बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मालदार मन्त्रालयमा रामचन्द्रको आँखा, मंगलबार मन्त्रिमण्डल विस्तार निश्चित

शुक्रबार, ०६ साउन २०७४, १३ : ४८
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– सत्तारुढ र सहयोगी दललाई मनाउदै आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका नेता रामचन्द्र पौडेललाई मनाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । एकपछि अर्को मिलाउदै गएपनि मन्त्रिपरिषद विस्तारमा ढिलाई गरेपछि सर्वत्र आलोचित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रकै गुटको व्यवस्थापन गर्न नसक्दा डेढ महिना बितिसक्दा पनि आफ्नो मन्त्रिमण्डललाई पुर्णता दिन नसकेका हुन् ।


मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईले राज्यले गर्नुपर्ने नीतिगत निर्णयहरु हुन सकेका छैनन् भने नयाँ कार्ययोजना बन्न सकेका छैनन् । दोस्रो चरणको स्थानीय तह निर्वाचन लगत्तै मन्त्रिमण्डल विस्तार गर्ने देउवाको योजना सफल नहुनुमा बाह्य कारण भन्दा पनि पछिल्लो समय पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्नु नै बढि कारक बनेको कांग्रेसकै नेताहरुले बताएका छन् । अब पार्टीभित्रको गुटगत विवाद तत्काल समाधान गर्दै आगामी मंगलबार मन्त्रिमण्डल विस्तार गर्ने योजनामा प्रधानमन्त्री देउवा लागेका छन् । 


रामचन्द्रले मागे मालदार मन्त्रालय
बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री देउवा गत सोमबार या मंगलबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । त्यहि अनुसार उनले कार्यदलका सदस्यहरुलाई मन्त्रालय र मन्त्रीको नाम टुङ्गो लगाउन भनिसकेका पनि थिए । त्यहि अनुसार माओवादीले सोमबारै आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम बुझाइसकेको थियो । तर, देउवाको आफ्नै पार्टीका नेता रामचन्द्र समूहले २ मन्त्रालयमा चित्त बुझाउने भएपनि कुन–कुन मन्त्रालय भन्ने यकिन नहुँदा देउवाको मन्त्रिमण्डल विस्तारको योजना पुरा हुन पाएन । श्रोतका अनुसार रामचन्द्र समुहले मन्त्रालयको नाम नकिटेसम्म सरकारमा आफ्नो समहु सहभागि हुनै नसक्ने जनाउ दिएपछि देउवा ‘ब्याक’ भएका थिए । पौडेलले कांग्रेसले पाएका १३ मन्त्रालयमध्ये अर्थपछिको शक्तिशाली मन्त्रालय पाएमात्रै आफ्नो समुहको मान्छे पठाउने नत्र नपठाउने अड्डी कसेका थिए । पौडेलको यो अडानपछि देउवाले मन्त्रिमण्डल विस्तारको समय एकसाता लम्ब्याएका हुन् । 


मंगलबारको मिति सर्दैन 
पटकपटक मन्त्रि मण्डल विस्तारको मिति सरेपनि मंगलबारको मिति नसर्ने प्रधानमन्त्री देउवा निकट श्रोतले जनाएको छ । कांग्रेसले मन्त्रालय बाँडफाडका लागि बनाएको कार्यदलका सदस्य रमेश लेखकका अनुसार आगामी मंगलबार मन्त्रिपरिषद विस्तार हुने कुरामा दुईमत छैन । जति ढिला भयो त्यति प्रधानमन्त्रीको आलोचना बढि हुने र असक्षमको बिल्ला समेत भिरिने भएकाले प्रधानमन्त्री देउवाले चाँडो मन्त्रिमण्डल विस्तार गर्नुपर्ने आफ्ना सहयोगिहरुलाई बताउँदै आएका छन् । 


यो पटक विगतमा लागेको असक्षमको बिल्ला मेटाउने अवसरका रुपमा लिएका देउवा सकेसम्म सवै दललाई सहमतिमा ल्याएर अघि बढ्ने प्रयासमा लागेका छन् । यहि बेलामा कांग्रेसको केन्द्रीय समति बैठकको समेत मिति वर सारेर मंगलबारलाई उपयुक्त समय मिलाएको कांग्रेस नेताहरुले बताएका छन् । 


यसअघि कांग्रेस केन्द्रीय समिति बैठक साउन नौमा राखिएको थियो । तर, करणबश भन्दै बैठक सात गतेलाई सारिएको थियो । नेता लेखकका अनुसार राजपाको माग सम्बोधन र उसलाई सके सरकारमा ल्याउने नभए २ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा सहभागि गराउने देउवाको चाहान छ । त्यस्तै राप्रपालाई पनि सरकारमा सहभागि बनाउदै राम्रोहुने देउवाको ठहर छ ।   


कारण यि पनि हुन् 

मन्त्रिमण्डल विस्तारमा ढिलाई हुनुमा पार्टीभित्रको बिबाद मात्र नभएर अन्य कारणहरु समेत कारक रहेका छन् । चुनाव लगत्तै सत्तासहयात्री दलहरु चुनावी समिक्षाका लागि बैठकमा व्यस्त भएकाले पनि केही ढिलाई भएको सत्तापक्षको भनाई छ । नेता लेखकले भने ‘प्रमुख सत्तासाझेदार माओवादीको बैठक शुक्रबार सकिदैछ । त्यस्तै अर्को पार्टी राप्रपाको पनि शुक्रबार सकिदैछ, उसले के निर्णय गर्छ ? त्यस्तै अर्को पार्टी राजपाको  बैठक पनि चलिरहेको छ । उनिहरुका पनि धारणा आउनुपर्यो त्यसपछि बल्ल प्रष्ट रोड म्याप बन्छ, यदि त्यसवेला सम्म पनि केही भएन भने तीन दलमात्रैबाट भएपनि मंगलबार मन्त्रिमण्डल विस्तार गर्ने मुडमा प्रधानमन्त्री हुनुहुन्छ ।’ देउवाका विस्वासपत्र समेत रहेका नेता लेखकका अनुसार राजपा मनाउने प्रयास र राप्रपाले प्रष्ट भिजन नबनाउदा पनि समय लागेको हो । 

राप्रपा आउने राजपा बहिरै 
अबको मन्त्रिमण्डल विस्तारमा राप्रपालाई समेत सहभागि गराउने सत्तापक्षको तयारी छ । त्यसका लागि सत्तापक्ष राप्रपालाई  चार मन्त्रालय दिन सहमत भैसकेको छ । तर, कुन कुनर मन्त्रालय भन्नेमा भने अझै पनि कुरा मिलिनसकेको श्रोतले जनाएको छ । यता, संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल भने सरकारमा सहभागि नबन्ने निश्चित भएको छ । उसले सरकारलाई दिएको समर्थन कायमै राख्दै सहयोग गर्नेछ । त्यसका लागि सरकारले उसका माग सम्बोधनको प्रयास गरिरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप