शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको मुटुमा सडकको हरिबिजोग, घाम लागे धूलो पानी परे हिलो !

आइतबार, १४ असोज २०७५, १८ : २२
आइतबार, १४ असोज २०७५

बुटवल –पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलको अमरपथ व्यापारिक दृष्टिकोणले बुटललको मुटु मानिन्छ । 

अमरपथले प्रदेश राजधानीको मुख्य व्यापारिक केन्द्रको परिचय दिन्छ । सँगै बुटवल शहरको सुन्दरताको नमुना पनि झल्काउँछ ।

 तर त्यही अमरपथको सडक निर्माण निकै ढिलाई भएको छ । सडक निमार्ण गर्दा भत्काएका संरचना र धुलोका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । सडक नबन्दा यहाँका बासिन्दा घाम लाग्दा धूलो र पानी पर्दा हिलोको सास्ती भोग्न बाध्य छन् । 

अमरपथका मात्रै हाइन बुटवलका अन्य सडकहरु अवस्था पनि अहिले यस्तै रहेको  बुटवल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य तथा अमरपथबासी सुरेन्द्र श्रेष्ठले बताए । 

 हालै बुटवल उद्योग वाणिज्य संघको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडालाई संघले यसबारे ध्यानार्कषण गराएको थियो । तर सुनुवाई भने हुन सकेको छैन । 

बुटवल उपमहानगरपालिकाका मुख्य बजार क्षेत्र संगमपथ, अमरपथ, नेपालगञ्ज रोड र रामन्दिर लाइनमा ४ करोड ६४ लाख रुपैयाको लगानीमा सडके निर्माणको काम सुरु भएको थियो । 

जनसहभागिता र बुटवल उपमहानगरपालिकाले ६०÷४० अनुपातको लगानीमा सडक निर्माण गर्नुपर्नेमा उपमहानगरपालिकाले भने उपभोक्तालाई १५ प्रतिशित लगानीमा सडक निर्माणको काम अगाडि बढाएको थियो । कम जनघनत्व र आयस्रोत कम भएका स्थानमा ६०÷४० लगानी गर्नुपर्ने मापदण्ड बनाएको उपमहानगरपालिकाले बजार क्षेत्रका व्यापारीहरुलाई काखी चाप्दै १५ प्रतिशत लगानीमा योजना पछ्यौट गरी काम गरिरहेको छ । “विभिन्न स्थानमा उपमहानगरपालिकाले मापदण्ड बनाएको र त्यसैका आधारमा उपभोक्ता र सरोकारवालाको लागत स्टमेट तोकिन्छ” बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले भनिन् ।

बुटवल वडा नं. ४ संगम ९६ लाख ५८ हजार ४ सय ६ रुपैयाको लागतमा सडके पुनर्निर्माण उपभोक्ताको जम्मा १५ प्रतिशत १४ लाख ४८ हजार ७ सय ६१ रुपैया मात्र लगानी रहेको छ । दुवैतिर नाली, पुरानो पिचलाई निकालेर नयाँ कालोपत्रे गर्ने सम्झौता यो सडकमा छ । त्यस्तै वडा नं. ४ र ५ जोड्ने अमरपथमै ५० मिटर सडक कालोपत्रे, नाली, पार्किङ निर्माणका लागि ९० लाख १९ हजार ९ सय ६९ रुपैया छुटाइएको छ । 

उक्त निर्माणमा पनि उपभोक्ताले १५ प्रतिशत १३ लाख ५३ हजार ९ सय ९९ रुपैया रहेको छ । यो सडकमा भने दुवै साइडमा मोटरसाईकल पार्किङ स्थल र पुरानो कालोपत्रे निकाली नयाँ राख्ने सम्झौता छ । 
त्यस बाहेक वडा नं. ६ अमरपथ, नेपालगञ्ज रोडदेखि ट्राफिक चोक आउने सडक र नविल बैंक अगाडिदेखि संगमपथ– राममन्दिर लाइन आउने सडकमा पनि १५ प्रतिशत मात्र जनसहभागितामा काम भइरहेको बुटवल उपमहानगरपालिकाका इन्जिनियर सफिद अहमद खानले बताए ।

वडा नं. ६ अमरपथमा ७८ लाख ५८ हजार ४ सय ७६ को लागतमा ४ सय ९१ मिटर सडक पुर्न निर्माण भइरहेको छ । यसमा जनसहभागिताको ११ लाख ७८ हजार ७ स ७१ रुपैया रहेको छ । 

सडक कालोपत्रे तथा मोटरसाइकल पार्किङ गर्ने गरी अहिले काम भइरहेको छ । नेपालगञ्ज रोडदेखि ट्राफिक चोक आउने सडक पिच गर्न भन्दै १६ लाख ५४ हजार ८ सय १८ रुपैया विनियोजित गरिएको छ ।

जनसहभागिता मार्फत १ लाख ४६ हजार ८ सय ७२ रहेको छ । उक्त सडक निर्माणको लम्बाई १ सय ८० मिटर रहेको छ । त्यस्तै २ सय १२ मिटर लम्बाईमा नाली, कालोपत्रे गर्नका लागि २० लाख ५९ हजार ९ सय १ रुपैया विनियोजिन भएको छ । जसमा पनि १५ प्रतिशत जनसहभागिता मार्फत ३ लाख ८ हजार ९ सय ८५ रुपैया रहेको छ ।

बुटवल उपमहानगरपालिकाका सूचना अधिकृत लेखनाथ पौडेलले उपभोक्ता समिति मार्फत निर्माण हुँदै गरेको बाटो सम्झौता अनुसार ठूलो मेसिन प्रयोग गरेर कालेपत्रे गरिनुपर्ने र उक्त मेसिन अहिले बुटवल–बेलहिया सडक निर्माण कार्यमा प्रयोग गरिएको कारण केही ढिला भएको हुन सक्ने बताए ।

बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि प्रसाद अर्यालले दशैं आउन लागिसक्दा पनि अमथपथ कुरुप हुनु व्यापारीहरुको लागि निकै दुग्भार्यपुर्ण भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप