शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हलेसी तुवाचुङ नगरपालिका मेयर इबन राईद्वारा सिडियोलाई चुनौती

शनिबार, १३ असोज २०७५, १७ : ४०
शनिबार, १३ असोज २०७५

-इबन राई

गुठी संस्थानअन्तर्गत रहनेगरी हलेसी मन्दिर व्यवस्थापन समिति गठन भएको सर्वविदितै छ । समितिको समयावधि सकिएको दुई वर्ष भइसकेको थियो । स्थानीय तह निर्वाचनअघि नै समयावधि सकिएको रहेछ । 
नयाँ समिति गठन गर्न तात्कालिक गाउँ विकास समितिले सिफारिस गरेर जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय पठाउनु पर्दोरहेछ । सो सिफारिस दुवै कार्यालयले जस्ताको तस्तै गुठी संस्थान पठाउनुपर्छ । गुठी संस्थानले गुठी ऐन २०३३ अनुसार अनुमोदन गर्ने प्रावधान छ ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेपछि हलेसी तुवाचुङ नगरपालिकाको नाममा गुठी संस्थान, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय खोटाङले हलेसी मन्दिर व्यवस्थापन समितिका लागि उपयुक्त व्यक्ति छनोट गरी पठाउन पत्राचार गर्यो । 

पत्र पाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीको एक कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कामचलाउ अध्यक्ष गजुरमान राई, वडाध्यक्ष चइन्द्र राई र हलेसी विकास समिति कार्यकारी निर्देशक सम्बर भुजेललगायतलाई जानकारी गराएँ । 

जानकारीमात्रै होइन, नयाँ कार्यसमिति सिफारिसका लागि अनुरोध गरें । उहाँहरूले चार÷पाँच महिनासम्म पनि नयाँ कार्यसमितिका लागि सिफारिस गर्न सक्नुभएन । हामीलाई तीनै निकायबाट ताकेतासहित पत्राचार गरियो । त्यसपछि नगर कार्यपालिकाको बैठकमा नगरपालिकाका प्रत्येक सदस्यबीच छलफल गराई सर्वसम्मत निर्णय गरेर नयाँ कार्यसमितिका लागि सिफारिस पठायौं ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलज्यू तपाईंले राजनीतिक अभीष्ट पूरा गर्न समितिका लागि पठाइएका केही व्यक्तिको नाम नगरपालिकासँग समन्वय नगरी संशोधन गर्नुभयो । भूमिका पनि हेरफेर गर्नुभयो । त्यसपछि हलेसी तुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयबीच द्वन्द्व चर्केको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले मसँग भन्नुभयो, ‘यो हाम्रो क्षेत्राधिकारभित्रको कुरा हो ।’ 

हाम्रो तर्क छ, ‘स्थानीय तह निर्वाचनबाट हामी (जनप्रतिधि) निर्वाचित भएर आइसकेका छौं । स्थानीय तह अधिकारसम्पन्न छ । त्यत्तिकै स्वायत्त छ । संविधानले त्यही परिकल्पना गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले पनि त्यही बोलेको छ । त्यतिले मात्रै नपुगेर मन्त्रालयले कामकाजका लागि नमुना कानुन बनाएर पठाएको थियो । नगरसभाले त्यसलाई आवश्यक संशोधनसहित जारी गरेको नगर कार्यविभाजन नियमावली–२०७४ छ । त्यहाँ पनि प्रस्ट उल्लेख छ । त्यसको परिच्छेद ५ र ५ कै ‘च’ र ‘छ’ मा स्थानीयस्तरका धार्मिक तथा पर्यटकीयस्थलको सम्बद्र्धन, प्रवद्र्धन, व्यवस्थापन र प्रचार–प्रसार र गर्ने अधिकार नगरपालिकालाई दिइएको छ ।’

प्रजिअज्यू  तपाईंले त्यसको व्यवस्थाको बेवास्ता गर्नुभएको छ । मैले तपाईंलाई अनुरोध गरेको छु, ‘तपाईं हाम्रो अभिभावक हो । जिप्रका भनेको सम्मानित संस्था हो । यो सम्मानित संस्थामात्रै नभएर जिल्लावासीका भावना र एकताको प्रतीक हो । तसर्थ, तपाईं सबैको साझा भएर बस्नुहोला । धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने हलेसीमा चलखेल नगर्नुहोला । यसले राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत असर पार्छ ।’

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख आम्दानी स्रोत भनेको हलेसी नै हो । यसलाई प्रदेश १ लगायत नेपालको प्रमुख पर्यटकीय धार्मिक आकर्षणको केन्द्र बनाउन लागिपरेका छौं । राष्ट्रनिर्माणको जीवनमा समेत महत्वपूर्ण योगदान पु¥याउने ठाउँमा सानातिना समूहबाट परिचालित भई हस्तक्षेप नगर्न तपाईंलाई आग्रह गर्छु । तपाईंले आफ्नो निर्णय सच्याउनुपर्छ । हामी हस्तक्षेप सहने पक्षमा छैनौं । हामीले हाम्रो क्षेत्राधिकारभित्र रहेर कार्यसम्पादन गरेका छौं । हाम्रो क्षेत्राधिकारभित्र नपर्ने भए गुठी संस्थान, जिप्रका र मालपोत कार्यालयले मन्दिर व्यवस्थापन नयाँ कार्यसमिति गठनका लागि हामीलाई पत्राचार किन गरियो ? तपाईंले दलको दबाबमा परेर राजनीतिक चलखेल गरेकै हो । यसले तपाईंलाई व्यक्तिगत रूपमा मात्रै नभएर, समग्रमा कसैलाई फाइदा गर्दैन ।

नगरपालिकाले सर्वसम्मत गरेको निर्णयको समीक्षा गर्न हामी तयार छैनौं । अहिलेको नगरपालिका अधिकारसम्पन्न छ । त्यहाँ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिकल्पना गरिएको छ । त्यहाँ राज्यका सबै अंग छन् । विधि र प्रक्रियापूर्वक गरिएका निर्णय समीक्षा गर्न थालियो भने भोलि गरिने काम प्रभावित हुन्छ । देशैभरिका स्थानीय तहमा प्रभाव पर्छ । तसर्थ, नगरपालिकाको सम्मानका लागि पनि हामीले गरेको निर्णय समीक्षा गर्ने पक्षमा छैनौं ।

द्वन्द्व चर्कंदै गएपछि नगरपालिकाले नयाँ कार्यसमितिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यले मन्दिर व्यवस्थापन समिति कार्यालयमा तालाबन्दी गरेको छ । सुरक्षाकर्मीले समेत सुरक्षा दिँदै आएका छन् । 

मन्दिरजस्तो संवेदनशील ठाउँमा न पार्टी हुन्छ, न जाति हुन्छ न त धर्म नै । त्रिधार्मिकस्थल हलेसीमा तपाईंले चलखेल गर्नुभयो । नगरपालिकाले सर्वसम्मत गरेको निर्णय लत्याउँदै तपाईले कतिपयको भूमिका हेरफेर गर्नुभयो । तपाईंले हेरफेर गरेर पठाउनुभएकामध्ये अध्यक्ष हर्कराज राई, कोषाध्यक्ष रमिला बस्नेत र थामबहादुर राई, भूपेन्द्र राईलगायत तीन सदस्यले जिल्ला प्रशासन कार्यालयले आफूखुसी सिफारिस गरेकाले उक्त समितिमा रहेर काम गर्न नसक्ने भन्दै प्रेस विज्ञप्तिसमेत निकालेका थिए । अब भन्नुहोस् तपाईंले कत्तिको समन्वय गरेर मन्दिर व्यवस्थापन समितिको हितमा काम गर्नुभयो होला । यो त लाजमर्दो भयो नि ।

मैले तपाईंलाई पटक–पटक भनेको छु, ‘निर्वाचित संस्थालाई सहयोग गरेर सहयोगी भूमिका निर्वाह गर्ने दायित्व कर्मचारीको हो । आफ्नो क्षेत्राधिकार बुझ्न अनुरोध गर्छु । तपाईंको खोटाङ आगमनसँगै काँग्रेसप्रति आस्था राख्ने कर्मचारी र जनप्रतिनिधि हेपिएका छन् । प्रजिअज्यू तपाईं सुधारिनुपर्छ । हाम्रो संयम र भद्रतालाई कम आँक्दै त्यस्तो गतिविधि गर्दै जानुभयो भने तपाईंले ठूलो क्षति बेहोर्नुपर्नेछ । 

मैले पटक–पटक भनेको छु, ‘हामी जनताका प्रतिनिधि हौं, हामी असफल हुँदा तपाईं पनि असफल हुनुहुन्छ । हामी राजनीतिक परिवारबाट आएका हौं । राजनीतिक संस्कारबाट हुर्केका हौं । हाम्रो परिवार राजनीतिक संस्कारबाट दीक्षित भएको छ । हामीलाई थाहा छ, कतिपय अवस्थामा हामी सम्मानित हुन्छौं । कतिपय ठाउँमा अपमानित हुन्छौं । सम्मानित हुँदा मात्तिँदैनौं । अपमानित हुँदा आत्तिँदैनौ । राजनीतिक संस्कारमा यदाकदा यस्तो हुन्छ ।’

प्रमुख जिल्ला अधिकारीको परिवार भनेको राजनीतिक संस्कारबाट दीक्षित होइन । तपाईंले जनप्रतिनिधिलाई कमजोर बनाउने काम थाल्नुभएको छ, त्यसले पक्कै राम्रो गर्दैन । यही कुकृत्य गर्दै जानुभयो भने तपाईं पनि कुनै दिन अपमानित हुनुपर्ला । त्यतिबेला तपाईंको परिवारलाई अतुलनीय क्षति पुग्न सक्छ । भलै त्यस्तो अवस्था नआओस् । 

प्रजिअज्यू, जनभावनाविपरीत काम गर्दा राजसंस्थासमेत ढलेको दृष्टान्त हामीमाझ जगजाहेर छ । जनभावनाविपरीत काम गर्नेलाई हलेसी तुवाचुङ नगरपालिकावासीले क्षमा दिने छैनन् ।  

(लेखक, हलेसी तुवाचुङ नगरपालिका मेयर हुनुहुन्छ ।)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप