शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सफल होला सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना ?

बिहीबार, ११ असोज २०७५, ११ : २५
बिहीबार, ११ असोज २०७५

आज सेप्टेम्बर २७ अर्थात अन्तर्राष्ट्रिय पर्यटन दिवस । विश्वभर नै मनाइँदै गरेको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ । 

उसो त सरकारले आर्थिक समृद्धिको आधारमध्ये पर्यटन क्षेत्रलाई पनि एउटा आधारको रूपमा व्याख्या गर्दै आएको छ । कृषि, पर्यटन, ऊर्जा, उद्योगलगायतका क्षेत्र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने माध्यम हुन् । 

जतिसक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक वृद्धिदरमा सहयोग पुर्याउने सरकारको लक्ष्य हो तर सोही अनुसार पूर्वाधार विकासमा सरकार अघि नबढ्दा अबको डेढ वर्षपछि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । 

यता सरकार सन २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेर सोहीअनुसार पर्यटक भित्र्याउन अहिलेदेखि नै तयारी गर्न थालेको बताउँछ ।

 पर्यटन विभाग पनि पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना अघिसारेको बताउँछ । पर्यटन विभाग, पर्यटन बोर्ड, पर्यटन मन्त्रालयले आआफ्ना क्षेत्रबाट पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसार गरेको दाबी गर्दै आएका छन् ।  

पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापा सरकारले पर्यटकीय क्षेत्रका बारेमा प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउँने पक्षमा रहेको बताउँछन् । 

उनका अनुसार नेपालमा पर्यटक आगमनको सङ्ख्यामा सुधार हुँदै गएको छ । 

उनी भन्छन्, ‘आजको पर्यटक दिवस सन् २०२० को नेपाल भ्रमणवर्ष सम्बन्धित नभए पनि आजकै कार्यक्रममार्फत सो वर्षका लागि पनि सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ 

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको वर्ष २०२० लाई कतिपयले निकै महत्वाकाङ्क्षी वर्षका रूपमा विश्लेषण गर्दै आएका छन् । 

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले पनि पर्यटन वृद्धिका लागि पर्यटन क्षेत्रको डिजिटलाइजेसनमा मन्त्रालयले जोड दिएको बताएका छन् । पहिले देश अनि विदेशको नारा लिएको सरकारले सोही अनुरूप आन्तरिक पर्यटन प्रवद्र्धनमा अभियान नै चलाउने उल्लेख गरेको छ । 

बाह्रै महिना पर्यटक तान्न प्रचारप्रसार
नेपालमा पर्यटक भित्रने सिजन अक्टोबरदेखि सुरु हुन्छ । अक्टोबर, नोभेम्बर र डिसेम्बर यी तीन महिना पर्यटकको आगमनको हिसाबले उत्कृष्ट महिना हुन् ।  यतिबेला मौसन राम्रो (जाडो)  हुने भएकाले पनि पर्यटकहरूको आगमनमा वृद्धि हुन्छ ।

यो सिजनमा बाह्य मात्र होइन आन्तरिक पर्यटकको पनि वृद्धि हुने गरेको छ । ठूला–ठूला (लामो बिदा हुने) चाडबाड यसै सिजनमा पर्ने भएकाले घुम्न जानेको सङ्ख्यामा वृद्धि हुन्छ । गर्मी महिनामा निकै कम पर्यटक भित्रिने भएकाले बाह्रै महिना पर्यटक तान्न प्रचारप्रसारमा जोड दिएको पर्यटन बोर्डले जनाएको छ । 

 यसअघि नै पर्यटन बोर्डले सन्देश र लोगो सातवटा भाषामा बनाएको भनिसकेको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकहरूको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । भारत, चीन र संयुक्त राज्य अमेरिका जस्ता देश नेपालमा  धेरै पर्यटक आउने देशको सूचीमा छन् । 

नेपालमा सन २०११ मा पनि नेपाल भ्रमण वर्षका रूपमा मनाइएको थियो । त्यतिबेला १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएकोमा झण्डै ८ लाखले भ्रमण गरेका भनिएको थियो । 

पूर्वाधार विकासमा उदासीन 
पर्यटन प्रवद्र्धनमा सडक, विमानस्थल जस्ता पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्नेमा त्यसमा सरकारको उदासीन देखिएको पर्यटन व्यवसायी बताउँछन् । 

भौतिक पूर्वाधारको निर्माणमा चुनौती रहेको सरकारी अधिकारीहरू पनि स्वीकार्छन् । चालु अािर्थक वर्षको बजेटमार्फत स्तरीय होटल र रिसोर्टलगायतका पर्यटकीय सेवाका लागि आवाश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्ने उल्लेख गरेको छ ।

 अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन क्षेत्रको बारेमा प्रचार प्रसार गर्न विदेशस्थित नियोगहरूलाई पनि परिचालन गरिने भनिएको छ । 

पर्यटन क्षेत्रकै विकासका लागि सरकारले बजेटमार्फत ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । 

सरकारले लिएको लक्ष्य पूरा गर्न पर्यटक जाने स्थानसम्म सडक, हवाइ सुविधा लगायतका कामलाई तीव्रता दिनुपर्ने आवश्यकता छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप