केन्द्रीय संस्करण

पण्डित हरिपाध्ये र हाम्रा क्रान्तिकारी गृहमन्त्री बादल

person access_timeअसोज १३, २०७५ chat_bubble_outline0

    भनिन्छ, पुरेतहरु धर्मतुम्बी हुन्छन् तर धार्मिक हुँदैनन् ।  आफैँ पुरेत भएर पनि पुरेतहरु पुरेतद्वेषी हुन्छन् । रिसाहा हुन्छन् । आन्तरिक रुपमा हिंसक पनि हुन्छन् । 

आर्थिक मामिलामा विश्वसनीय हुँदैनन् । कुनै पुरेत आत्मप्रशंसक हुन्छन्  । कुनै पेशाप्रशंसक हुन्छन् । कुनै अतीत प्रशंसक हुन्छन् । कुनै निरन्तर चिन्तित हुन्छन् ।
 कुनै सदाबहार हँसमुख पनि हुन्छन् । जे जस्ता भए पनि पुरेतहरु लोभी हुन्छन् । लोभबाटै परिचालित रहन्छन् । 

मध्यम कदका खिरिला र खाइलाग्दा अनुहारका पण्डित हरिपाध्ये पनि अरु पुरेतजस्तै  मूल रुपमा पुरेत्याइँ गर्थे । आक्कलझुक्कल सप्ताह भन्थे । भ्याएपाएसम्म गरुडपुराण पनि भन्थे । विभिन्न लेखापढी गर्थे । मौका मिलाएर स्थानीय राजनीति समेत गर्थे ।  

उनका जे जति जजमान थिए, हुनेखाने मात्र थिए । गाउँबस्तीमा गरीब त जति पनि थिए तिनीहरु हरिपाध्येलाई पुरेत पुज्ने आँट गर्दैनथे । हरिपाध्ये त्यस जमानाका नामुद रकमी लेखन्दास समेत थिए ।

 जिल्लाका कानुन जानेका मानिसमध्येमा उनको गन्ती हुन्थ्यो । जिम्वाल मुखियाहरु पनि उनीसँग डराउँथे । पञ्चायत शुरु भएपछि एक पटक उनी गाउँको प्रधानपन्च पनि भए । 
  

 हरिपाध्येका केही विशेषताहरु थिए । हरिपाध्ये जे गर्थे त्यसको विरोधका साथ गर्थे । उछितो काढेर कर्मकाण्डको टिप्पणी गर्थे अनि कर्मकाण्ड सम्पादन गर्थे ।

 जजमानकोमा पुरेत्याइँ गर्न जाँदा उनी प्रथमतः पुरेत्याइँको बदख्वाइँ गर्थे । उनी भन्थे, ‘‘पुरेतहरु लोभी हुन्छन् । मनमनै दक्षिणाको हिसाव गरिरहन्छन् । जजमानले सर्वस्व दिए पनि हात थाप्छन् । लिन्न भन्दैनन् । पुरेतहरु पापी पनि हुन्छन्, मौका पर्दा विभिन्न अनाचार गर्न पनि पछि पर्दैनन् ।  धेरै जसो पुरेत विद्वान् हुँदैनन् । वचन मिलाएर पुरेत काम गर्न पनि जान्दैनन् । पुरेतहरु फोहरी हुन्छन् । राम्रोसित नङ् पनि काट्दैनन् । पुरेतहरु अविश्वसनीय हुन्छन् बेइमान हुन्छन् । चाप्लुस हुन्छन् । सत्य बोल्न सक्दैनन् । जजमानकाबीच विवाद पर्दा कुनै एक चिढिएला भन्ने डरले पुरेतहरु जहिले पनि दोधारे कुरा गर्छन् । पुरेतहरु खप्पिस रकमी हुन्छन् । पुरेतहरु शोषक सामन्तका मतियार पनि हुन्, । अझ गाँठी कुरा के पनि छ भने पुरेतहरु सम्वेदनहीन हुन्छन् । यस सम्बन्धमा एउटा पुरानै प्रसङ्ग पनि छ । एक पटक बस्तीबाहिर मुल बाटोबाट काँधमा सिधाको पोको राखेर एक जना पुरेत घर फर्कँदै थियो । जजमानको घरतिर सोझिँदैको अर्को पुरेत टुप्लुक्क भेटियो । दुबै भलाकुसारीमा उभिए । एक जनाले अलिपर मरनघाटमा शवदाह भइराखेको देख्यो । झसक्क झस्कँदै त्यसले भन्यो, ‘त्यता हेर त ! तिमीलाई चण्डी पाठ गर्न बोलाका पनि थिएनन्, मलाई गजेन्द्रमोक्ष पाठ गर्न बोलाका पनि थिएनन् । गाउँमा त्यसै त्यत्तिकै को मरेछ हँ ? कसरी त्यहाँ शवदाह गर्दैछन् !’ 

यस्तो हुन्छ पुरेतको मानसिकता । ‘न त्वया पठिता चण्डी न मया गजमोक्षकम् । ग्रामस्य दक्षिणे भागे कथम् धूमायते चिता ?’ गज्जब छैन त यो प्रसङ्ग ?’’ कुराको बिट मार्ने क्रममा उनी भन्थे, ‘यसै भएर मलाई पुरेत काम गर्न मन लाग्दैन । मलाई पुरेत प्रवृत्ति नै मन पर्दैन । क्रमशः छोड्दै आएको छु । मैले चाहेको भए यो सातै गाउँ मेरै जजमान हुन्थे । साथी संगाती हुनाको कारण नाइँ भन्न नसकेर कसैकसैकहाँ जाँदैछु । जस्तै तिमीकहाँ आएको छु । छोड्न सकेको छैन । मलाई पुरेत्याइँमा रुचि चाहिँ छैन ।’ 
  

 हरि पाध्येका कुरा सुनेर प्रायः जजमान मक्ख पर्थे । यिनी ठूला मान्छे, सिधा बटुलेर खानुपर्ने हैसियतका मान्छे होइनन् । धन्न मकहाँ आएका छन् भनी ठान्थ्यो श्रोता जजमान । फलतः श्रीमतीलाई भनेर सिधा राम्रो रखाउँथ्यो । खानामा राम्रो ताजा घिउ, एक राते दही, त्यस्तै दाल तरकारी, मसिनाको भुजा व्यवस्था गथ्र्यो । दक्षिणा पनि मनग्गे दिन्थ्यो । काम सकिएपछि हरिपाध्येको पछि लागेर सिधा पु¥याउन उसको घरसम्म जान्थ्यो । 

यसरी गाउँबस्तीका हुनेखाने जजमानहरु हरिपाध्येसँग पटिन्थे । हरिपाध्ये लेखापढी र रकम कलमको काम गर्दा पनि ती कामको कमी कमजोरी उधिन्थ्यो र सेवाग्राहीका अगाडि उदार, इमानदार र सच्चा जनसेवी देखिन्थ्यो । 

परिबन्द मिलाएर जिप्ट्याउने कुरामा उ कम्ताको थिएन तर पनि उ असल व्यक्तिको भ्रम दिन सक्थ्यो । उ जे गथ्र्यो भ्रमजालको आधारमा गथ्र्यो । समस्त भ्रमजाललाई चतु¥याइँले ढाकेर बडो कुशलतापूर्वक आफ्नो काम तमाम गथ्र्यो । 

मलाई लाग्छ उ खप्पीस पुरेत थियो । आजको राजनीतिक भाषामा उ क्रान्तिकाारी पुरेत थियो ।

    पञ्चायतकालमा पञ्चहरु सरदर पुरेतै थिए । तिनको राजनीति एक किसिमको पुरेत्याइँ नै थियो । सूर्यबहादुर थापाजस्ता कतिपय मुलपण्डाकाँटका खप्पिस अतिपञ्च पुरेत पात्रलाई छोडेर बाँकी पन्चहरु मखुण्डी पुरेत थिए । कति स्थानीय पञ्च त लहैलहै कुदानका पुरेत पनि थिए । 

नेपाली राजनीतिमा सक्कली पुरेतहरुको उदय ०४६ सालपछि भएको हो । ०६३ पछि नेपालको राजनीतिमा पुरेतप्रवृत्तिले अझ पराकाष्टा नै छोयो । शायद यो पनि एउटा क्रान्तिकारी परिवर्तन नै थियो ।
    पुरेतहरुको विचारसंहिता आचारसंहिता सैद्धान्तिक ग्रन्थ, र पथप्रदर्शिका जे भने पनि गरुडपुराणको प्रेतकल्प नै हो । त्यसको वाचनले जजमानहरुमा पुरेत मनोनुकूल  मनोभूमि निर्माणको काम गर्छ । 
नेपालको राजनीतिमा दलका घोषणापत्र र भाषणहरुले मतदाताहरुको मनोभूमि निर्माण गर्छन् । भविष्यको स्वर्गकामनामा वर्तमान खरानी बनाउन उद्यत गराउने दलका घोषणापत्र र नेताका भाषणहरु ग्राहक मनोभूमि निर्माणका लागि प्रेतकल्पभन्दा पनि प्रभावकारी छन् । 

प्रेतकल्प भौमिक जीवनको शास्त्र होइन । त्यो त मरेर मात्र पुगिने स्वर्गको शास्त्र हो, सपनाको शास्त्र हो । ०४६ पछिका तीसवटा वर्षहरुको फुक्काफाल दगुराईमा नेपाली  राजनीतिभित्र यस्तै शास्त्रको प्रभाव विशेष अग्रगामी रहेको छ । राजनीतिक प्रेतकल्पकै प्रभाव सर्वोपरि रहेको छ । सम्वेदनहीन पुरेतहरुकै नेतृत्व सर्वग्रासी रहेको छ ।

    राजनीति गर्नेहरुका विभिन्न दलबद्ध संगठनहरु छन् । संगठनहरुबीच एकता देखिँदैन । मिलिजुली खाने पचाउने विधामा अनेकता पनि छैन । पुरेतहरुका संगठन छैनन् । आपसमा मेल पनि छैन । एक पुरेतले अर्को पुरेतको पक्षपोषण कहिल्यै गर्दैन । भ्याएपाएसम्म विरोध नै गर्छ । तर पनि जब पुरेत व्यवसायमाथि नै कतैबाट प्रश्न उठ्छ त्यतिबेला संसारभरका पुरेतहरु प्रतिकारमा एकमुख हुन्छन् । यो खास पुरेतहरुको चारित्रिक विशेषता हो । यो नेपालका सत्तासीन र प्रतिपक्षी राजनेताहरुको पनि विशेषता हो ।

    हामी महाकाली सन्धिकालमा सन्धिका पक्षपोषक राजनेताहरुका स्वप्नजालमय भाषण सम्झाैं । पहिले र दोस्रो संविधानसभाकालका राजनेताहरुका स्वप्नवर्षी भाषणहरु सम्झौं । नेता उपनेताहरुका एकएक क्रियाकलाप सम्झौं । सरकार सञ्चालनहरु सम्झौं । 

संविधान निर्माणका सन्दर्भमा सुझावदाता जनताको अवमूल्यन मानमर्दन र त्यसपछिको नाकाबन्दीलाई सम्झौं । 

राष्ट्रिय ढुकुटीलाई खानपान र दानदक्षिणाको पेटारो बनाएका तीसवर्षे घटनावलीलाई सम्झौं । शेरबहादुर देउवाका पछिल्लो गतिछाडा कार्यकाललाई सम्झौं ।

 नयाँ सरकार गठनमा प्रायोजित शैलीमा सृजित ढिलाइलाई र गठनकालको आत्तुरीलाई पनि सम्झौं । योगदिवसहरुमा सत्तासीनहरुले अपनाएका लम्पसारयोगलाई सम्झौँ ।

 ०४५सालदेदेखि हालसम्म मुलुकको  हरेक क्षेत्रमा राजनीतिकरणको सलहढाक सखापीलाई सम्झौं । अनि यी सबै कर्मकाण्डहरुमा यथासमय लागि परिआएका राजनीतिक पुरेतहरुलाई सम्झौं । 

हामी क्रमशः पुरेतप्रवृत्ति के रहेछ त्यसको संवेदनागत अन्तर्य केलाउने सूत्र भेट्न थाल्छौं । भोलि के होला हाम्रो आजसम्मको राजनीतिक सांस्कृतिक उपलब्धि भने यत्ति नै रहेको देखिन्छ  ।

    पूँजीवादका सारथी बनेका व्यक्तिबाटै पूँजीवादको आलोचना सुन्दा राजनीति सचेत श्रोतालाई कस्तो लाग्छ ? एक किसिमको रमाइलो लाग्छ । कतिलार्ई त श्रव्यदृश्यमा अनुदित सुन्दर प्रहसन नै लाग्छ । 

वर्तमानको धुरी चढेर कुर्लेका अपराध जति सबै पूँजीवादकै करामात हो भन्ने अभिप्राय समेटेर माननीय गृहमन्त्री रामबहादुर थापा बादलज्युले हालै दिनुभएको सिद्धान्तमय भाषण सुन्दा मलाईचाहिँ  पुरेत्याइँको आलोचना गरिबस्ने र पुरेत्याइँमै लिप्त रहने खप्पिस पुरेत हरिपाध्येको सम्झना आयो । 

उनले भट्ट्याउने प्रेतकल्पको सम्झना आयो । यसै त नेताहरुका हरेक बोली र क्रियाकलापले पुरेत्याइँको झझल्को त दिन्छ नै । निर्मला पन्तको बलात्कार एवम् हत्याका सन्दर्भमा राज्यव्यवस्था समितिमा हालै माननीय गृहन्त्रीले दिनु भएको पूँजीवादविरुद्धको सैद्धान्तिक भाषणले त खप्पिस पुरेत हरिपाध्येले भट्याएको प्रेतकल्पको झल्झली झझल्को आयो । 

प्रेतकल्पले हरेक घटनाको कारण व्यक्तिको पूर्व जन्मलाई मान्छ । गृहमन्त्रीले कल्पित पूँजीवादलाई मानिदिनु भयो । पूँजीवाद प्रहरीको पकडमा आउँदैन । जसरी पूर्वजन्म व्यक्तिको पकडमा आउँदैन ।

 दाँजेर हेर्दा गृहमन्त्रीज्यूको भाषण नयाँ गरुडपुराणको नयाँ प्रेतकल्प नै हो । दुःखको कुरा, पौराणिक भाषणमा  पुरेतहरु पूँजीवादका चर्कै आलोचक भए पनि व्यवहारमा समाजवादका अभियन्ता हुन भने कहिल्यै सक्दैनन् । 

पुरेतहरुसँग त्यो संस्कार र प्रवृत्ति नै उपलब्ध रहँदैन । पुरेतहरु त सामन्तवादका भरपर्दा पूजारी मात्र हुन सक्छन् । जसरी अद्यावधि भइआएका छन् ।
  

 यहाँनिर हामी जनताको जिज्ञासा र गुनासो एउटै छ —हामीकहाँ सत्तामा पुगेपछि जुनसुकै राजनेता पनि हरिपाध्ये जस्तै जस्तै भ्रमजाल–मठाधीश पुरेतमा रुपान्तरित हुन्छन्, किन ?
    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ