केन्द्रीय संस्करण

बलात्कार : कारण र समाधान

person access_timeअसोज १०, २०७५ chat_bubble_outline0

विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा दिनहँु आएका बलात्कारका घटनाले मन छिया(छिया पार्छ । यस्ता समाचारले मानव मनलाई एक पटक घोत्लिन विवश गराउँछ । बलात्कारीहरू अपराधी हुन् र तिनलाई कानुन बमोजिम कारवाही हुनुपर्छ । तर अफसोच, अपवादबाहेक अपराधीलाई कानुनको कठघरामा ल्याउनु देशको अपराध नियन्त्रणको बागडोर सम्हालेको नेपाल प्रहरीलाई ढुङ्गाको चिउरा चपाउनु सरह भएको छ ।

कलिला बालिकाको बलात्कारले समाजको एक पुरुष पात्र हुनुमा लज्जाबोध बनाउँछ । सोच्छु, ती आमाबुबा कस्तो अवस्थामा होलान् ? दाजुभाइको मनमा के कुरा खेलेको होला ? मामाहरू, काकाहरू, श्रीमानहरू र सबै पुरुष पात्रहरूका मनमा उब्जेका सयौँ ताता सवालहरू कहिले सेलाउने होलान् ?

पीडक एक पुरुष हो । उसका पनि दिदीबहिनी होलान्, आमा होलिन्, भान्जीहरू होलान्, श्रीमती होलिन् वा कोही स्त्री आफन्त होलान् । के त्यो पुरुषले कहिल्यै पीडितको आफन्तको स्थानमा बसेर पीडा महशुस गर्ने चेष्टा गर्दैन होला ? यी र यस्तै अनुत्तरित प्रश्नहरू कहिलेसम्म ?

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु लज्जाको विषय हो । योभन्दा लज्जास्पद पीडकलाई कानुनको दायरामा नल्याउनु हो ।  के हामी सधैँ एक चेली बलात्कृत भएको घटना सुन्दै अनि पीडितले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो ? आखिर कहिलेसम्म ?

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रीय व्यवस्थामा प्रवेश गरेको छ । केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा व्यवस्थापन गर्ने निकायहरू तैनाथ छन् । तर यहाँ निर्मला पन्त, माया विक जस्ता हजारौँ चेलीहरू सुरक्षित छैनन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्दा विगत पाँच वर्षमा महिला तथा बालबालिकासम्बन्धी घटना ३८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसमा बलात्कारसम्बन्धी घटना पनि समावेश भएको छ । विस २०७० देखि २०७४ सम्मको अपराधको घटनाहरू ३८ प्रतिशतले वृद्धि हुनुले हाम्रो कमजोर सामाजिक चेतना, फितलो सुरक्षा व्यवस्था र न्यायिक सम्पादनको अवस्थालाई उजागर गरेको छ ।

नेपालले २२ अप्रिल १९९१ मा महिलाविरुद्ध हुनै सबै खालको भेदभाव अन्त्य गर्ने सम्मेलनमा सहमती जनाएको छ । यस्ता किसिमका दर्जनौँ सम्मेलनमा हस्ताक्षर गरे पनि जबसम्म अबोध चेलीहरू सुरक्षित महशुस गर्न पाउँदैनन् तबसम्म कुनै पनि हस्ताक्षरको अर्थ रहँदैन । 

नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी कानुनको व्यवस्था गरेको छ । जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था गरेको छ । दस वर्षभन्दा कम उमेरको बालिकालाई  जबरजस्ती करणी गरेको पाइएमा १६–२० वर्ष, १०–१४ वर्ष उमेर समूहको बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहको बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्ष सम्मको बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरको महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ । उमेर समूहअनुसार फरक फरक सजायको व्यवस्था आफैमा परिपक्व देखिँदैन । खैर, कानुनमा जेजस्तो लखिए पनि यसको कार्यान्वयनको पक्ष भने निरिह छ । 

नेपालमा बलात्कार एक आफैमा सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्छ । बलात्कारको घटनामा अधिकांश किशोरीहरू पीडित छन् ।  किशोरीहरू उजुरी दिन आफैलाई सुरक्षित ठान्दैनन् । आफ्नो परिवार, नातागोता र समाजको डरले उजुरी दिन हिच्किचाउँछन् । उनीहरू घटनालाई बाहिर ल्याउँदा दोहोरो पीडामा पर्छन्, एक बलात्कारको अर्को सामाजिक लाञ्छनाको । 

बलात्कारबाट पीडितहरू प्रहरी समक्ष गएर उजुरी दिनु एक आफैमा चुनौतीको विषय हो । उजुरी दिएमा पनि पीडकले कानुन अनुुसारको सजाय पाउनेमा पीडित ढुक्क हुने अवस्था छैन । शक्तिको दुरुपयोग, राजनीतिक संरक्षण, आर्थिक प्रलोभन, नातावाद, कृपावाद जस्ता प्रवृत्ति पीडितको न्याय प्राप्तिको तगारो बनेको छ ।

किन हुन्छ बलात्कार ?

बलात्कारका घटना दिन प्रतिदिन बढ्नुमा सामाजिक चेतना, सामाजिक मान्यता, जनसाङ्ख्यिक विवरण, आर्थिक अवस्था, सुरक्षा व्यवस्था, आपराधिक मानस्थिति, पुरुष प्रधान समाज, प्रहरी तथा कानुनी निकायको असक्षमता, सामाजिक सञ्जालको दुरुपयोग, मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरुपयोग प्रमुख कारणहरू हुन् ।

१. यौन शिक्षा

 मानिसले प्राप्त गर्ने ज्ञानको स्रोत परिवार, विद्यालय र समाज हो । बालबालिकालाई समाजले दिने शिक्षा, परिवारबाट पाउने शिक्षा र विद्यालयका पाठ्यक्रमबाट पाउने शिक्षाले बालबालिकाले कुन बाटो अँगाल्छन् भन्ने तय गर्छ । अझै पनि विद्यालय र परिवारमा यौनसम्बन्धी कुराको बारेमा खुलेर कुरा गर्ने संस्कारको विकास नहुनु, विद्यालयमा शिक्षक खुलेर पढाउन लजाउने, यौनका कुरा गर्दा नराम्रो दृष्टिले हेर्ने जस्ता मनोवृत्तिले गर्दा यौन शिक्षा प्रभावकारी हुन सकेको छैन । आपराधिक क्रियाकलाप हुनुमा मानिसले पाएको यौनशिक्षाको पनि महत्वपूर्ण भूमिका हुन्छ । 

२. पुरुष अहमता

नेपाली समाजले पुरुषलाई सधैँ बलियो पात्रको रूपमा हेर्ने गर्छ । पुरुषले आफूमा पुरुषत्वको घमण्ड गर्छ । पुरुषत्वको गलत प्रयोग गर्न तम्सिन्छ । पुरुष हाबी भएको समाजमा महिलाहरू पुरुषबाट पीडित हुनुपर्ने अवस्था सदियौँदेखिको हो, जुन अहिले पनि ज्युँका त्यँु छ । पुरुषवादी अहमता पनि बलात्कारको कारण हो । 

३. सामाजिक अवहेलना

 नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ । अझ भनौँ महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ । जब एक महिला बलात्कृत हुन्छे, उसले न आफ्नो परिवारलाई भन्न सक्छे न त अरू कसैलाई । जब उसले म बलात्कृत भए भन्छे,  उसले आफ्नो परिवारको इज्जत फाल्छे । समाजको आँखो बन्छे । यसकारण बलात्कृत महिलाहरू आफू बलात्कृत भएको विषय जिन्दगीभर आफूसँग राख्न विवश हुन्छन् । 

४. न्यायिक नेतृत्व

 समाज र देशको हरेक मुख्य निर्णायक भूमिकामा पुरुष हाबी हुनु आपराधका घटनाहरू वृद्धि हुनुको अर्को कारण हो । प्रहरी प्रशासनमा ९५ प्रतिशतभन्दा बढी कार्यालयका प्रमुख पुरुषहरू नै छन् । बलात्कारबाट महिला पीडित हुन्छन् । बलात्कृत महिलाको भावना र पीडा एक महिला कर्मचारीले जुन गहिराइसम्म बुझ्न सक्छ, त्यो कदापि पुरुष कर्मचारील बुझ्न सक्दैन । जब एउटा महिला बलात्कृत हुन्छे, ऊ प्रहरी प्रशासन पुग्दा अर्को पुरुषको सामना गर्नुपर्ने हुन्छ । पुरुष प्रहरीका कतिपय अनुसन्धानका प्रश्नहरू पीडितका लागि पीडादायी अस्त्र बनिदिन्छन् । कैयौँ अवस्थामा प्रहरी स्वतः उजुरी दर्ता गर्नुको सट्टामा मिलापत्र गराउन, आर्थिक लेनदेनको कुरा मिलाउने ठेकेदारको भूमिका निर्वाह गर्नसमेत पछाडि पर्दैनन् ।

५. उजुरी प्रक्रियाः

महिलाहरू बलात्कारपश्चात् प्रहरी कार्यालय पुगेर किटानी जाहेरी गर्न सहज महसुस गर्दैनन् । कतिपय अवस्थामा प्रहरीहरूले पीडितको बयान विश्वास नगर्ने र उजुरी नै नलिने गरेको समेत हुने गर्छ । जब प्रहरी प्रशासनको उच्च ओहोदामा बस्ने व्यक्तिले बलात्कारबाट पीडित व्यक्तिको पीडा र मनोभावना बुझ्न सक्दैन, त्यही व्यक्तिले न्याय दिने सम्भावना न्यून हुन्छ । कञ्चनपुरको घटनाले पनि यसको पुष्टि गर्छ । 

६. शक्तिको दुरूपयोग

 राजनीतिक संरक्षण, सत्ता र शक्तिको चरम दुरुपयोग बलात्कारको घटना वृद्धिको अर्को कारण हो । नेता, उच्च ओहोदाका कर्मचारीका आफन्त, राजनीतिक कार्यकर्ता नै पीडकको संरक्षकका रूपमा उभिन्छन् । प्रहरी प्रशासनको अपारदर्शी कार्य सम्पादन दिन प्रतिदिन बढ्दो छ । यसले अपराधीलाई अपराध गर्नमा थप प्रोत्साहन गर्छ ।

७. इन्टरनेट तथा सामाजिक सञ्जाल

 नेपालमा भएको सञ्चारको विकास र यसको दुरुपयोग बलात्कार हुनुको अर्को कारण हो । हरेक व्यक्तिको मोबाइल इन्टरनेटमा पहुँच, पोर्न फिल्महरूको लत र त्यसको अनुशरणले महिलाहरू बलात्कृत हुन पुग्छन् । त्यस्तै, सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका खराब मानिसहरूसँग साथी बन्ने, मनोभावना र नियत नबुझीकन हुने एक अर्काको आकर्षणले पनि यस्ता घटनाहरू घट्ने गर्छन् । 

८. चलचित्र सन्देशः

एक फरक रङ्गीन विषयको कुरा गरौँ, चलचित्र नगरीको । जब चलचित्रमा भिलेनले हिरोसँग बदला लिने सोच्छ, भिलेनले हिरोको दिदीबहिनी वा श्रीमतीलाई बलात्कार गर्ने प्रयत्न गर्छ, यसले के प्रस्ट्याउँछ भने महिला एक वस्तु हो, उसको इज्जत सम्मान भनेको उसको यौनिकता हो । अर्को अझ दर्दनाक विषय के छ भने चलचित्रको अन्त्यमा हिरोले भिलेनलाई आफ्नो दिदीबहिनीसँग बिहे गराउन जोडबल गर्छ । किनकि भिलेनले बलात्कार गरेको हुन्छ । के बलात्कारीलाई आफ्नो चेली सुम्पनु बुद्धिमानी हो ? त्यसैगरी, पुरुषलाई बिहे गर्नु पर्नेछ र केटीले अस्वीकार गरी भने केटाले बलात्कारको योजना बुन्छ, चलचित्रमा । यी र यस्तै सन्देश बोकेका चलचित्र तथा प्रचार सामग्रीका कमी छैनन् यहाँ । यस्ता किसिमका प्रचारले बदलालाई मान्छेले बलात्कारका रूपमा हेर्दछ । यही हो समाज, यही हो वास्तविकता । 

समाधान

नेपाली समाजमा बलात्कारको कारणहरू सर्वविदितै छन् । समाधानका उपायहरू पनि थाहा नभएको होइन । यहाँ कमी छ त चुस्त दुरुस्त कार्यसम्पादनको, कुशल नेतृत्वको, न्यायिक जवाफदेहिताको अनि दृढ ईच्छा शक्तिको । सामाजिक चेतनाको विकास अपराध नियन्त्रणको एक महत्वपूर्ण खुड्किलो हो । विद्यालय तहदेखि नै यौन शिक्षामा सुधार गर्नु महत्वपूर्ण छ । विद्यालय तहमा छात्र र छात्रालाई फरक फरक यौन शिक्षाको खाँचो हुन्छ । यौनको विषय केटा र केटीमा केही समान भए पनि ज्ञानको आवश्यकता फरक फरक हुन सक्छ । छात्र र छात्रालाई भिन्न भिन्न व्यावहारिक यौन शिक्षा दिन सकेमा बलात्कार नियन्त्रणमा सघाउ पुग्दछ । विद्यालयमा छात्राहरूलाई आत्मरक्षा तालिम दिने व्यवस्था अर्को प्रभावकारी उपाय हुन सक्छ ।  

कडा कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानविन तथा पीडितलाई न्याय, सहज चुस्त दुरुस्त र संरक्षित महिलामैत्री उजुरी प्रक्रिया बनाउन सकेमा अपराध न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै पीडित र पीडितका परिवारलाई मनो(सामाजिक परामर्श दिनु जरुरी हुन्छ । परिवारले पीडितलाई कसरी सम्हाल्ने र आफू कसरी सम्हालिने भनेर बुझ्न सकेमा पीडितलाई परिवार र समाजमा पुनस्र्थापनामा गर्न सकिन्छ । 

अन्त्यमा,  तपाईं हामी मुकदर्शक नबनौँ । बलात्कारविरुद्धको अभियानमा साथ दिऔँ । हिंसामा परेका बालिका तथा महिलाहरूलाई लाञ्छना नलगाऔँ । आलोचना नगरौँ । जीवित पीडित र पीडितका परिवारलाई सहयोग गरौँ । नबिर्सौं, जबसम्म पुरुष बलात्कारविरुद्धको अभियानमा उभिँदैन तबसम्म बलात्कार नियन्त्रण हुन सक्दैन । 

sanjaypariyar1@gmail.com
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ