शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पोर्न साइट पूर्णरुपमा बन्द असम्भव’ : इन्टरनेट सेवा प्रदायक

बुधबार, १० असोज २०७५, ११ : ४५
बुधबार, १० असोज २०७५

 काठमाडौँ । इन्टरनेट संसार हो । इन्टरनेटकै माध्यमबाट विश्वभरीका दृश्य, घटना, समाचार तथा जानकारी पाउन सकिन्छ । सदुपयोग गरे इन्टरनेटले ज्ञान दिन्छ तर दुरुपयोग भए अपराध पनि निम्त्याउँछ । यसकारण इन्टरनेटको सदुपयोग होस् भन्ने चाहना राख्नु सबैको कामना हुन्छ ।

तर सबैले इन्टरनेटको सही सदुपयोग गर्छन् भन्ने होइन । इन्टरनेटका दुरुपयोगका कारण हुने घटना वा दुर्घटनाले विकासशील राष्ट्रहरूलाई चिन्तित बनाएको छ । 

नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२१ ले यौनजन्य सामग्रीहरूको आदनप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ । यही कानुनलाई टेकेर केही समयअघि मात्रै सरकारले अश्लील दृश्य तथा भिडियो पोस्ट गर्ने ‘पोर्न साइट’ बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दियो । सरकारको निर्देशन आएलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न (इन्टरनेट सर्भिस् प्रोभाइडर) आईएसपी र नेटवर्क सेवा प्रदायक (एनएसपी) हरूलाई पोर्न साइट बन्द गर्न निर्देशन दियो ।
 
प्राधिकरणले असोज ५ गते सबै इन्टरनेट सर्भिस् प्रोभाइडर कम्पनीहरूलाई निर्देशन दिएलगत्तै केही सर्भिस् प्रोभाइडरले बढी चलेका ‘पोर्न साइट’ ब्लक गरिदिए । यद्यपि प्रविधिको अभावका कारण सबै पोर्न साइट बन्द गर्न भने सम्भव भएन । प्राधिकरणले तत्कालका लागि उपलब्ध गराएको ४५ वटा पोर्न साइटहरू ब्लक गरिएको छ । 

लाखौँ पोर्न साइट तर जम्मा ४५ वटा बन्द
अहिले विश्वभरमा अश्लील तस्बिर तथा दृश्य प्रकाशन तथा प्रसारण गर्ने दस लाखभन्दा बढी वेभपेज रहेका छन् । तर नेपाल सरकारले मात्र ४५ वटा पोर्न साइट बन्द गर्न निर्देशन दिएको छ । जसका कारण तत्कालका लागि मात्रै ४५ वटा पोर्न साइटहरू बन्द गरिएको छ । जबकि दसौं लाख पोर्न साइटहरूमध्ये मात्रै ४५ वटा वेभसाइट बन्द गर्नुको कुनै अर्थ राख्दैन ।

प्राधिकरण भन्छ, ‘हामी पूर्णतः बन्द गराउँछौँ’
मुलुकी अपराध संहिता ऐनमै अश्लील सामग्रीको प्रकाशन, प्रसारण तथा आदनप्रदानलाई अपराध भनी उल्लेख भएसँगै पोर्न साइटहरू बन्द गराउन सरकारले निर्देशन दियो । सरकारको निर्देशन आएलगत्तै इन्टरनेट सर्भिस् प्रोभाइडरहरूलाई मनिटरिङ गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि सबै आईएसपी तथा एनएसपीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणका निर्देशक एवम् प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार हाल नेपालमा करिब ९० वटा संस्थाले इन्टरनेट सेवा प्रदानका लागि लाइसेन्स लिएका छन् । उनीहरूमध्ये नेपाल टेलिकम र एनसेल गरी दुईवटा नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक कम्पनी तथा वल्र्डलिङ्क, सुबिसु, भायोनेट, टेकमाइन्डलगायतका करिब १५ वटा इन्टरनेट सर्भिस प्रोभाइडरले मात्रै राम्रोसँग काम गरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार मुख्यतः यिनै १५ वटा इन्टरनेट सर्भिस् प्रोभाइडरहरूलाई कडाइ गरे नेपालमा पोर्न साइट बन्द हुन्छ ।

अहिले पोर्न साइट बन्द गराउन सार्वजनिक सूचना नै जारी गरिएको र बिस्तारै यो पूर्णरूपमा बन्द हुने प्रवक्ता अर्यालको दाबी छ ।

अहिले नै अश्लील भनी जानकारीमा आएका केही वेभसाइटलाई म्यानुअल्ली ब्लक गर्न निर्देशन दिइएको छ । तर के लाखौं वेभसाइट म्यानुअल्ली ब्लक गर्न सम्भव छ त ? रातोपाटीको प्रश्नमा प्रवक्ता अर्यालले भने, ‘तत्कालका लागि केही वेभसाइटहरू म्यानुअल्ली बन्द गर्न निर्देशन दिइएको हो । तर अब विश्वस्तरमा प्रयोगमा आएका टुल्स तथा सफट्वेयर र हार्डवेयर प्रयोग गरेर सिस्टमबाटै सबै पोर्न साइट हामी बन्द गर्छौं ।’

पोर्न साइट बन्द नगराए आएसपीलाई कारवाही हुने

प्राधिकरणले पोर्न साइटहरू बन्द गराउन निर्देशन दिएलगत्तै केही आईएसपीहरूले धमाधम पोर्न साइट बन्द गराउन थालेका छन् । तर सबै काम म्यानुअल्ली गर्नुपर्ने भएकाले त्यो काम त्यति सहज भने छैन ।

तत्कालका लागि सरकारले बन्द गराउन निर्देशन दिएका मात्रै ४५ वटा पोर्नसाइटहरू बन्द गरिएको छ । पर्याप्त पूर्वाधार नहुँदा सिस्टमबाटै अटोमेटिक पोर्न साइट बन्द गर्न सम्भव नभएको आईएसपीहरू बताउँछन् ।

तर प्राधिकरण भने पोर्न साइट बन्द नगराए त्यस्ता आईएसपीहरूलाई कारवाही गर्ने चेतावानी दिन्छ । प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार सरकारको निर्देशन नमाने त्यस्ता आईएसपीहरूलाई कारवाही गरिने छ । 

पोर्न साइट बन्द गर्न असम्भव : आईएसपी

यता इन्टरनेट सर्भिस् प्रोभाइडर अर्थात् आईएसपी कम्पनीहरू भने पोर्न साइट पूर्णत बन्द गर्न असम्भव रहेको बताउँछन् । आईटीमा दख्खल राख्ने भारतजस्तो देशले पनि निर्भया बलात्कार प्रकरणपछि पोर्न साइटहरूमा प्रतिबन्ध लगाउने प्रयास गरेको थियो । तर त्यो प्रयास विफल भयो । एकातिर त्यहाँका युवापुस्ताले त्यसको विरोध गरे भने अर्कोतिर, भीपीएन, प्रोक्सी र बाइपास प्रयोग गरी पोर्न साइटहरू हेर्न थालिए । अन्ततः भारत सरकारले चाइल्ड पोर्नोग्राफीलाई मात्रै बन्द गर्नेगरी नयाँ जुक्ति निकाल्यो । यद्यपि त्यो पनि सफल हुन भने सकेको छैन ।

तर भारतमै असफल भएको प्रयोग नेपालमा भने सम्भव हुनै नसक्ने आईएसपीहरूको दाबी छ । वल्र्डलिङ्क कम्युनिकेसनका टेक्नोसेल्स अफिसर दिवाकर पन्त भन्छन्, ‘पोर्न साइट बन्द असम्भव कुरा हो ।’ 
पन्तका अनुसार हाल विश्वभरबाट दस लाखभन्दा बढी पोर्न साइटहरू सञ्चालनमा रहेका छन् । यस्तो अवस्थामा ४५ वटा बन्द गर्नुको कुनै अर्थ छैन । अब सरकारले खोजेर १ हजार वेभसाइट बन्द गराए पनि त्यो कुल वेभसाइटको शून्य दशमलब १ प्रतिशत मात्रै हुन जान्छ । त्यसकारण कसैले म्यानुअल्ली पोर्न साइट बन्द गराउँछु भन्नु असम्भव काम हो । 

करोडौँ खर्च गरेर सिस्टम किन्नुपर्छ

यदि यस्ता अश्लील दृश्य तथा भिडियो प्रकाशन तथा प्रसारण गर्ने वेभसाइटहरू अटोमेटिक बन्द गर्न खाजेमा त्यहाँ करोडौँ खर्च हुन्छ । यसका लागि केही सफ्टवेयर र हार्डवेयरहरू किन्नुपर्छ । तर यी सबै टुल्सहरू किन्न आईएसपीबाटै सम्भव नहुने पनि उनीहरूको दाबी छ । सरकारले हार्डवेयर र सफ्टवेयर किनेर दिने हो भने पनि प्रत्येक आईएसपीलाई छुट्टाछुट्टै दिनुपर्ने हुन्छ । जसका लागि सरकारले करोडौँ रकम खर्च गर्नुपर्ने पन्त बताउँछन् । 

सिस्टम किने पनि पूर्णतः बन्द हुँदैन

अहिले सरकारले म्यानुअल्ली वेभसाइटहरू बन्द गराउँदा १ हजार पोर्न साइट बन्द गराए पनि त्यो कुल वेभसाइटको शून्य दशमलब १ प्रतिशत मात्रै हुन्छ । त्यसकारण त्यसको एक मात्र विकल्प भनेको अटोमेटिक बन्द नै हो ।

तर सिस्टम किनेर अटोमेटिक बन्द गराए पनि पोर्न हेर्न चाहनेले नयाँ नयाँ जुक्ति निकाल्छन् । इन्टरनेटमा सामान्य दक्षता राख्ने प्रयोगकर्ताले भीपीएन, प्रोक्सी वा बाइपास प्रयोग गरी यस्ता साइटहरू सहज ढङ्गबाट हेर्न सक्छन् । 

नेपालमा बन्द गराए पनि भीपीएनमार्फत् अमेरिका, क्यानडा आदि स्थानको डीएनएस र आईपी प्रयोग गरेर उनीहरूले पोर्न साइट खोल्न सक्छन् । 

चीनमा फेसबुक चल्छ भने नेपालमा कसरी ‘ब्लक ?’

चीन सरकारले त्यहाँ फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । चीनमा विभिन्न सोसल साइटहरू पनि बन्द गरिएका छन् । यद्यपि चीनमा विभिन्न टुल्सको प्रयोग गरेर फेसबुकलगायतका सोसल साइटहरू चलिरहेका छन् । चीनमा पनि प्रयोगकर्ताले बाइपास, प्रोक्सी सर्भर र भीपीएनको प्रयोग गरी यस्ता साइट चलाएका छन् । त्यहाँ सरकारले अत्याधुनिक टुल्स प्रयोग गर्दा पनि यस्ता वेभपेजमा रोक लगाउन सकेको छैन । यस्तो अवस्थामा नेपालमा पोर्न साइट बन्द हुन्छ भन्नु असम्भव नै हो ।

यौनहिंसामा केही नियन्त्रण हुन्छ

सरकारले पोर्न साइटहरूमा प्रतिबन्ध लगाएसँगै यौनहिंसामा केही मात्रामा कमी आउने अपेक्षा गरेको छ । अश्लील सामग्रीमा सहज पहुँचका कारण अहिले बलात्कार बढेको सरकारको ठहर छ । यस्ता अश्लील सामग्रीमा सहज पहुँच नहुँदा यौनहिंसामा कमी ल्याउन सकिने प्राधिकरणका प्रवक्ता अर्याल बताउँछन् । उनी भन्छन्, हाम्रो मुख्य उद्देश्य भनेको बालबालिकालाई सर्च इन्जिनका माध्यमबाट अश्लील सामग्रीमा सहज पहुँच नदिने भन्ने हो । दोस्रो कानुनले बर्जित गरेको कुरामा जबर्जस्ती प्रवेश गरे सजायको भागिदार हुनुपर्छ भन्ने विषय पनि सिकाउन खोजिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप