बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

' यो वर्ष एटीआर विमान थपेर अझ स्तरीय सेवा दिने लक्ष्य छ '

शुक्रबार, ०६ साउन २०७४, ११ : ०२
शुक्रबार, ०६ साउन २०७४

नेपालको व्यवसायिक हवाई कम्पनी यति एयरलाइन्सले सन् १९९८ को सेप्टेम्बरमा क्यानडामा बनेको DHC6-300  ट्वीन अटर एयरबाट पहिलो व्यवसायिक उडान शुरु गरेको थियो । त्यसबेलादेखि नियमित उडान गर्दै आएको यति एयरलाइन्स यतिबेला नेपालको ठूलो एयरलाइन्स कम्पनी बन्न सफल भएको छ । सन् २००९ देखि यति एयरलाइन्सले आफ्नो भातृ एयरलाइन्सको रुपमा तारा एयर पनि शूरु गरेको छ । यति र तारा गरी १३ विमानबाट घरेलु उडान गरिरहेको यति एयरलाइन्सले अहिले थप ३ वटा विमान थप्ने योजना बनाएको छ । प्रस्तुत छ, यति एयरलाइन्सका बारेमा कम्पनीका व्यवस्थापक भीमराज राईसँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको यो कुराकानी :  

यति एयरलाइन्सले नयाँ के काम गर्दैछ, जानकारी दिनुस् न ? 
धन्यवाद ! रातोपाटी टिमलाई । यति एयरलाइन्सले यो आर्थिक वर्षभित्र अहिले भएका जहाजका साथै नयाँ एटीआर ७२५०० सिरिजको जहाज ल्याउँदैछौँ, यो चाहिँ नेपालमा भएमध्येको सबैभन्दा योङ्गेस्ट जहाज हो । यो आर्थिक वर्षमा ३ वटा जहाज भित्र्याउने योजना छ । एउटा जहाज चार पाँच दिनभित्र आउँदैछ । एक महिनापछि अर्को ल्याउने योजना छ । त्यसको केही समयपछि अर्को जहाज ल्याई ३ वटा एटीआर जहाज भित्र्याउँदैछौँ हामी । 


अहिले तपाईंहरूको जहाज कति छन्, वार्षिक कति यात्रुले यात्रा गर्छन् ?  
यति एयरलाइन्ससँग ७ वटा जहाज छन् । हाम्रो भातृसंस्था तारा एयरसँग ६ वटा छन् । वार्षिक रूपमा करिब ५ लाख यात्रुले यति एयरलाइन्समा यात्रा गर्नुहुन्छ । तारा एयरमा करिब २ लाख यात्रुले यात्रा गर्नुहुन्छ । वार्षिक ७ लाख यात्रुले यात्रा गर्ने गरेका छन् । 

यति एयरलाइन्सको विशेषता के हो ?  
हामीले सुरक्षालाई एकदमै ध्यान दिएका छौँ । इन्टरनेसनल एयर ट्रान्सपोटेसन कर्पोरेसन आयोटाबाट सेफ्टी अडिट गराएर आयोटाको सर्टिफिकेट पाएका छौैँ । नेपालमा आयोटाको एक मात्र सुरक्षित एयर कम्पनी हामी मात्र हौँ, यति एयर र तारा एयर । यसबाहेक यात्रुहरूको सुविधालाई ध्यान दिएका छौँ । समयमा उडान गर्ने, उहाँहरूलाई फ्रेन्डली, होमली व्यवहार गरेर उहाँहरूको मन जित्ने प्रयासमा छौँ । 

नेपालका सन्दर्भमा घरेलु उडानका चुनौती के छन् ? 
चुनौतीका कुरा गर्दा नेपालमा धेरै चुनौती छन् । भौगोलिक अवस्थितिका कारण पनि चुनौतीहरू छन् । त्यसमाथि नेपालमा काठमाडौँमा मात्रै एउटै रनवे छ । जहाँ एउटै डोमेस्टिक एयरलाइन्सले पनि उडान भरिरहेको हुन्छ, इन्टरनेसलन एयरलाइन्सहरूले पनि यहीँबाट उडान भरिरहेका हुन्छन् । यसले गर्दा एकदमै ट्राफिक जामको समस्या छ । कहिलेकाहीँ त एक घण्टा दुई घण्टासम्म जहाज होल्ड गर्नुपर्ने अवस्था छ । होल्ड गर्दा गर्दै कहिले काहीँ इन्धन सकिन लागेर इमर्जसिङ घोषणा गरेर ल्यान्डिङ गर्नुपर्ने अथवा नजिकको कुनै एयरर्पोटमा गएर ल्यान्ड गरेर रिफ्युलिङ गरेर आउनुपर्ने स्थिति छ । 


ट्राफिक कन्जेक्सन एकदमै छ, जसले गर्दा हाम्रो फ्लाइटको अपरेसन कस्ट हाई हुँदै गइरहेको छ । हाम्रो भौगोलिक कारण पनि अर्को भयो । यहाँको मौसम पनि त्यस्तै छ । मौसमको कारण पनि कतिपय फ्लाइट क्यान्सिल गर्नुपरिरहेको हुन्छ, होल्ड गर्नु परिरहेको हुन्छ । यसले एयरलाइन्सहरूको सञ्चालन खर्च एकदमै उच्च भएर गइरहेको छ । त्योबाहेक अन्य चुनौती पनि छन् । तर चुनौतीका बाबजुद पनि हाम्रा यात्रुवर्गलाई एयरलाइन्सले निर्दिष्ट गरेको समयमा उडाउने प्रयास गरिरहेका छौँ र यो प्रयासमा हामी सफल पनि भएका छौँ । हामीले समयमा फ्लाइट दिन सकिरहेका छौँ । मौसमकै कारणले फ्लाइट रोकियो भने त्यो हाम्रो नियन्त्रण बाहिरको कुरा भयो । सकेसम्म हामीले निर्धारित समयमा फ्लाइट गर्ने कोसिस गरिरहेका छौँ । 
 

नेपालमा बेला बखत हवाई दुर्घटनाहरू हुने गरेका छन् । तपाईंहरूले सुरक्षाका लागि के–कस्ता उपायहरू अवलम्बन गर्नुहुन्छ ? 
हो, यो सत्य हो नेपालमा बेला बखत हवाई दुर्घटनाहरू हुने गरेको देखिन्छ । हवाई दुर्घटना हुनुका विभिन्न कारणहरू छन् । जस्तो अघि पनि भने भौगोलिक अवस्थितिको कारणले गर्दाखेरी, धेरैजस्तो पहाडी क्षेत्रमा उडान गर्ने जहाजहरू दुर्घटनामा पर्ने गरेका छन् । धेरैजसो भौगोलिक अवस्था मौसमका कारणले हुने गरेका छन् । यो दुर्घटना न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरबाटै आईकाओले, आयोटाले पनि विभिन्न प्रेसर दिइरहेका छन् । हामीले कम्पनीका तर्फबाट पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छौँ । वार्षिक रूपमै हामीले सेफ्टि क्याम्पेनहरू सञ्चालन गरिरहेका छौँ । निजी क्षेत्रको हवाई सेवा सञ्चालक सङ्घ आयोनले भर्खरै पनि यस्तो कार्यक्रम गर्यो । वार्षिक रूपमा यस्ता कार्यक्रमहरू पनि गर्दै आएको छ । हामीले आयोटाको सेफ्टी अडिट पनि गर्दै आएका छौँ । यसबाहेक हामीले बेला बेलामा हाम्रा इन्जिनियरलाई, पाइलटलाई आधुनिक तालिम पनि प्रदान गरिरहेका छौँ । विदेशमा लगेर पनि तालिम गराइरहेका छौँ । यति मात्रै नभएर मौसमको एकदमै चुनौती भएको ठाउँमा क्यामेरा जडान गरेका छौँ । तारा एयरले आफ्नै लगानीमा विभिन्न ठाउँका क्यामेरा फिट गरेर राखेको छ, जहाँबाट काठमाडौँमा बसेर त्यहाँको मौसम थाहा पाउन सक्छौँ । अथवा अफिसमा बसेर क्याप्टेनले आफ्नो मोबाइलमा, कम्प्युटरमा हेरर जुन ठाउँमा जान लागेको छ त्यो ठाउँको मौसमको पूर्वजानकारी लिने गर्छ । जस्तो लुक्ला एयरपोर्टको मौसम हामी यहीँ बसीबसी जानकारी लिन सक्छौँ । यस्तै लमजुरा हाम्रो इनरुट छ, त्यहाँको मौसम हामी यहीँ बसीबसी हेर्न सक्छौँ । यस्तै हामीले भद्रपुरको, पोखराको, बिराटनगरको, जोमसोमको हेर्न सक्छौँ । यसैगरी हामीले जोमसोम जाने बाटोमा घोडेपानी साइटमा दुई ठाउँमा मौसम हेर्ने उपकरण राखेका छौँ । हामीले काठमाडौँमा बसेर, पोखरामा बसेर, अफिसमा बसेर मौसमको जानकारी लिइरहेका हुन्छौँ । त्यो मौसम ठीक छ, उपयुक्त छ भने जहाज उढ्छ नत्र उढ्दैन । यो सबै हवाई सुरक्षाकै लागि गरेका हौँ । यसका लागि विभिन्न क्षेत्रमा हामीले लगानी गरेका छौँ । हामी हवाई सुरक्षाका लागि अत्यत्तै संवेदनशील छौँ । हाम्रो कम्पनी, हाम्रो व्यवस्थापन र हामी आफै संवेदनशील भएर लागि परेका छौँ । 


यति एयरलाइन्सको सुरक्षा व्यवस्था मजबुद रहेको पक्षबारे त यहाँले जानकारी दिनुभयो । यसबाहेक यात्रीहरूले यति एयरलाइन्स नै किन रोज्ने ? 
यति एयरलाइन्सले निर्धारित समयमै फ्लाइट गर्छ । हामीले होमली सर्भिस, फ्रेन्डली सर्भिस दिएका छौँ । सर्भिस विथ स्माइल भन्ने थिमका साथ हाम्रा ग्राउन्ड स्टाफ, पाइलट, एयर होस्टेजदेखि लिएर चेक इनदेखि चेक आउटसम्म सम्बद्ध कर्मचारीले मित्रवत व्यवहार गर्छन् । हाम्रा जहाज हवाई सुरक्षा हेर्ने अन्तर्राष्ट्रिय संस्थाहरूबाट हवाई सुरक्षाको सर्टिफिकेट पाइसकेका छौँ । हाम्रा जहाजहरूका ढुक्क भएर यात्रा गर्न आग्रह गर्छु ।  
          
नेपालमा पर्यटन सम्भावना पनि धेरै छन् । त्यसमध्ये हिमशृङ्खलाहरूको दृश्यावलोकन पनि एक हो । नेपालमा माउन्टेन फ्लाइटका लागि विदेशी पनि धेरै आउने गर्छन् । यति एयरलाइन्सले माउन्टेन फ्लाइटको व्यवस्थापन कसरी गरेको छ ? 

पहाडतिर ट्रेकिङ जान नसक्ने धेरैजसो विदेशी पर्यटक माउन्टेन फ्लाइट जाने गर्छन् । हाम्रो यति एयरलाइन्सका जहाजले एकदमै धेरै माउन्टेन फ्लाइट गरेका छन् । हामीले माउन्टेन फ्लाइटलाई फोकस नै गरेका छौँ यसका लागि हाम्रा जहाज पनि अत्यन्तै उपयुक्त छन् । हाम्रो जहाज ब्रिटिस एरोस्पेसको जेट स्ट्रिम जे फोट्टी वन छ, जुन एकदमै अत्याधुनिक छ । यसबाट हामीले माउन्टेन फ्लाइट गरिरहेका छौँ । हाम्रोमा ग्यारेन्टेड विन्डो सिट हुन्छ । यात्रीले आफ्ना झ्यालबाट हेर्न पाउँछन् । तपाईंलाई एउटा जानकारी दिऊँ, सम्भवत नेपालमै प्रथम होला, २५ हजारको फिटमा माउन्टेन फ्लाइटको जहाजमा हिमशृङ्खला हेर्दे स्याम्पेनको चुस्की लिँदै यात्रीहरूले हिमशृङ्खलाको हेर्दै आनन्द लिन सक्नुहुनेछ, आफ्नो रमाइलो यात्रा लिन सक्नुहुनेछ । हामीले माउन्टेन फ्लाइटको आकर्षण बढाउन गम्भीर भएर लागिपरेका छौँ । 

अन्तर्राष्ट्रिय उडान भर्नेबारे यति एयरलाइन्सको के छ योजना ? 
यति एयरलाइन्सले अहिले तुरुन्तै इन्टरनेसनल फ्लाइट गर्ने योजना बनाएको छैन । हामीले अहिलेका लागि डोमेस्टिक फ्लाइटलाई नै मजबुत बनाउने, यात्रुलाई बढीभन्दा बढी सेवा सुविधा दिने हाम्रो उद्देश्य छ र त्यही उद्देश्य परिपूर्ति गर्नका लागि एटीआर सेभेनटी टु फाइभ हन्ड्रेड जहाज हामीले ल्याउँदैछौँ । अहिले हामी यात्रुहरूको सेवा सुविधालाई नै फोकस गरिरहेका छौँ । 

तपाईंहरूलाई जहाज पर्याप्त पुगेको छ कि अरू पनि थप्नुपर्ने आवश्यकता छ ? 
मैले अघि पनि भनेँ अलिकति जहाजको अपर्याप्तता भएका कारण नै हामीले ३ वटा जहाज थप्न लागेका हौँ । त्यो ल्याइसकेपछि बजारको अवस्था कस्तो हुन्छ, त्यहीअनुसार व्यवस्था गर्छौँ । एउटा जहाज त चार पाँच दिनभित्रै ल्यान्ड गर्छ होला । हाम्रा पाइलट, इन्जिनियरहरू जहाज लिन सिङ्गापुर गइसक्नुभएको छ, छिट्टै आउँदैछ । त्यसपछि अर्को जहान एक महिनापछि आउने हामीले आसा गरेका छौँ । त्यसको केही समयपछि अर्को एउटा पनि ल्याउने प्रक्रिया सुरु भएको छ । 

नयाँ आर्थिक वर्ष सुरु भइसकेको छ, यति एयरलाइन्सले यो वर्ष नयाँ केही गर्ने योजना बनाएको छ कि ? 
यो आर्थिक वर्षमा पनि हामीले दिने सेवालाई निरन्तरता दिई नै हाल्छौँ । यसपालिको नयाँ भनेको एटीआर विमान थप्ने, यात्रुहरूको सेवालाई अझ राम्रो गरेर स्तरीय सेवा दिने हाम्रो लक्ष्य त्यही छ । 

यति एयरलाइन्सले ब्यापारबाहेक सामाजिक क्षेत्रमा के–कसरी काम गर्ने गरेको छ ? 


यति एयरलाइन्सले आफ्नो व्यापार मात्र नभएर सामाजिक क्षेत्रमा पनि काम गर्ने कोसिस गरेको छ । हामीले यति एयरलाइन्सको स्थापनाकालदेखि नै हाम्रा व्यवस्थापक म्यानेजिङ डाइरेक्टर, चेयरम्यान, उहाँहरूको इच्छा बमोजिम सामाजिक क्षेत्रमा धेरै योगदान गरेका छौँ । 


नेपालगञ्जमा राप्ती बाढीपीडितलाई हामीले सेवा र सहयोग गरेका छौँ । जाजरकोटमा भएको झाडापखला महामारीका बेला जहाजमा औषधी लगेर वितरण गरेका थियौँ । हामीले विभिन्न ठाउँमा कैलाली, कञ्चनपुर, बर्दिया, डोटी, सोलुखुम्बुलगायतका ठाउँमा करिब एघार बाह्र लाख बिरुवा रोपेका छौँ । 


हामीले वार्षिक रूपमा विभिन्न ४ वटा सामाजिक संस्थाहरूलाई प्रत्येक यात्रुबाट उठेको पैसाबाट ४ रूपियाँको दरले छुट्टाएर वार्षिक रूपमा विभिन्न एनजीओहरूलाई आर्थिक सहयोग गर्दैै आइरहेका छौँ । खुम्बु क्षेत्रमा सरसफाइका लागि त्यहाँका एनजीओसँग मिलेर फोहोरमैला सङ्कलन गरेर काठमाडौँ ल्याइरहेका छौँ । यी र यस्तै हामीले धेरै समाजिक सेवा गरिहेका छौँ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप