

साहित्यमा क्रियाशील तर चर्चामा नआएका कविको प्रत्यक्ष उपस्थितिमा कविता वाचन, कविताको भाव अनुसारको सङ्गीत र नाट्यकलाको त्रिवेणी रहने कविता नाटकलाई सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले अघि बढाइरहेको छ । 
 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ