शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि विश्वको उत्कृष्ट विश्वविद्यालयको वरियतामा समावेश

सोमबार, १५ असोज २०७५, १६ : ०२
सोमबार, १५ असोज २०७५

काठमाडौँ –नेपालको सबैभन्दा ठूलो र पूरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन वर्ल्ड युनिभरसिटी र्‍याङ्किङ’को वरियतामा पहिलो पटक समावेश भएको छ ।  

समग्र विश्वविद्यालयको र्‍याङ्किङमा त्रिभुवन विश्वविद्यालय ‘टाइम्स हाइअर एजुकेशन’को तालिकाको ८०१ देखि १००० समूहमा रहेको छ । 

‘टाइम्स हाइअर एडुकेशन वर्ल्ड युनिभरसिटी र्‍याङ्किङ’ वार्षीक रुपमा टाइम्स हाईअर एजुकेशन म्यागेजिनले विश्वभरीका विश्वविद्यालयको गुणस्तरको विश्लेषण र तुलना गरेर निकाल्ने वरियताक्रम हो । 

टाइम्स हाइअर एडुकेशन र्‍याङ्किङलाई विश्वको तीन प्रमुख विश्वविद्यालयहरुको वरियताक्रममध्ये एक मानिन्छ । बाँकी दुईमा ‘एकाडेमी र्‍याङ्किङ अफ वल्ड युनिभरसिटिज्’ र ‘क्युएस वल्ड युनिभर्सिटी र्याङ्कििङ’ मानिन्छन् । 

सन् २००४ मा माथि उल्लेखित क्युएससँग मिलेर टाइम्स हाइअर एजुकेशनले विश्वभरीको विश्वविद्यालयको वरियताक्रम प्रकाशित गर्न शुरु गरेको थियो । तर सन् २००९ मा यी दुई बीचको सहकार्य तोडिएपछि दुईले अलग अलग वरियताक्रम प्रकाशन गर्न थाले । 

वरियतामा किन प-यो त्रिभुवन विश्वविद्यालय ?

वरियता प्रकाशित गर्ने म्यागजिनको वेबसाइटमा उल्लेख भएअनुसार सन् १९५९ स्थापित त्रिभुवन विश्वविद्यालयले शुरुवाती दिनमा त्रिपुरेश्वर क्यापसमा आफ्ना सम्पूर्ण मास्टर डिग्री पढाउथ्यो ।

सन् १९६७ मा मात्र विश्वविद्यालय हालको १५५ हेक्टरमा फैलिएको किर्तिपुरको संरचनामा सरेको थियो । 

वेबसाइटले एक वर्ष अघिको तथ्यांकमा विश्वविद्यालयको देशभरि ६० आङ्गिक क्याम्पस र १०८४ सम्बन्धन प्राप्त गरेकाे क्याम्पस रहेका बताएको छ । त्यस्तै ३,५९,३७७ विद्यार्थी रहेको यो विश्वविद्यालय विद्यार्थी संङ्ख्याको आधारमा विश्वकै ११ औं ठूलो विश्वविद्यालय हाे  ।

वरियताक्रममा अन्य देशका उच्च शैक्षिक संस्थाको अवस्था 

यस वरियताक्रमको शीर्ष स्थानमा लगातार तेस्रो वर्ष पनि ब्रिटेनको अक्सफोर्ड विश्वविश्वविद्यालय परेको छ । 

दोस्रो स्थानमा पनि संयुक्त अधिराज्यकै क्याम्ब्रिज विश्वविद्यालय रहेको छ । यी दुईले विश्वभरका विश्वविद्यालयहरुको वरियतामा शीर्ष स्थान लिएको भए पनि समग्र ब्रिटिस विश्वविद्यालयको अवस्था भने अघिल्लो वर्षको तुलनामा खस्केको वेबसाइटले जनाएको छ । 

यो वर्षको र्‍याङ्किङमा पहिलो पटक संयुक्त अधिराज्यका भन्दा जापानी विश्वविद्यालयहरु बढी परेका छन् । 

र्‍याङ्किङमा सबैभन्दा बलियो प्रभाव अमेरिकी विश्वविद्यालयहरुको रहेको छ । तेस्रो स्थानमा अमेरिकी विश्वविद्यालय स्टानफोर्ड रहेको छ । शीर्ष २० मा अमेरिकाका मात्रै १५ विश्वविद्यालय परेका छन् ।

शीर्ष २० मा ब्रिटेन र अमेरिकाबाहेक अन्य देशको एउटा मात्रै विश्वविद्यालय रहेको छ । स्वीटजरल्याण्डको ज्युरिकमा रहेको ‘स्वीस फेडरल इन्स्टीच्युट अफ टेक्नोलोजी’ ११ स्थानमा रहेको छ । अल्बर्ट आइन्स्टाइनले यसै विश्वविद्यालयमा पढेका थिए । 

एशियाली देशहरुमा जापानलाई चीन र दक्षिण कोरियाका विश्वविद्यालयले बलियो चुनौती दिएका छन् । युरोप र अमेरिका बाहिर शीर्ष स्थानमा सबै भन्दा धेरै विश्वविद्यालय चीनका रहेका छन् । चीनको सिन्ह्वा विश्वविद्यालय शीर्ष २२ स्थानमा परेको छ ।  

भारतको धेरै वटा विश्वविद्यालयहरु यो सूचीमा परेको भए पनि सबैभन्दा शीर्ष स्थानको विश्वविद्यालय २५१ देखि ३०० समूहमा रहेको छ ।

इण्डियन इन्स्टिच्यूट अफ साइन्सले उक्त समूहमा रहेर भारतको उच्च शैक्षिक संस्थाहरुमध्ये शीर्ष स्थान लिएको छ ।  त्यसपछि आइआईटी–इन्दोर ३५१ देखि ४०० को समूहमा रहेको छ ।

भारतमा रहेका २३ आईआईटी मध्ये ११ वटा यस र्‍याङ्किङमा समेटिएका छन् ।  

यो वर्ष नेपालको अतिरिक्त कजाकस्थान, इराक र तान्जानियाका विश्वविद्यायहरु यो र्याङ्कििङमा पहिलो पटक प्रवेश गरेका छन् । यी चार देशको प्रवेशसँगै अब यस र्याकङ्किङमा ८५ देशका विश्वविद्यालयहरु समेटिएका छन् ।

केही आलोचकले यो टाइम्स हाइअर एजुकेशनको विश्ववरियताले विज्ञान र प्राविधिक शिक्षामा केन्दीत विश्वविद्यालयलाई बढी अंकभार दिने गरेको आरोप लगाउने गरेका छन् । 

तर, म्यागजिनले भने आफूहरुले आफ्नो विश्वभरीका विश्वविद्यालयको वरियताक्रम अनुसन्धान आउटपुट र तिनको प्रभाव, शैक्षिक प्रतिष्ठा, सिकाई, उद्योगहरुबाट आय र अन्तराष्ट्रिय सम्बन्धनलाई आधार मान्ने गरेको बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप