बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय सवारीमा क्रेज बढ्न थालेको छ : अग्नि इनर्जीका सिनियर म्यानेजर प्रमोद भण्डारी

बुधबार, १० असोज २०७५, १२ : ०९
बुधबार, १० असोज २०७५

जमाना यस्तो पनि थियो जतिबेला विद्युतीय सवारी साधन भनेपछि मान्छेहरूले नाक खुच्याउँथे । बिक्रेताहरूले कति प्रयास गर्दा पनि विद्युतीय सवारीका बारेमा नामै सुन्न नचाहनेको जमात ठूलै थियो । यद्यपि यो परिवेश अझै बदलिइसकेको भने होइन । विद्युतीय चारपाङ्ग्रे सवारी साधन नेपाल भित्र्याउने आफू नै पहिलो भएको दाबी गर्ने अग्नि इनर्जीलाई सुरुवाती वर्षहरूमा विद्युतीय सवारीको बिक्रीवितरण गर्न निकै सकस पर्यो । यसले सन् २०१० देखि विद्युतीय सवारी भित्र्याउन थालेको हो । 

पछिल्लो समय विश्व इन्धनमुक्त सवारी साधनको विकल्पको खोजीमा छ । विश्व वातावरणमैत्री सवारी साधनमा विस्तारै सिफ्ट हुन खोज्दैछ । विश्वमा वातावरण संरक्षणसम्बन्धी चासो बढिरहेको बेला नेपालले पनि त्यसलाई अनुशरण गर्न थालेको छ । विद्युतीय सवारीमा सिफ्ट हुन अन्तरशुल्क र भन्सारमा छुट दिएर  सरकारले नै प्रोत्साहन गरेको छ ।

अरू सवारी साधनको स्वाद चाखिसकेकाहरू अहिले विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुन थालेको अग्नि इनर्जी प्रालिका बिक्री शाखाका सिनियर म्यानेजर प्रमोद भण्डारी बताउँछन् । यस पटकको नाडा अटो सोमा विद्युतीय सवारीको स्टलमा पनि मानिसहरूको भीड थियो । 

नाडा अटो सोमा नै महिन्द्राको इभेरिटो नामक कार नेपाल भित्रियो । यो फुल अप्सन कार हो । एक पटक पूरा चार्ज गर्दा १४० किलोमिटरसम्म चलाउन सकिने यस कारको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । अगाडि पट्टि विद्युतीय व्यवस्थापन प्रणाली जडान गरिएको छ । फास्ट चार्जिङ सुविधासमेत रहेको यो सेडान कार हो ।

पाँच सिट भएको यस कारमा ३०.५ किलो वाटको मोटर पावर छ, जसले गर्दा उकालोमा सजिलै चलाउन सकिन्छ  । यसमा ९२ वटा ब्याट्री भएकाले एक एकवटा सेल परिवर्तन गर्दै चलाउन सकिन्छ । ब्याट्री फेर्नुपर्दा एकै पटक सबै ब्याट्री सेट फेर्नु पर्दैन । नाडा अटो सोमा नै इभेरिटोको १० वटा बुकिङ भयो । महिन्द्राले आफ्ना विभिन्न मोडलका गरेर ३० वटा सवारी साधन नाडामा नै बुकिङ गर्न सफल भयो । 
सन् २०१२  बाट  इटुओ प्लस (२८ लाख रुपैयाँ मूल्य)  भित्र्याएको अग्नि इनर्जीले यसअघि रेभा नामक सानो कार भित्र्याएका थियो । जसकोे मूल्य साढे १४ लाख रुपैयाँ पथ्र्यो ।  त्यपछि इटुओ नेपाल भित्रियो यसको

मूल्य २३ लाख ७५ हजार रुपैयाँ थियो ।  इटुओ स्पोर्टस (२६ लाख रुपैयाँ), ई–सुप्रो (भ्यान)  हँुदै (२४ लाख १५ हजार रुपैयाँ मूल्य) इभेरिटो आएको हो । यसका सवारी साधन खरिदमा नेपाल इन्भेस्टमेन्ट बैङ्कबाट फाइनान्सिङ सुविधा सात वर्षमा तिरिसक्ने गरी उपलब्ध गराइएको छ । 

अहिले भारतले भन्दा पनि नेपालले महिन्द्राको इ–भेइकल बढी बेच्न सकेको अग्नि इनर्जीको दाबी छ ।  भारतले गरेको नाकाबन्दीपछि नेपालमा विद्युतीय सवारीमा क्रेज बढेर गएको भण्डारीको तर्क छ । 

इन्धनबाट चल्ने गाडीलाई छोडेर मानिसले विद्युतीय सवारी साधन किन रोज्ने ?

पेट्रोल, डिजेल बेलाबेलामा हाहाकार हुने गरेको छ । पाइने अवस्थामा पनि मूल्य बढेर आकाशिएको छ । पेट्रोलको समस्या कहिले पर्छ थाहा हुन्न । विश्व नै अब विकल्पको खोजीमा छ । इन्धनको विकल्प विद्युत हुन सक्छ । जुन वातावरणमैत्री पनि हो । यसले वातावरणमा समस्या निम्त्याउँदैन । अब विश्व नै विस्तारै विद्युतीय सवारी साधनतर्फ सिफ्ट हुँदै छ, यस्तो अवस्थामा हामीले पनि यसलाई अपनाउनुपर्छ । यसमा फाइदा पनि छ भन्ने बुझ्दैनन् । यसमा वार्षिक कर तिर्नु पर्दैन । ३ सय रुपैयाँ तिरे पुग्छ । अरू गाडी  हो भने वार्षिक १८, २० हजार ट्याक्स तिर्नुपर्छ । यसमा मोबिल लाग्दैन त्यसको पैसा बचत हुने भयो  । सर्भिस पनि गर्नुपर्दैन ।  ब्याट्रीको क्षमताअनुसार यसको चार्जिङ आवर फरक हुन्छ । कुनैमा पावर थोरै भए पुग्ने छ भने उसलाई त्यसमा ६ देखि ८ घण्टा चार्ज गरे पुग्छ । अलि हेभी र ब्याट्री धेरै छन् भने त्यस्तोलाई ९ देखि १० घण्टा चार्ज गरे पुग्छ । यसमा सजिलै घरमा मोबाइल चार्ज गरे जस्तै गरी चार्ज गर्न सकिनेछ । चार्जिङका लागि घरमा अर्थिङ भने गर्नुपर्छ । 

विद्युतीय गाडी चलाउन सजिलो छ । गियर क्लजहरू थिचिरहनुपर्दैन । यो अटोमेटिक हो आरामदायी हुन्छ । 

यसको बिक्रीको अवस्था कस्तो छ ? 
अझै पनि मानिसहरू विद्युतीय सवारी साधनप्रति राम्ररी कन्भिन्स हुन सक्तैनन् । उनीहरूलाई बुझाउन गाह्रो छ ।  हामीले २०१० देखि विद्युतीय सवारीको जानकारी दिन, अभिप्रेरणा वृद्धि गर्न अभियान नै चलाएका छौँ । विद्युतीय सवारीमा लागिपरेर काम गर्ने अग्नि इनर्जी नै हो । इभेइकलमा हामी नै सबैभन्दा पुरानो हौँ । अहिले विद्युतीय सवारीको माग बढिरहेको छ । यो वर्ष विद्युतीय सवारीको बिक्री ३०० वटा पुर्याउने लक्ष्य छ । 

तपाईंहरूको बिक्रीपछिको सेवा कस्तो छ ? 
हामीले यही फिल्डमा काम गरेको ५, ६ वर्ष भइसक्यो । जसले ई–भेइकलमा काम गर्छ उसले डिजेल, पेट्रोल छुन पाउँदैन । यसमा काम गर्ने आफैमा विज्ञ भइसके । हाम्रो विद्युतीय सवारी साधनका लागि वर्कसप पनि हो । हाम्रो सर्भिस सेन्टर नेपालकै पहिलो हो । इभेइकल  बिग्रिँदैन । कथमकदाचित बिग्रियो भने सवारीधनीले फोन गरेपछि त्यही गएर बनाउँछौँ । विद्युतीय सवारीको वारेन्टी तीन वर्ष अथवा ६० हजार किलोमिटर हो । 

तपाईंहरूलाई पहिलो पटक ल्याएको दुईसिटे रेभा बिक्री गर्न त निकै समस्या भयो होइन ?
हो, तपाईंले भनेजस्तै यसमा हामीलाई निकै समस्या भयो । घरघर गएर  मानिसहरूलाई बुझाउथ्यौँ । एनजीओ, आईएनजीओलगायत विभिन्न संस्थालाई किनिदिनुपर्यो भन्दै हिँड्नुपथ्र्यो ।  त्यतिबेला हामीले वातावरणप्रति सचेत र अलिकति जान्ने बुझ्नेलाई मात्र बेच्न सक्यौँ । त्योभन्दा तल त हामीले सक्दै सकेनौँ । किनभने उहाँहरूले सुन्नै चाहनु भएन । त्यो बेला १५ वटा गाडी ल्याएका थियाँै । त्यसपछि भारतमा उत्पादन बन्द भयो । त्योभन्दा बढी हामीले चाहेर पनि ल्याउन सक्ने अवस्था बनेन । मलाई याद छ एउटा गाडी बेच्न ४ वर्ष फलोअप गरेको छु । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप