केन्द्रीय संस्करण

काँग्रेसको महाभूलले अधिनायकवाद जन्माउँछ ?

person access_timeअसोज १०, २०७५ chat_bubble_outline0

मुलुकमा कायम रहेको राजनीतिक चक्रब्यूहको सञ्जालबाट नेपाल तथा नेपाली जनतालाई मुक्ति दिलाउने उद्देश्यले वाम समूहसँग लोकतान्त्रिक समूहको राजनीतिक  यात्रा सुरु भएको मान्न सकिन्छ  ।

किनकि एक्लो प्रयासबाट मात्र कुनै पनि कार्य पूर्ण रूपमा सफल रहन सक्दैन भन्ने भनाइलाई आत्मसाथ गर्दै प्रस्तुत सहकार्यलाई व्यवहारमा उतार्ने जमर्को गरिएको हो । प्रारम्भमा दुवै समूहको एक्यबद्धताले सहजता प्राप्ति गर्नुको साथै मुलुकको राजनीतिमा एकपछि अर्को गर्दै परिवर्तनका तस्बिरहरू स्वफूर्त रूपमा मुखरित हँुदै आएको परिणाम स्वरूप सम्बद्ध बामलोकतान्त्रिक समूहलाई नेपालका आम जनसमुदाय देखिन लिएर उत्पीडित वर्ग एवम् राजनीतिमा अभिरुचि राख्ने अन्य समूहले पनि सहयोग गरेकै कारण  परिवर्तनको शङ्कघोष सम्भव देखिएको  हो । 

वाम समूहले वर्तमान नेपालको राजनीतिमा दुई तिहाई नतिजा प्राप्त गरी आफ्नो उच्च हैसियत राख्नुको साथै समस्त दक्षिण एसियालगायत विश्वजन मञ्चमा आफ्नो प्रभुत्व देखाउन सफल रहनुको प्रमुख कारक तत्वको रूपमा लोकतान्त्रिक समूहसँगको कार्यगत एकतालाई मान्न सकिन्छ । पछिल्लो चरणमा काँग्रेसको राजनीतिक यात्रालाई नियालेर अध्ययन गर्ने हो भने कार्यगत एकीकरणलाई नै महाभूलको संज्ञा दिँदा त्यति फरक नपर्ला  ।

       मुलुकको राजनीतिक वृत्तमा लोकतन्त्रको अर्को नाम भन्ने वित्तिकै नेपाली काँग्रेस भन्ने  बुझिन्छ । लोकतन्त्रको पर्यायवाची शब्द भईकन पनि बाम समूहसँग पार्टीगत सहमतीय कार्यमा अग्रसर रहने यस तथ्यले के  प्रष्ट गर्छ भने या त नेपाली काँग्रेसमा लोकतन्त्रको स्पष्ट दिग्दर्शनको अभाव रहेको छ, अथवा राजासँगको निकटताको असहजता नै कम्युनिस्टसँगको सामीप्यताको नतिजा हो भन्न सकिन्छ  ।
      यसका अलावा नेपाली काँग्रेसका जननायक बीपी कोइरालाको राजनीतिक ज्ञानबाट प्राप्त भएको तीतो यथार्थको उपज वाम समूहको सामीप्यताभन्दा धेरै हदसम्म राजासँगको निकटताले नै मुलुकको बृहत्तर हित गर्छ भन्ने दूरदर्शी भावलाई काँगे्रसभित्रका न्यून समूहले विवेकसम्मत ढङ्गले आत्मसाथ गर्न नसक्नु नै कम्युनिस्टको बाहुल्यता परिणाम हो । साथै लोकतान्त्रिक नेपाली जनसमुदायको समयको मागलाई सही ढङ्गबाट उचित सम्बोधन गर्न नसक्नुको अतिरिक्त आफ्नो पार्टीगत एकतालाई मूल्याङ्कन गर्ने कार्यमा भएको त्रुटि नै काँग्रेस पराजयको वर्तमान अवस्थासमेत   हो ।    
  
उल्लेखित तथ्यलाई राम्ररी अध्ययन गर्ने हो भने वाम समूहको वर्तमान वर्चस्वमा नेपाली काँग्रेस मूल रूपमा सहयात्री भएको मान्न सकिन्छ । यसबाट के प्रमाणित हुन्छ भने नेपाली काँग्रेसभित्र रहेको  राजनीतिक निष्ठाको न्यूनतालाई कम्युनिस्ट समूहले समय सापेक्ष उपभोग गर्न सकेको सफल परिणाम वाम समूहको वर्तमान जनमतको अभिमत हो ।
 

     यस हिसाबले हेर्दा नेपालका वाम समूहलाई एउटा प्रष्ट राजनीतिक ज्ञान के थियो भने यदि मुलुकमा यथार्थमै वाम समूहको एकाधिकार कायम राख्ने प्रयत्न गर्ने हो भने यसको मुख्य बाधक शक्ति भनेकै राजतन्त्रात्मक शासन पद्धति हो,  जसलाई  नेपाली जनताबाट पृथक नराखेसम्म जस्तोसुकै आन्दोलन गरे पनि सफल नरहने निष्कर्ष निकाल्दै लोकतन्त्रमा आस्था राख्ने एवम् राजापछि नेपाली जनसमाजमा अमूल्य छाप छोड्न सफल रहेको नेपाली काँग्रेसलाई हात लिनु समय सापेक्ष हुनेछ । यसै तथ्यगत विशेषतालाई मनन गर्दै नेपालका बाम  समूह राजनीतिको क्षेत्रमा होमिएका हुन्, जसको सफल परिणाम आज मुलुकको राजनीतिमा देख्न सकिन्छ ।

यस तथ्यलाई बीपी कोइरालाले अहम रूपमा लिएकै कारण उनको जीवनकालमा खासै वाम समूहसँग सम्बन्ध विस्तार रहेको देख्न सकिन्न । तर उनीपछिका अन्य अनुयायीहरूले विस्तृत रूपमा बीपी दर्शनलाई विश्लेषण  नगरी हचुवाको भरमा अगाडि बढ्दाको परिणाम नै नेपाली काँग्रेसको वर्तमान नियती हो  ।  

     मूलतः वाम सहकार्यको सहजीकरणका लागि वि.सं. २०४६ वा सोपूर्व नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंह जसको सबल नेतृत्वमा नै प्रथम जनआन्दोलन ०४६ ले पूर्णता हासिल गरी संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था नेपालमा सम्भव रह्यो । जसको  श्रेय केही हदसम्म सहमतीय व्यवहारलाई नै जान्छ । उक्त समयमा रहेको सहकार्यको उच्चतम् सफलताको प्रभावले अन्ततः वाम समूह भित्रभित्रै निक्कै उत्साहित एवम् थप आन्दोलित रहन मुख्यतः दुई कुराले प्रभाव पारेको देख्न सकिन्छ । 

      पहिलो तथ्यगत आधारका रूपमा यदि नेपाली जनमतले रुचाएको लोकतान्त्रिक समूह मानिने नेपाली काँग्रेसलाई आफ्नो साथ लिन गराउन सकिए सत्ताको नजिक पुग्न सहज हुनेछ । दोस्रो अवस्था भनेको नेपाली भूमिबाट राजतन्त्रलाई पूर्ण रूपमा विस्थापित गर्नु छ भने पनि काँग्रेसकै सहरा लिनुबाहेक अन्यथा नरहने निष्कर्षसहित आफ्नो रणनीतिक कार्य योजनालाई सूक्ष्म रूपमा अगाडि बढाएको पाइन्छ । किनकि मुलुकभित्र एवम् बाह्य विश्वले समेत नेपाली राजनीतिको हकमा अगुवा लोकतान्त्रिक शक्तिको रूपमा नेपाली काँग्रेसबाहेक अन्य समूहलाई सहजै विश्वास नगर्ने वातावरण देखिएकाले वाम समूह लोकतान्त्रिक समूहको सामीप्यमा रहन रुचाएको हो ।

    प्रस्तुत रणनीति निरन्तर चलिरहँदा थप मलजल गर्न नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्ध सहायक सिद्ध भई आएको पाइन्छ । अन्ततः २०६२÷०६३ को संंयुक्त जनआन्दोलनको सफलता एवम् विभिन्न चरणमा भएको संविधान सभाको निर्वाचन, आम निर्वाचन आदिको आरोह अवरोहलाई चिर्दै सत्तामा पुग्न नेपालका कम्युनिस्ट समूह पूर्ण रूपमा सफल भएको वर्तमान अवस्था हो । पूर्ण बहुमतसहितको वर्तमान अवस्था यसभन्दा अगाडि नेपालको राजनीतिक इतिहासमा कहिल्यै पनि नदेखिएको हुँदा यसलाई वाम समूहको स्वर्णयुग मान्न सकिन्छ । 

     तत्पश्चात लोकतान्त्रिक समूहसँगको हालसम्म कायम रहँदै आएको सहसम्बन्धलाई पृथक् राख्दै आफ्नो सगोत्री समूहसँग एकताबद्ध रहने प्रयास स्वरूप नेकपा एमाले एवम् नेकपा माओवादीबीच गोलबद्ध हुँदै वर्तमान एकता सम्भव भएको हो ।

      यदि नेपाली काँग्रेसले आफ्नो लोकतान्त्रिक छविलाई नधमिल्याएको भए न त  मुलुकको राष्ट्रिय राजनीतिमा कम्युनिस्ट समूहको वर्चस्व कायम हुने थियो । न त काँगे्रस समूहले लज्जास्पद पराजयको सामना भोग्नुपर्ने नै थियो । यस विषम परिवेशलाई तहगत आधारमा मूल्याङ्कन गर्दै जाँदा के निष्कर्षमा पुग्न सकिन्छ भने तात्कालीन समयमा  वाम समूहसँगको कार्यागत एकताको महाभूलको परिणाम नेपाली काँग्रेसको वर्तमान पराजयको परिणतिसमेत हो ।
 

   किनकि राजासँगको सम्बन्ध चिसिएका कारण राजालाई कमजोर देखाउन मात्र वाम समूहसँग कार्यगत एकता सम्भव  भएको हो । अन्यथा कुनै पनि हालतमा नेपाली काँग्रेसले राजासँगको सम्बन्धलाई सहजै कमजोर बनाउने खेलमा कदापी पनि लाग्न सक्दैनथ्यो भनी ठोकुवा गर्न सकिन्छ । प्रस्तुत विषयमा कतिपय काँग्रेसी नेतागणको विमती रहँदै आएको इतिहास साक्षी छ । यस्तैगरी मुलुकमा चलेको १० वर्षे राजनीतिक द्वन्द्वको प्रभावमा परी नेपाली जनताले आफ्नो विवेकसम्मत नीति अख्तियार गर्ने विश्वको सर्वमान्य लोकतान्त्रिक पद्धतिको आधार स्तम्भ मानिदै आएको जनमत सङ्ग्रहको उपभोग कतिपय अवस्थामा गर्न पाएनन् । 

     नेपाल लगायत विश्व समुदायले अख्तियार गर्ने जनमत सङ्ग्रहको विधिलाई स्वीकार्दै सोबाट प्राप्त हुन आउने परिणाम नै वास्तविक रूपमा जनअभिमतसमेत हुने प्रक्रियागत व्यवहारलाई कतिपय संवेदनशील विषयमा समेत सम्प्रभू नेपाली जनतालाई उक्त अधिकारबाट पृथक गराउन  केही हदसम्म लोकतान्त्रिक समूह मुकदर्शक भएर बसेको पाइयो । जसले गर्दा लोकतान्त्रिक समूह पछाडि पर्न बाध्य भए । 

       इतिहासको विभिन्न कालखण्डमा जानीनजानी गरिएका राजनीतिक महाभूल नै लोकतान्त्रिक समूहको पराजय एवम् वाम समूहको उल्लेख्य सफलताको प्रमुख कारक तत्व मान्न सकिन्छ । यी सम्पूर्ण गतिविधिलाई केलाएर अध्ययन गर्दा नेपाली काँग्रेसले आफ्नो लोकतन्त्रान्त्रिक छविलाई सहज रूपमा जनमानसमा प्रतिस्थापन गर्न नसक्नु तथा आफ्नै समूहभित्र पनि सत्ता प्राप्तिका लागि खेलिने फोहोरी राजनीतिक खेलले आज तमाम लोकतान्त्रिक समूहमा अन्योलको परिस्थिति उत्पन्न भई चिन्तित रहनुपरेको छ ।

जसका कारण मुलुकमा अधिनायकवादी गन्ध कायम रहन सक्छ भन्ने प्रश्नसमेत उठ्न सक्ने देखिन्छ । लोकतान्त्रिक शासन पद्धति अवलम्बन गर्ने  वर्तमान परिवेशमा अधिनायकवादी  चरित्र कुनै पनि राजनीतिक समूहले  सहज रूपमा अख्तियार गर्ला भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।
     

  तसर्थः  दुई तिहाईको दम्भ वर्तमान वाम समूहले देखाए त्यसको परिणाम नेपाली काँग्रेसको वर्तमान अवस्था सरह हुने निश्चित छ । किनकि यस्तै प्रकारको दम्भ  विगतमा काँग्रेसी समूहमा रहेकै कारण नेपालको वर्तमान राजनीतिमा उक्त समूह प्रतिपक्षमा रहन बाध्य हुनुपरेको हो । 


 

प्रदीप उप्रेती

कालीकास्थान, काठमाडौँ
pradipupreti78@gmail.com
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ