केन्द्रीय संस्करण

सरकारको समृद्धिको टनिक

person access_timeअसोज १६, २०७५ chat_bubble_outline0

बाटोमा कतै लेखिएको थियो– ‘मेरो एउटा सानो सपना छ, त्यो सपना पूरा गर्ने अर्को ठूलो सपना छ’ । बेलाबेला हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ– ‘सपना देख्न नसक्नेले गरिखान सक्दैन ।’ ठीकै हो, प्रधानमन्त्रीज्यूले भनेजस्तो सपना देख्नैपर्छ । सायद सपना नै प्रगतिको आधारशीला पनि हो । सपना नै देखिएन भने हामी गन्तव्य पनि निर्धारण गर्न सक्दैनौँ । जब गन्तव्य नै तय हुँदैन भने गन्तव्यमा पुग्ने बाटो पहिल्याउन सकिँदैन । त्यसैले सपना देख्नुपर्छ । 

तर सपना मात्रैले पनि सबै चीज हात पर्दैन रहेछ । मुख्य कुरा हामीले देखेको सपनालाई यथार्थमा बदल्ने योग्यता, क्षमता अनि तत्परता हो । यदि हामी सपनालाई यथार्थमा बदल्ने कुनै चेष्टा गर्दैनौँ भने फगत देखिने सपनाको कुनै अर्थ रहँदैन । त्यसकारण सपनाले मात्रै पुग्दैन, सपनालाई हकिकतमा बदल्ने योजना, साधन र तत्परता हुनु अपरिहार्य छ । तर दुई तिहाई बहुमतको सरकारले देखाएको  समृद्धिको सपना पूरा हुने ठोस आधारहरूले भने अझैसम्म पनि आम नागरिकलाई आश्वस्त पार्न सकेको छैन । नागरिकको सामान्य दैनिकीसम्म फेर्न नसक्ने सरकारले बडेबडे समृद्धिका सपना कसरी पूरा गर्ला ? त्यसैले म भन्छु– सपनाभन्दा महत्वपूर्ण परिकल्पना हुन्छ । परिकल्पनाले चाहिँ मानिसलाई गन्तव्यमा पुर्याउन उत्प्रेरित गर्छ । गन्तव्यमा पुग्ने मार्ग पहिल्याउँछ । अनि गन्तव्यमा पुग्ने हुटहुटी पैदा गरिदिन्छ ।

अहिले देशमा दुईतिहाई बहुमतको सरकार छ । तर सरकार दुई तिहाई बहुमतको हुँदैमा सबै असल र राम्रा चीजहरूको दुई तिहाई सङ्ग्रह नहुने रहेछ । दुई तिहाई सरकारले विकास र समृद्धिका बडेबडे गफ गरिरहेको छ । अझ भनौँ सरकारले जबर्जस्त दुई तिहाई समृद्धिको मानक खडा गर्न खोजिरहेको छ । तर सरकारी तवरमा निर्माण गरिने वा गर्न खोजिएको समृद्धिको भाष्यले मात्रै नागरिकको दैनिकी फेरिँदैन । सरकार भने जसरी हुन्छ नागरिकमा आफ्नो बहुमत र शक्ति अजमाउन नै लागिपरेको देखिन्छ । यसो यताउति कुरा चल्यो कि सरकारी अहंकार भन्छ– ‘यो परालको त्यान्द्रो जस्तो सरकार होइन, दुई तिहाई बहुमतको सतिसालझैँ दरिलो सरकार हो ।’ 

कठै, यो सरकारलाई किन यसरी आफ्नो दुई तिहाईको बल जनतामा प्रदर्शन गरिरहनुपर्ने अवस्था आयो । जुन कुरा घामझैँ छर्लङ्ग छ, त्यही पुष्टि गर्न समय र स्रोत किन खर्च गर्नु ? अहिले पनि सरकार आम नागरिकमा आफ्नो दुई तिहाई हैसियत प्रमाणित गर्न समय अनि स्रोत साधन खर्च गरिरहेको छ । आखिर किन ? सरकारको काम आफ्नै हैसियत र शक्ति प्रदर्शन गर्ने होइन, नागरिकका सरोकारलाई सम्बोधन गर्ने र उनीहरूको जीवन सहज बनाउने हो । जसले चुनावमा बहुमत दिएर पठायो, यसैतर्फ फर्केर दम्भ प्रदर्शन गर्नु त अधिनायक शैली भइगयो नि । त्यसकारण सरकारले नागरिकतर्फ फर्केर दुई तिहाइको जनादेश प्रमाणित गर्न खोज्नु नागरिक मतको अपमान हो । 

अनि अर्को कुरा सरकार दुई तिहाईको हुँदैमा दुई तिहाईको असली गुण नआउने रहेछ । दुई तिहाई बुद्धि पनि त नहुने रहेछ । आखिर मुलुक अहिले दुई तिहाईको अराजकता र दुई तिहाईको सकसमा छ भन्द के नै फरक पर्ला र ?

हामीलाई ज्ञान छ, यो इतिहासकै बलियो सरकार हो । तर उल्लेख्य बहुमत पाएर पनि सही बाटो समात्न नसकेर आफैमा रुमल्लिएर दिशाबोध हुन नसकेको सरकार पनि सायद यही हो । सरकारले नागरिकलाई दुई तिहाई बहुमतको झल्को दिनेगरी काम गरे कोही पनि फुर्सदिलो भएर एकोहोरो सरकारको विरोध गर्दैनन् । तर अहिले स्थिति फरक छ । चोक, गल्ली, चियापसल कहीँ पनि सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको गुनासो र दुखेसोको पेटारो सुन्न पाइन्छ । जनताले रोजेको अनि भरोसा गरेको बहुमतको सरकारले आम नागरिकका सरोकारका विषयमा उदासीन भइदिँदा राजनीतिप्रति नै असन्तुष्टि पैदा हुने खतरा बढ्दै गएको छ, जुन राम्रो सङ्केत होइन । 

अनि अर्को कुरा सरकार दुई तिहाईको हुँदैमा दुई तिहाईको असली गुण नआउने रहेछ । दुई तिहाई बुद्धि पनि त नहुने रहेछ । आखिर मुलुक अहिले दुई तिहाईको अराजकता र दुई तिहाईको सकसमा छ भन्द के नै फरक पर्ला र ? यातायात क्षेत्रमा जरा गाडेर बसेको सिन्डिकेट हटाउने भन्दै डंका पिट्यो र केही समय नागरिकको दैनिकी नै खल्बलियो । आम नागरिकले सरकारको कदमलाई साथ पनि दिए । दुःख, कष्ट सहेरै पनि सरकारको कदमलाई सहयोग गरे । तर चाडपर्वको मुखमा तिनै सिन्डिकेटधारीसँग सम्झौता गरी चर्को भाडावृद्धि गर्न सरकार सहमत भयो । 

कामचोर र गैरजिम्मेवार ठेकेदारहरूको रोस्टर तयार गरेर कारबाही गर्ने गृहमन्त्रीको ध्वाँसले पनि हावा खायो । वर्षौंसम्म पनि राजधानी काठमाडौंको नाकैनिर केही किलोमिटर सडक निर्माण सम्पन्न हुन नसक्दा दैनिक राजधानी भित्रिने र बाहिरिने हजारौं नागरिकले सास्ती खेप्नुपरिरहेको छ । वर्षौंदेखि राम्रोसँग धोइपखाली गर्न नपाएका काठमाडौंका नागरिकले मेलम्ची कुर्नुको विवशताभित्रको पानी कथा निकै सकसपूर्ण छ । व्यापारीहरूले उपभोग्य वस्तुहरूको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा कृत्रिम अभाव सिर्जना गरिदिँदा प्रत्येक नेपालीको भातभान्सा प्रभावित भइरहेको छ । स्वदेशमा रोजगारी नपाउँदा मैलो अनुहार लगाएर खाडीतिर उड्ने दिनहीन नेपाली युवाहरूको लर्को घटेको छैन । 

बलात्कारपछि हत्या गरिएकी एक बालिकाका परिवार दोषीलाई कारबाही होस् भन्दै न्यायको भीख माग्दै हिँडेको दुई दुई महिना बितिसक्यो तर हाम्रो न्याय प्रशासन निरीह बनेर तमासा हेरिरहेको छ । अझ प्रधानमन्त्रीको कर्कश ध्वनि सुनिन्छ– ‘सरकारले बलात्कार र हत्या गरेको हो र ? अपराधी भेटिन १२ वर्ष पनि लाग्न सक्छ ।’ दुई तिहाइकै ध्वाँस दिइरहने सत्तासीन पार्टीका मान्छेहरू अझ प्रधानमन्त्रीको भाषामा भन्नुपर्दा ‘अरिङ्गालको डफ्फा’ भने पछिल्लो समय बढ्दै गएको बलात्कार, हत्या हिंसालाई सरकारविरोधी षड्यन्त्र देख्छन् । 

नागरिक दिनदहाडै लुटिएका छन् । सयौं छोरी चेलीहरू आफ्नो अस्मिता गुमाउन बाध्य छन् । कैयौँ नाबालिकाहरूको शरीर चिथोरिएको छ । हत्या गरिएको छ । छोरीचेलीहरूलाई आफ्नै वरिपरिका नरनाता अनि छरछिमेकबाट जोगाउनै सकस छ । समाज नै संवेदनहीन बन्दैछ । दुई महिनाकै अवधिमा झण्डै दुई सय बलात्कारका घटना भएको तथ्याङ्क छ । तर सरकार रमिते बनिरहेको छ । न त अपराधीलाई दण्डित गर्ने तत्परता देखाउँछ, न त शान्तिसुरक्षाको प्रत्याभूति नै दिनसक्छ । सरकार त मन्दिरमा थपना गरिएको मूर्ति जस्तो पो छ– नागरिकको सरोकार र चासोको विषयमा कुनै पहलकदमी लिन नपर्ने, बस् सरकार छ भनेर मानिदिनुपर्ने । अझ दुई तिहाई बहुमतवाला सरकार !

अब यसो नागरिकको दैनिकी नियाल्यो सन्तुष्टि लिने ठाउँ कहीँकतै भेटिँदैन । महँगीले आकाश छोइसक्यो । शिक्षा र स्वास्थ्यको अवस्था त्यस्तै छ । शिक्षा यति अगम्य भइसक्यो कि सामान्य मानिसले आफ्ना केटाकेटी पढाउनै नसक्ने अवस्था छ । अझ गरिब र विपन्नहरूका लागि भनेर सुरु गरिएको प्राविधिक शिक्षाको त कुरै नगरौँ । शिक्षालयका मालिकहरूको मोटर बर्सेनि फेरिन्छ, उता अभिभावकको अनुहारमा भने बर्सेनि तनाव र निराशाका लेग्रा थपिन्छन् । स्वास्थ्य सेवाको दुर्दशाको कुरा त आज पनि हामी जीवनजल र सिटामोलमै सीमित छौं । त्यति पनि नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको निरन्तरताले सत्तासीनहरूलाई कहिल्यै छुँदैन । सामान्य नागरिकले जिन्दगीमा सुविधासम्पन्न अस्पताल देख्दै पाउँदैन । उसले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा त सुनेकै हुँदैन । उपचारै नपाएर मर्नुपर्ने अवस्था सामान्य भइसक्यो । तर ती दीनहीन नागरिकका लागि भने सदावहार दुई तिहाई समृद्धिकै खुराक पिलाइँदैछ । थाहाछैन सरकारको समृद्धिको टनिकले कहिले नागरिक तन्दुरुस्त हुन्छन् ।

दुःखद पक्ष त यो छ कि दुई तिहाईको समृद्धिले पनि त्यो आधार पहिल्याउन सकेको छैन । जर्जर बन्दै गएको मुलुकको आर्थिक अवस्था र नाजुक हुँदै गएको सामाजिक परिवेशले असाध्यै गञ्जागोलको अवस्था सिर्जना गरिदिएको छ ।

जब अहिलेको अवस्था र सरकारी समृद्धिका सपना दाँज्न खोजिन्छ– सरकारको दुई तिहाईवाला समृद्धिका कुरा भने भद्दा मजाकझैं प्रतीत हुन्छ । हो, समृद्धिका बडेबडे गफ गरिरहँदा हाम्रै यथार्थले भने गिज्याइरहेको भान हुन्छ । अनि वर्तमान अव्यवस्था र अस्तव्यस्तताले हाम्रो समृद्धिको खिल्ली उडाइरहेको छ । विगतमा हामी धेरै बरालियौँ । हाम्रो आर्थिक नीति कार्यक्रम पनि बरालिन पुग्यो । पुग्ने लक्ष्य र हिँड्ने बाटोबीच तालमेल हुन सकेन । अनि आफ्नो गन्तव्य पनि अरूकै सहायताले पुग्ने लक्ष्य राख्यौं । परिणामतः हामी टुङ्गोमा पुग्न सकेनौँ र बीचमै बरालियौँ । अरूको बुई चढेर शिखर चुम्ने अभिलाषा राख्नु सही हुँदैन, शिखर चुम्न आफ्नै खुट्टालाई विश्वास गर्न सक्नुपर्छ । त्यसैले हामीले समृद्धिको शिखर चुम्ने लक्ष्य निर्धारण गर्दैगर्दा त्यहाँ पुग्ने आधार कुनै विदेशी दाताको निगाहमा निर्माण गर्ने होइन, हामीले आफ्नै बलबुता र आर्थिक स्रोत परिचालनबाट गर्नुपर्छ । तर हामीले त्यस्तो कुनै आधार खडा गर्न सकेनौं । 

दुःखद पक्ष त यो छ कि दुई तिहाईको समृद्धिले पनि त्यो आधार पहिल्याउन सकेको छैन । जर्जर बन्दै गएको मुलुकको आर्थिक अवस्था र नाजुक हुँदै गएको सामाजिक परिवेशले असाध्यै गञ्जागोलको अवस्था सिर्जना गरिदिएको छ । अब मुलुकलाई यो दुरावस्थाबाट बाहिर निकालेर हामीले चाहेको विकास र समृद्धि हासिल गर्नका लागि सबैभन्दा पहिले समृद्धिको बृहत् खाका तयार गर्नुपर्छ । हामीले खोजेको समृद्धि कस्तो हो ? अनि कसरी हासिल हुन्छ ? यी यावत् विषयमा स्पष्टता हुनु जरुरी छ । 

विकास र समृद्धिका अवयवहरू– भौतिक एवम् पूर्वाधारको विकास, बृहत उत्पादन र न्यायोचित वितरण, स्रोतको संरक्षणसहितको उपयोग, व्यक्तिको आत्मिक सन्तुष्टिसहितको जीवनस्तर आदि हुन् । व्यक्तिको खुसीसहितको आर्थिक प्रगति नै समृद्धि हो । यो केवल प्रतिव्यक्ति आयमा हुने बढोत्तरी मात्र होइन । आयको अलवा व्यक्तिको सामाजिक प्रतिष्ठासहित शिक्षा, स्वास्थ्य, सुरक्षा, जीवनशैली र सामाजिक एवम् आर्थिक हैसियतमा हुने बढोत्तरी नै समृद्धिको सूचक हो । स्पष्ट छ– कुरामै सीमित समृद्धिको टनिकले नागरिकको स्वास्थ्य बलियो हुँदैन । सरकारले घोषणा गरेजस्तो नागरिकलाई खुसी र सुखी बनाउन उनीहरूको दैनिकी र जीवनशैली फेर्नुपर्छ । तर दुई तिहाईको ध्वाँस अनि समृद्धिको लल्लरीले मात्रै नागरिकको दैनिकी फेरिँदैन । नागरिकको दैनिकी फेर्न उनीहरूले भोगिरहेका र जुधिरहेका दैनिक समस्याहरू सुल्झाउनुपर्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ