केन्द्रीय संस्करण

बामले नै सरकार ढाले अचम्म नमाने हुन्छ

person access_timeअसोज १५, २०७५ chat_bubble_outline0

नेपाललाई सके आफ्नो अधीनस्थ बनाउने नसके यस देशको उत्थान र उन्नति हुनै नदिने तथा सदा अस्थिर, अराजक र अन्यौलपूर्ण बनाउने काममा ब्रिटिस औपनिवेशिक चरित्रलाई हुबहु आत्मसात् गरेको भारतीय शासक वर्ग हर्दम लागिरहकै छ । 

यस काममा उसले साम, दाम, दण्ड र भेद नीति अँगालेको देखिन्छ । त्यसैले दुईतिहाईको यो ओली सरकारलाई कमजोर र असफल बनाउन नेकपाका उपल्ला तहमा नेताहरू नै अनेक प्रलोभनमा परी गर्दैनन् भन्न सकिन्न ।   

केही पश्चिमा शक्तिहरू भारत हुँदै नेपाल पसेर र बसेर उत्तरको देश तिब्बत र चीनलाई आक्रमणको तारो बनाउन लामो समयदेखि उद्यत देखिन्छन् । अहिले दुई तिहाइको ओली सरकार उनीहरूको मिसनको ठूलो बाधाका रूपमा रहेको देशी र विदेशी प्रतिक्रियावादीको ठहर देखिन्छ ।

 यो सरकार तिब्बत हान्ने गुरुयोजनाको बलियो किल्ला बनेको छ । लोकप्रिय मतबाट बनेको यो सरकारलाई असफल र अपदस्थ गर्न कुनै पनि बहानाको अभाव हुँदा  विदेशी तागत आफै अघिसर्न अप्ठ्यारो परिरहेको देखिन्छ । यस कामलाई सफल पार्न उनीहरूले कम्युनिस्ट पार्टीभित्रै अनेक चलखेल गर्नुपर्ने गुरुयोजना सुरु गरेको हुनसक्छ । 

यस कुरालाई प्रा.डा. युवराज सङ्ग्रौलाले लेख र अन्तरवार्तामार्फत् पटक पटक स्पष्ट सङ्केत गरिसकेका छन् । उनले नेकपाभित्र नै केही  नेताहरू कम्युनिस्ट सरकारविरुद्ध विदेशीका गोटी बनेर लागेका हुनसक्छन् भनेका छन् ।   

नेपाललाई असफल पार्न पहिलेदेखि नै पटक पटक भयङ्कर षडयन्त्रपूर्वक चलखेल गरिएको सबुत प्रमाण  चक्रव्यूहमा चन्द्रसूर्य राष्ट्रिय सुरक्षा र स्वाधीनताका चुनौती, जासुसीको जालो, नेपालमा रअको चलखेल तथा प्रयोगशाला नामका कृतिमा उल्लेख गरिएको छ  । यी कृतिहरूले हालसम्मको  नेपालको अवस्था दर्साउँछन् । 

 फुटाऊ र शासन गर कूनीतिका आधारमा होस् वा नेपालमाथिको बारबार हस्तक्षेप र अन्तध्र्वंश गर्ने भारतीय शासकको दुर्नियतको विषय होस् । यसको प्रत्यक्ष जानकार तथा भुक्तभोगी स्वयम् बीपी कोइराला नै हुनुहुन्छ । 

 उहाँलाई भारतमा निर्वासित भएका भारतीयले हामीले भनेअनुसार गर्ने हो  भने तपाईंलाई हामी प्रधानमन्त्री बनाई दिन्छौँ भनेर लोभ्याएका थिए तर कोइरालाले ठाडो अस्वीकार गर्नुभयो ।  

 फाँसीको फन्दामा पर्न सक्ने भयसमेत त्यागेर नेपाल आएका  बीपी कोइरालालाई सुन्दरी जल कारागारमा बन्दी बनाइयो । यही समय अर्थात् ०३६ सालको  जनमत सङ्ग्रहको पूर्वसन्ध्यामा  बीपी निवासमा आएर अमुक एक जनाले तपाईंलाई नेपालको राष्ट्रपति बनाइदिन्छौँ, राजतन्त्रविरुद्ध तपाईं नेतृत्व गर्नुहोस् भनेर लोभ्याएको स्वयम् बीपी कोइरालाले उल्लेख गर्नु भएको देखिन्छ । यसरी शीर्षस्थ तहका नेपाली नेतालाई लोभ्याउने शक्तिले अहिले ओली सरकारलाई असफल तुल्याउन ककसलाई चाहिँ लोभ लालचमा पार्न छोड्ला । 

तर बीपीले यसका लागि अठ्चालिस घण्टाको समय मागेर पूर्वराजा वीरेन्द्रसित सुटुक्क भेटेर सल्लाह गरी त्यसबीचमा अकस्मात् राजाबाट जनमत सङ्ग्रह भएको तथ्यले बताउँछ । 

नेपालका पूर्वराजाहरूलाई र  नेताहरूलाई अनेक खालका दबाब, धम्की र प्रलोभनमा पारेर यस देशको अग्रगमन र अमन चैन बारबार बिथोल्न खोजेको देखिन्छ । ०५७ सालमा संसदीय छानविन समितिका संयोजक सांसद् सोमप्रसाद पाण्डेले नेपालको दक्षिणी सीमाका  धेरै गाउँहरू डुबानमा पर्ने गरी  भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध विषयको अध्ययनका बेला यस काममा प्रतिकूल स्थिति तयार गर्न गराउन   पाण्डेलाई भारतले रअ मार्फत् अनेक प्रलोभन दिएको जासुसीको जालोमा उल्लेख छ । तथापि पाण्डे प्रतिवेदनले बाँध भत्काउने प्रस्ताव पेस गरेको थियो । 

 तर ओलीले भनेझैँ एकआपसमा भर अभरमा सरसहयोग लिन र दिन पनि सकिन्छ  तर  कसैले अभर परेका बेला सहयोग ग¥यो भनेर घरबार नै त जिम्मा लागाउन सकिन्न नि । 

 ओली सरकार बनेपछि यसका सकारात्मक काम पटक्कै नदेखी औडाहा गरेर मनमौजी  बोल्ने, लेख्ने र   देख्नेहरूलाई नै लाज हुनेगरी अराजक रूपमा सडक संवाद गर्ने कम्युनिस्ट नेताले नै यो कम्युनिस्ट सरकार गिराउने खालको कुलक्षण देखाउन थालेका छन् । 

पुष्पकमल दाहालका बेलाबेलाका  बेलगामका बोलीहरू ओली सरकारको स्थिरताका जोखिम हुन् । उनले यस खालको बेहोरा देखाइरहे भने उनको बल्ल बल्ल उठेको र जुटेको व्यक्तित्व विघटनको कहालीलाग्दो अन्त्यमा पुग्ने निश्चित छ । 

उनका आफ्नै लबी र कोटरीका पनि सदा साष्टाङ्ग दण्डवत् गरेर बसिरहने छैनन् । हीरण्यकशिपुका आफ्नै छोरा भक्त प्रल्हाद बाबुकैविरुद्ध उभिए । सुप्रसिद्ध उपन्यासकार डाइमन शमशेर राणा राणाकै अधीनस्थ सेना नायकमा जागिरे  हुँदा राणा शासनकै विरुद्ध ज्यान हत्केलमा राखेर उभिए ।
 अति गरेपछि खति हुन्छ । एकाधबाहेक अहिले पनि भँडार खनेर आँगन पुर्ने नेकपाका नेता होलान् जस्तो लाग्दैन । पार्टी नेताले जस्तो संस्कार र आचार सिकायो त्यही दोहोरिन्छ । 

 सत्ता र सरकारका लागि राणा, शाह परिवारहरू आपसमा मारामार गरेरै सकिए । यही सिको गर्नु लोकतन्त्र र गणतन्त्र कालका लागि कदापि सुहाउने कुरा होइन ।   

नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको ओली सरकार कम्युनिस्टहरूले नै गिराए भने यसमा कुनै अचम्म नमाने हुन्छ । किनभने प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीलाई नै उछिन्ने गरी नेकपाका केही उच्च तहका नेता ओली सरकारविरुद्ध अराजक रूपमा सडकमा ओर्लिएर देश नै डुब्न लाग्यो भनेर क्रित्रिम रोइलो गर्न थालेका छन् । 

 यस्ता रोइलाका  दुइटा  महत्वपूर्ण कारण देखियो ।  एक पार्टीको विधानअनुसार सचिवालयको बैठकले गरेको निर्णयलाई विधानतः पार्टी अध्यक्षले कार्यान्वय गर्न पाउने व्यवस्थाअनुसार सातै प्रदेशका केही महत्वपूर्ण पदाधिकारी चयन गरिएको विषय  रहेछ । तर अन्तरिम विधानको बुँदा नं. ५ मा  सचिवालयको अधिकार स्पष्ट किटान गरिएको देखिन्छ । अनि  पार्टी अध्यक्षलाई सचिवालयले सिफारिस गरेको कुरा बँुदा  नम्बर ४ अनुसार निर्णय र कार्यान्वयन गर्ने अधिकार दिइएको छ । तदनुसार चयन गरिएका सातै प्रदेश बैठक गरी काममा जुटिरहेको बेला बखेडा सुरु भएको देखिन्छ । 

माधवकुमार नेपालको अर्को असन्तुष्टि चाहिँ पार्टी अध्यक्ष पुष्पकमल दाहालको घर करासाको बाटो पिच हुनु तर आफ्नो चाहिँ घर जाने बाटो  पिच नहुनु भन्ने रहेछ । 

यसमा भारतीय रअमार्फत् नेपालकै कर्मचारीमार्फत् नेताहरूका बीच ससानादेखि ठूला ठूला विषयमा  अनेक खालका अन्तर्विरोध बढाउने अभिप्रायका काम हुनसक्छन् भन्ने नेपालले नबुझ्नु पनि अचम्म नै हो । 
कञ्चनपुरकी बालिका हत्या प्रकरणमा अहिलेसम्म चार जना प्रहरी कारवाहीमा पर्नुको रहस्य एउटै हुनसक्छ कि बाह्य चलखेल र आर्थिक प्रलोभनमा सरकारलाई नै असफल बनाउने कृत्य मूल कारण हो । नेपालका मन्त्रीसमेत भारतीय एजेन्ट भएको विगतले देखाएको छ । 

त्यसैले माधवकुमार नेपालले यस खालमा नितान्त निजी र सतही असन्तुष्टिमा जग हँसाउने गरी विगतमा झैँ सदनमा तिललाई ताड बनाएर तमासा देखाउने कुनै आवश्यकता नै थिएन । 

अनि मैले त सरकारको हितका लागि नै सुझाव दिएको भनेर मात्र हँुदैन । गैँडाले माया गर्दा शरीरको छाला नै ताछिन्छ । भएभरको कटु आलोचना गरेर सरकारको भलो चाहेको भन्न सुहाउँछ ? धोवी धुलाई गरेर मैले त मायाले पो यस्तो गरेको भन्दा कसले पत्याउँछ ?
ओली सरकारका हरकाममा विभिन्न बाधा र व्यवधान हुनु र गर्नु कुनै अचम्मको बात होइन । एकाध नेकपा उच्च तहका नेताको यस खालको निकृष्ट बेहोरा देखिन्छ । तिनले आआफ्ना गुटका केही नितान्त निजी निहित स्वार्थ केन्द्रित नेतालाई विभिन्न नाम र काममा ओली सरकार विरुद्ध परिचालित गरेको स्पष्ट हुन्छ ।

 माक्र्सवादको प्रशिक्षणका बहानामा भए पनि निचोडमा ओली सरकारका विरुद्ध निकृष्ट नियोजित दुष्प्रचार गर्न थालिएको देखिन्छ । 

वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माले प्रधानमन्त्री ओली मन्त्री मण्डलका एक मन्त्रीले ओलीका अहं र समयको व्यवस्थापनाका कमजोरी उल्लेख गरेको हुँदा  यस्ता सुझावलाई स्वीकार गर्नुपर्छ । तर मुलुक उत्थान र विकासको  मूल ध्येय र उद्देश्य सही छ भने सामान्य कमजोरीलाई ताडझैँ बढावा दिएर दुष्प्रचारमा ओर्लिनु किमार्थ जाती हुँदैन । 

  विभिन्न गुटका नेताको सिफारिसमा नियुक्त कतिपय मन्त्री भने प्रधानमन्त्रीभन्दा गुटको नेताप्रति उत्तरदायी र जवाफदेही  जस्ता देखिएको हुँदा डा. संग्रौलाले सबै मन्त्री प्रधानमन्त्री जस्ता भन्ने भनाइमा आंशिक  सत्यता देखिन्छ । 

प्रसिद्ध लेखक पुरञ्जन आचार्यले भारतीय भ्रमणका बेला पुष्पकमल दाहालको विदेशमा देशका आन्तरिक मामला छरेकामा एक लेखमार्फत् धेरै चित्त दुखाएका छन् । अर्का वरिष्ठ वकिल तथा सांसद् राधेश्याम अधिकारीले असोज ३ गते २०७५ मा एक राष्ट्रिय दैनिक पत्रिकामा नेपाली काँग्रेसले ओली सरकारलाई तह लागाउने नाममा  संविधान कार्यान्वय र कानुन बनाउन असहयोग गर्ने होइन भन्ने दबाबमूलक विचार व्यक्त गरेका छन्  । 

 अर्का वरिष्ठ लेखक भलक सुवेदीले २०७५ भाद्र २१ गते प्रकाशित एक राष्ट्रिय दैनिक पत्रिकामा निकारागुवामा लोकप्रिय मतबाट राष्ट्रपतिमा निर्वाचित पूर्व कम्युनिस्ट डेनियल ओर्टेगाविरुद्ध त्यहाँका  कम्युनिस्टहरू नै विदेशीको आदेश र इसारामा कसरी सडक सङ्घर्षमा छन् भन्ने उल्लेख गरेका छन् ।

यस खालका सन्तुलित विचार प्रवाह भइरहेको परिस्थितिमा नेकपाका एकाध वरिष्ठ नामधारी नेताका बोली वचन र बेहोरा देख्दा कतिपय प्रबुद्ध बाम व्यक्तिलाई तिनप्रति चरम वितृष्णा उत्पन्न भएको देखिन्छ । कस्ता बुद्धि र विवेकहीन नेताका कार्यकर्ता भइएछ भनेर धिक्कार्ने  अवस्था व्याप्त हुन थालेको छ । 

घर ज्वाइँलाई खानकै धन्दा भनेझैँ केही नेता जनताबाट पराजित भएपछि पनि फेरि सांसद् हुन अनि मन्त्री हुन अपहत्ते गरिरहेको देखिन्छ । यस खालका  कथित नेताले नेकपालाई हाँडी गाउँको जात्रा बनाउने भए । 

ओलीले भनेझैँ नेपालमा पोलिटिकल कम्युनिस्टहरू धेरै भएकाले यिनमा माक्र्सवादी आदर्श, आचरण, जीवनशैली नभएकै कारण यस खालका रत्यौली हुन थालेका होलान्  ।

 त्यसैले यिनलाई माक्र्सवादी आदर्श अनुरूप कुनै काम गर्नु नै छैन । प्रधानमन्त्री ओलीका कमजोरी होलान् र छन् तर उनी फाउ जिन्दगी बाँचिरहेका छन् । त्यसैले  यो अनिश्चित समय ओली भरपुर सदुपयोग गर्न चाहन्छन् । उनलाई भरै र भोलिका लागि हत्ते हालेर गर्नैपर्ने न कुनै व्यक्तिगत लोभ छ, न कुनै लबी छ, न कुनै लालच देखिन्छ । 

तर शत्रुलाई खेदेझैँ गर्ने एकाध नेकपाका नेताहरू भने यो सरकारलाई हिलाको किलो बनाउँदै आखिरमा उखेल्ने दुर्नियतका साथ लागेको स्पष्ट हुन्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ