शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘युवापुस्तालाई हृदयघातको खतरा’

शनिबार, १३ असोज २०७५, ११ : ५६
शनिबार, १३ असोज २०७५

विश्व मुटु महासंघका अनुसार मुटुरोगबाट विश्वमा वर्षेनी १ करोड ७० लाख मानिसको मृत्यु हुन्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा विकासोन्मुख देशका विपन्न नागरिक पर्छ्रन् । विश्व स्वास्थ्य संगठनले त सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने चेतावनी दिएको छ ।

नेपालमा पनि मुटु रोगीको संख्या दिनानुदिन बढ्दो छ । बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तथ्याङकलाई हेर्ने हो भने वर्षेनी २० प्रतिशतको हाराहारीमा मुटु रोगीहरु बढ्दै गएका छन् । 

शनिबार परेको ‘विश्व मुटु दिवस’को अवसर पारेर नेपालमा मुटु रोगीको अवस्था, उपचार, रोकथाम, सरकारको सहयोग,चुनौती लगायतको विषयमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्मासँग रातोपाटीकी स्वास्थ्य संवादाता अञ्जु तामाङले गरेको कुराकानीको सम्पादित अंशः

विश्व मुटु दिवसको अवसरमा कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?
यो वर्ष शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको संयोजकत्वमा कार्यक्रम भइरहेको छ । २१ वटा विभिन्न संघसंस्थाको सहकार्य र सहयोगमा ‘मुटु दिवस’ दिवस मनाउन लागेका छौँ ।  यो वर्षको नारा ‘हाम्रो प्रण ,स्वस्थ मुटु’ रहेको छ । ‘स्वस्थ खाना र शारीरिक व्यायाम स्वस्थ र मुटुको लागि राम्रो’ भनेर यो वर्ष विश्व मुटु महासंघले आफ्नो कुरा स्पष्ट रुपमा जानकारी गराएको छ ।

 यो वर्ष बालबालिकालाई सक्रिय बनाउँ भन्ने विषयलाई पनि महत्व दिइएको छ । विश्व मुटु महासंघको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा १ करोड ७० लाख मानिसको मृत्यु मुटु सम्बन्धी विभिन्न रोग बाट हुने गरेको छ । यसको प्रमुख कारण अस्वस्थ जीवनशैलीनै हो । 

कस्तो जीवनशैलीलाई अस्वस्थ भन्ने ? 
साधारण एउटा उदाहरण दिन्छु । मैले दैनिक नोट गरेको कुरा सार्वजनिक सवारी साधनमा चढ्ने मान्छेहरु कोही पनि स्टपमा झर्न चाहँदैनन् । जहाँ उनीहरुलाई झर्नुपर्ने हो त्यहीँ झर्छन् । भन्न खोजेको दुई पाइला पनि हिँड्न चाहँदैनन् । स्टपको कुनै पनि मतलब गर्दैनन् । घरकै ढोका अगाडि आर्लिन खोज्छन् । लिफ्ट देख्न साथ मान्छेले हिँड्ने सिडी प्रयोग गर्दैनन्, यो वर्ष मुटु दिवसको अवसरमा नागरिकलाई लिफ्ट भन्दा पनि भ¥याङ अर्थात सिडी धेरै प्रयोग गरौँ पनि भनिएको छ । मुटुलाई स्वस्थ राख्नको लागि दिनमा ३० मिनेट  र हप्ताको ५ दिन एक्सरसाइज गरे पुग्छ भनिएको छ । तर त्यति गर्न पनि हामीलाई समय छैन । हिँड्दा, घरको काम गर्दा र नाच्दा पनि मुटुलाई स्वस्थ हुन्छ ।

 अर्काे कुरा विश्व मुटु महासंघले पनि आफ्नै घरमा पकाएको खानेकुरा खानु भनिएको छ । नेपालको हकमा दाल, भात नै स्वस्थ खाना हो । घरमै पकाएर खाने खानेकुराको धेरै महत्व भएपनि हामी त्यस्तो खानेकुरा खान छाडेर रेडिमेट खानातिर बढी ध्यान दिइरहेका छौँ । 

बाहिरको खानाले मुटुलाई अस्वस्थ बनाउँछ । त्यो पनि अस्वस्थ जीवनशैलीको एउटा पाटो हो । 

पछिल्लो समय मानिस परिश्रम कम गर्ने भएका छन् । त्यसले गर्दा पनि हाम्रो साउथ एसियन जिङ जुन छ, त्यसमा यसै पनि मधुमेह, मुटु सम्बन्धी रोग लाग्ने सम्भावना धेरै रहेको छ । पहिला हामीलाई रोग लाग्नबाट कसरी बचाइरहेको थियो भने हाम्रो खानपान राम्रो थियो । परिश्रम गथ्र्याै, कृषक थियौँ । हामी अहिले काम गर्न रुचाउदैनौँ । हाम्रो बालबालिकाहरु घरमा टिभी मोबाइल हेरेर बस्छन्, बजारमा पाइने प्याकेटको विभिन्न खानेकुराहरु खान्छन् । 

जन्मजात रुपपै कतिपय बच्चामा मुटुको समस्या देखिने गरेको छ, यसको कारण के हुनसक्छ ? 
पहिला यसको उपचार नेपालमा सम्भव नहुँदा के भएको हो भन्ने नै थाहा हुन्थेन । नेपालमा १० वर्ष पहिला अस्पताल आउँदा अप्रेशननै गर्न सक्ने अवस्था बिरामीमा थिएन । खुसीको कुरा, अब स्वास्थ्यको पहुँच गाउँ÷गाउँमा पुगेको छ । समयमै उपचार गराउन अस्पताल आउँछन् । 

पछिल्लो समय मुटुको बिरामी भएको बालबालिकाको संख्या पनि बढ्न थालेको छ । पहिला अप्रेशन गर्न नपाएका त्यस्ता बालबालिकाहरुको पनि हामीले धेरैको उपचार गरिसकेका छौँ । 
जन्मजात मुटुरोगी हुनुको कारण अहिलेसम्म यहीनै हो भनेर पत्ता लगाउन सकिएको छैन । तर दुई चारवटा कुरालाई हेर्न सकिन्छ । 

जस्तै आमाले गर्भावस्थामा मद्यपान, धुमपान गरेमा, गर्भवती अवस्थामा आमालाई नराम्रो खालको भाइरल इन्फेक्सन भएमा अथवा जन्मजता पनि कतिपय रोगहरु आउँछन् । यी कारणले गर्दा गर्भावस्थामा मुटुको भागहरु बन्न नसक्ने र उल्टो रगतनली हुने, कसैको मुटुमा प्वाँल पर्ने भएर जन्मिने हो ।  

  मुटुमा पनि कस्तो प्रकारको समस्या बढी छन् ?
हामीसँग भएको १० वर्षको तथ्याङ्कलाई हेर्ने हो भने पहिला बाथ मुटुरोगीहरु धेरै हुन्थे ।  

अहिले मुख्यतः मुटुको रगतको नली ब्लक भएर, हृदयघात भएर आउने बिरामीहरुको संख्या बढ्दो छ ।

 सी.सी.यू, एमआईसीयू र वार्डको तथ्याङक हेर्ने हो भने ५० प्रतिशत भन्दा बढी मुटुको रगतको नली ब्लक भएका बिरामीहरु धेरै रहेका छन् ।

 विश्व मुटु महासंघले सबै मुटु रोगीको सवालमा कुरा गरीरहेको छ तर बढी फोकस मुटुको रगतको नली ब्लक हुने विषयलाई दिइरहेको छ । किनभने यो स्थिति भयावह बन्दै गइरहेको छ । 

अहिले मुटुको रगतको नली ब्लक भएर आउनेको संख्या बढ्दै गइरहेको छ । शरीरमा सप्लाई गर्ने रगतको नली ब्लक भएर रगत संचालनमा कमी हुन जादा मस्लिष्कको घात र हृदयघात हुने सम्भावना हुन्छ । ६० देखि ७० प्रतिशत हृदयघात मुटुसम्बन्धी छ भने बाकी बिरामी मस्तिष्कको घातमा पर्न जान्छ ।

यस्ता समस्या विभिन्न कारणले हुन्छ । उमेर बढ्दै जानु, शरीरको अङ्गहरु कमजोर हुँदै जानु र रगतको नली केही न केही मात्रामा साधुरिँदै जानुलाई कारण मान्न सकिन्छ । यद्यपी यो मात्रै सबै कारण होइन । कुनै मान्छे चुरोट खान्छ भने त्यसमा प्लस हुन्छ । चुरोट खाने मान्छेलाई यस्ता समस्या बढी हुन्छ । चुरोट व्यक्तिले खान छोडेको छ भने ऊ सामान्य अवस्थामा पुग्न कम्तीमा पनि १५ वर्ष लाग्छ भनेपछि धुम्रपानले हाम्रो शरीरमा कति असर गर्छ भन्ने कुरा यहाँबाट पनि बुझ्न सकिन्छ ।

पछिल्लो समय युवा उमेर समूहका व्यक्तिलाई हृदयघात बढी देखिएको छ ।  विकसित राष्ट्रमा ६०÷७० वर्ष उमेर कटेको मानिसमा यस्तो समस्या देखिन्छ । नेपालको तथ्याङक केलाउने हो भने ४० देखि ५० वर्ष उमेरको र कतिपयत ३० वर्षमा पनि भएको देखिन्छ ।

 महिलाको पुरुषको कुरा गर्ने हो भने महिलामा महिनावारी रोकिए पछि समस्या देखिन्छ । तर महिनावारी हुनु अगाडि महिलाहरुलाई हृदयघात हुने सम्भावना कम हुन्छ ।

मुटुमा देखिने अन्य समस्याहरु कुनु–कुन हुन् ?
३ देखि ४ वटा समूहमा विभाजन गर्न सकिन्छ । पहिलो, मुटुको नली ब्लक भएर हुने भयो । दोस्रो,  बाथ मुटु रोग पनि देखिएको छ । आजसम्म ४० प्रतिशत बाथ मुटुरोगीहरु रहेका छन् । 

बाथ मुटुरोगको समस्या विकसित राष्ट्रमा छैन् । भएपनि कम छ ।   तर हाम्रो जस्ता देशमा अझैँ पनि बाथको कारण मुटुको भल्ब बिग्रने समस्यालाई बाथ मुटुरोग भन्दै आइरहेका छौँ । त्यो अझै पनि छ । 
तेस्रो, जन्मजात मुटुमा प्वाल हुने, रगतका नली बाङ्गो हुने विभिन्न किसिमका समूहरु हुन सक्छन् । उमेरसँगै मुटुको भल्बहरु बिग्रदै जाने, साँघुरो हुँदै जाने र लिक हुनेसम्महुन्छ । यो चाहिँ उमेरसँग भरपर्ने हुन्छ । यसबाहेक मुटुको नलीहरु फुल्लिने तथा फुट्ने समस्या पनि रहेको छ । 

बिरामीहरुको सेवामा पहुँच कस्तो देख्नु भएको छ ?
व्यक्तिगत रुपमा म सेवामा सन्तुष्ट छैन । जति हुनुपर्ने हो त्यति सन्तोषजनक काम हुन सकेको छैन । म यही क्षेत्रमा काम गर्ने व्यक्ति भएको कारणले नेपाली नागरिकमा उपचारको पहुँच जति हुनुपर्ने हो त्यति भएको पाउँदिन ।

 त्यसको विभिन्न कारणहरु छन् एउटा स्वास्थ्य क्षेत्रमा मुटुसम्बन्धी जति जनशक्ति हुनुपर्ने हो त्यती छैन । दोस्रो गाउँ÷गाउँमा सेवा दिन स्रोत साधननै छैन् । तेस्रो कुरा पैसाको पनि कुरा आउछ । आजको दिनमा बजेट हेर्नुहुन्छ भने स्वास्थ्य मन्त्रालयको बजेट घट्दो छ । यो क्षेत्रमा  सरकारको सोच पनि पुगेको छैन ।  

मुटु स्वास्थ्यको क्षेत्रमा गंगालालले धेरैको संख्यामा सेवा दिँदै आइरहेको छ, अहिलेको समस्या र चुनौति के छ ?
गंगालाललाई यही फरम्याटमा अगाडी बढाउन गाह्रो हुनेवाला छ । हामीले प्रत्येक वर्ष १८ सय भन्दा धेरै ओपन हार्ट सजरी गर्छाैँ । यो ठूलो संख्या हो । 
वर्षमा ३ सय ५० सर्जरी गर्नेलाई स्टान्डर मानिन्छ । हामी ६ गुणा बढी काम गर्छाैं। हामीसँग स्रोत साधन, जतिपनि जनशक्ति उत्पादन गर्न सक्ने क्षमता छ । तर गंगालाललाई जनशक्ति उत्पादन गर्ने अधिकार सरकारले दिएको छैन । गंगालालाई प्रतिष्ठान बनाइए मुटु स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति जति पनि उत्पादन गर्न सक्छौँ भन्दै आइरहेका छौँ । सरकारले अहिले मुटु स्वास्थ्यको सातै प्रदेशमा ७ वटा शाखा संचालन गर्ने भने पनि हामीसँग जनशक्ति छैन । जनशक्ति नभएकै कारण जनकपुर अञ्चल अस्पतालमा आईसीयू बनाएर ५ वर्षसम्म थन्काएर राखिएको  थियो ।  जनशक्ति नुहुने हो भने केही पनि काम छैन । गंगालालाई प्रतिष्ठान बनाउने र जनशक्ति उत्पादनमा पनि लाग्ने कुरा अहिले तुहिएर बसेको छ । 

यसको जिम्मा हामीलाई दिनुस् भनेर मैले सरकारसँग पटकपटक अनुरोध गरेको छु  । हामीलाई जिम्मा दिइयो भने देशमा मुटु स्वास्थ्यको सेवा यसरी बिस्तार गर्न सकिन्छ भन्ने बारेमा नीति नियम बनाउने कुरामा सहयोग गर्न तयार छौँ । 

मुटु रोगीलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था पनि गरेको छ, यो कतिको प्रभावकारी रहेको पाउनु भएको छ ?
जतिपनि मुटुरोगसम्बन्धी निःशुल्क कार्यक्रमहरु रहेका छन् त्यसले जनतालाई ठूलो राहत प्रदान गरेको छ । यसैगरी सरकारले रोगै लाग्न नदिने उपायतिर पनि ध्यान दिन जरुरी छ। 

१५ वर्ष पहिला बालबालिकाको ओपनहार्ट सर्जरी गर्न कमजोर आर्थिक अवस्था भएका नागरिकलाई निकै असहज थियो । 

अहिलेको सरकारको कार्यक्रमले केही राहत भएको छ । अहिले सरकारले १५ वर्ष मुनिको बालबालिकाको उपचार गर्न पैसा दिँदै आइरहेको छ । जसले गर्दा जनतालाई ठूलो राहात भएको छ । एउटा ओपनहार्ट सर्जरी गर्न कम्तीमा पनि २ लाख ५० हजार लाग्छ । सर्वसाधरणले आजको दिनमा त्यति पैसा ल्याउन सक्ने अवस्था छैन । 

त्यस्तै ७५ वर्ष भन्दा माथिको बृद्धबृद्धालाई पनि मुटु सम्बन्धी उपचारमा निःशुल्क गरेपछि धेरै सजिलो भएको छ । 

विपन्न नागरिकको एक लाखले पनि धेरै सहयोग गरेको छ । अहिले बाथ मुटु रोगीहरुलाई यही पैसाबाट उपचार गर्न सकिन्छ । 

जतिपनि निःशुल्क कार्यक्रमहरु संचालन गरिएको छ जस्तो विपन्न नागरिक उपचार कोष सरकारबाट आएको हो भने १५ वर्ष मुनिका र ७५ वर्ष माथिको नागरिकको निशुल्क उपचारको बारेमा हामीले पहल गरेर ल्याएको कार्यक्रम हो । यो सेवा सुविधाले जनतालाई पूर्ण रुपमा फाइदा भएको छ । गंगालालले यी कार्यक्रम प्रभावकारी ढंगले संचालन गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप