शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेम गर्दा कुटाई खाएकी युवतीले दिइन् बयान

शुक्रबार, ०६ साउन २०७४, १४ : ५७
शुक्रबार, ०६ साउन २०७४

भैरहवा–असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । ‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाई खाए यसमा मेरो आफन्तको कुनै दोष छैन ।’ शुक्रबार समाचार संकलनको लागी गएका उनको गाउँ पुगेका संचारकर्मीसँग उनले गरेको अनुरोध हो यो ।


निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउँपालिका–६ डिहुलीकी १८ बर्षीय मीना यादवले आफुलाई कतै चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन् । उनी अहिले भविष्यमा हुन सक्ने दबावबारे पहिले नै सचेत छिन । सबै कुरा मिलि सकेको हँुदा अब यो घटनालाई यहि रोक्न समेत उनले आग्रह गरिन् ।


किशोरीको भनाई


मीनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै जना खेतमा गएको अवस्थामा छिमेकी गाँउका दिनेश लोध घर आएका थिए । मीनाले घरबाट जान भने पनि दिनेश जान मानेन्न । सोही क्रममा मीनाका बाबु आमा खेतबाट फर्किएपछि दुवै जनालाई एकसाथ देखे पछि कुटपिट गरेका थिए । उनले पहिले दिनेशसँग प्रेम सम्बन्ध भए पनि उनले जादु टुना गरेर प्रेममा पारेको दावी गरिन् ।


अहिले हामी २ वीच केही पनि बाँकी नरहेको कारण आपसी सहमतिमा ईलाका प्रहरी कार्यालय मर्चवारमा गई छुट्टिएका हाैं ।


कुटपिटको शिकार भएकी पीडित मीना यादव, उनका बाबु ईन्नर अहिर र केटा दिनेश लोधलाई ईलाका प्रहरी कार्यालय मर्चवारले हिरासतमा लिएको थियो । केटालाई २ दिनमै छाडेको र आफुलाई प्रहरीले ३ दिन सम्म थुनेको उनले बताईन् ।


किशोरको भनाई
केटा दिनेश लोध भने शुरुमा त आफुहरु प्रेममा रहेको नै स्विकार गरेन्न । उनले आफु बाटो हिडिरहेको अवश्थामा मीनाले घरमा बोलाएको दावी गरे । घर बाहिर नै बसेर गफ गरिरहेको अवश्थामा उनका परिवार आई आफहरुलाई निर्घात कुटपट गरेको दिनेशको भनाई छ ।


पेशाले शिक्षक रहेको दिनेश घटनाको दिन पछि सो पेशा पनि छोडेका छन् । उनले आफु उपचार गराउनु पर्ने र घरमै बसेको कारण शिक्षण पेशा छोडेको बताए ।


प्रहरीको भनाई
घटनाको जानकारी पाए लगतै मीना यादव र दिनेश लोधको स्थानीय प्रहरीले उद्दार गरेको थियो । ईलाका प्रहरी कार्यालय मर्चवारको प्रहरी नायब निरिक्षक नरिश्वर अर्यालले भने, ‘केटाले केटी भेट्न आएको र केटीको बाबुले दुवै जनालाई एकै साथ भेटाए पछि नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यक्रम गरेको’ बताए ।
आफ्नो छोरी चेली बिगार्ने कसैले पनि फुलमाला नलगाई कुटपिट नै गर्ने उनको भनाई छ । उनले केटा र केटीलाई स्थानीय भद्र भलादमीको रोहवरमा जिम्मा लगाईएको बताए ।


यता सम्मरीमाई गाँउ पालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लले आफ्नो क्षेत्रमा भएको अमानवीय घटनाप्रति खेद प्रकट गर्दै स्थानीय प्रशासनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले उक्त घटनामा दोषी रहेकालाई कारवाही गराउन पहल गर्ने बताए ।


यसै गरि घटना सार्वजनिक भए पछि बिभिन्न अधिकारवादी संगठन पनि सक्रिय भएका छन । माईती नेपालकी प्रभा खनालले अहिले पनि बिभिन्न स्थानमा यस्ता निकृष्ठ घटनाले निरन्तरता पाएको कारण प्रहरीले कडा कार्यवाही गर्नु पर्ने बताईन । उनले यस घटनालाई हेर्दा अबका दिनमा कुनै महिला, चेली कुटिन नदिन कडा कदम चाल्न आवश्यक रहेको प्रतिक्रिया दिईन ।


युवती कुट्ने ५ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर, इन्सपेक्टर पनि कारवाहीमा
बिभिन्न मिडियामा समाचार प्रकाशन एवम प्रसारण भए पछि रुपन्देही प्रहरीले छानबिनका साथै कार्यवाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाचार बाहिरिए लगतै रुपन्देही प्रहरीले घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।


घटनामा संग्लन युवतीका वुवाका इन्नर यादव सहित ६ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिए ।


धानुकका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय युवातीका वुवा इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
यी मध्ये युवतीका वुवा यादवलाई प्रहरीले पक्राउ गरिसकेको कार्यवाही प्रक्रिया अगाडि बढाइसकेको छ ।


उनले घटनाका अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारवाही हुने बताए ।


साथै उनले आफु मातहत रहेको ईलाकामा घटना र्भ पनि माथिल्लो निकायलाई जानकारी नगराएको कारण इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिंजापति उपर पनि विभागिय कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।


उनले इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नगराई काममा लापरवाही गरी आफ्नो जिम्मेवारी बोध नगरको कारण उनी माथि विभागिय कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।


विदामा गएका इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । उनी अहिले जिप्रका हाजिर भएका छन् ।

प्रेम प्रसंगमा कुटपिटकाण्डः गृह मन्त्रालयको निर्देशनमा रुपन्देही प्रहरीले लियो एक्सन

प्रेम गरेको भन्दै युवतीलाई बीच सडकमै यसरी कुट्यो समाजले (भिडियोसहित)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राधेश्याम विश्वकर्मा
राधेश्याम विश्वकर्मा
लेखकबाट थप