बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नयाँ मिडियाका कारण छापा माध्यमलाई चुनौती : मन्त्री बाँस्कोटा

शनिबार, १३ असोज २०७५, १९ : ५३
शनिबार, १३ असोज २०७५

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताएका छन् । 

काभ्रेपलाञ्चोकको बनेपामा आज प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराको जानकारी दिने भएकाले छापा सञ्चार माध्यमलाई चुनौती थपिएको बताए । 

नयाँ मिडिया (हातहातको मिडिया) शक्तिशाली भएर आएकाले अब छापा सञ्चारमाध्यम केही समयपछि विवरण राख्ने तथा विचार प्रस्तुत गर्ने माध्यम मात्रै हुने अवस्था आउन सक्ने बताए । 

प्रविधिले सहजता ल्याएपछि प्रतिस्पर्धा बढेको र त्यसभित्र आफूलाई विश्वसनीय बनाउन जरुरी रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उनले भने, ‘विश्वसनीय नभई लोकप्रिय हुँदैन, लोकप्रिय नभइ ‘मिडिया हाउस’ चल्न गाह्रो हुन्छ ।’

पत्रकारिता भोक, तिर्खा, पानी, जाडोलगायतको पर्वाह नगरी गर्ने चुनौतीको पेशा भएको उनको भनाइ थियो । कतिपय अवस्थामा पत्रकारिता कर्म र धर्म कुन अवस्थाको हो भन्ने कुरा पत्रकार आफैले छुट्याएर अगाडि बढ्नुपर्ने अवस्थासमेत आएको उनले बताए ।

‘कर्म गरे अवश्य फल प्राप्त हुन्छ, तर धर्मले शान्ति मात्रै दिने भएकाले कुन अवस्थाको कर्म हो भन्ने आफैँले छुट्याएर अघि बढ्न आवश्यक छ’ –उनले भने । 

सरकारले दीर्घकालीन विकासको कामलाई अगाडि बढाइसकेको हुनाले समाजमा स्थिरता छाएको उल्लेख गर्दै उनले विस्तारै सामाजिक, राजनीतिक, सांस्कृतिक, कला, साहित्य र पत्रकारिता क्षेत्रको विकासमा फड्को मार्दै जाने बताए । 

गुठीका अध्यक्ष मोहन दुवालले सामाजिक काम गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको र यस वर्ष पत्रकारिता जगत्बाट समाजको लागि योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा रेडियो नेपालका पत्रकार कष्णा ताम्राकार, नेपाल समाचारपत्र दैनिकका भगवती तिमल्सिना र नारी पत्रिकाका सिर्जना दुवाल श्रेष्ठलाई सम्मान गरिएको थियो । तीनैजनालाई जनही रु १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप