बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनौट : अफगानिस्तानसँगको हार भुलाउँदै सिङ्गापुरमाथि नेपालको २२ रनको जीत

शुक्रबार, ०६ साउन २०७४, १४ : २६
शुक्रबार, ०६ साउन २०७४


काठमाडौँ – सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।


जितका लागि १ सय ६९ रनको लक्ष्य पाएको सिंगापुर ४६.५ ओभरमा मात्र १४६ रनमा अलआउट हुन पुग्यो ।


नेपालले प्रस्तुत गरेको मध्यम योगफल पछ्याउने क्रममा सिंगापुरले शुरुवात भने राम्रो गरेको थियो । सिंगापुरका दुई ओपनर रोहन रंगाराजन र सिन अग्रवालले पहिलो विकेटका लागि ४० रन जोडे । रोहनले २३ तथा अग्रवालले २१ रनको योगदान दिए ।


त्यसपछि आएका सिद्धान्तले पनि २५ तथा युवराज सिंहले १९ रनको योगदान दिँदै ४ विकेटको क्षतिमा स्कोर ९३ रनसम्म पुर्याए । तर, त्यसपछि भने सिंगापुरले लगातार विकेट गुमाउन पुग्यो ।


अन्त्यतिर विकेटकिपर हंसुल दीपले ३० बलमा ३२ रन बनाउँदै आक्रमण पारी खेलेर सिंगापुरलाई आशा दिलाए पनि टोली हारबाट जोगाउन सकेनन् ।


सिंगापुरको ब्याटिङक्रम ध्वस्त बनाउन कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने पवन शर्राफ र किशोर महतोले २–२ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए । उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए । 


बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई–दुई विकेट लिए । विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे ।


नेपालले हालसम्म खेलेको ४ मध्ये ३ खेलमा जीत हासिल गरेको छ । नेपालले यसअघि पहिलो खेलमा सिंगापुरलाई ४ विकेट तथा दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो ।  तर, अफगानिस्तानसँग भने १४१ रनको लज्जास्पद पराजय बेहोरेको थियो ।


 राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप