शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिकहरुको दाबीः समुन्द्रको पिँधमा पर्खाल बनाएमा ‘ग्लेसियर’ पग्लिने क्रम रोक्न सकिन्छ

बुधबार, १० असोज २०७५, ०९ : ३७
बुधबार, १० असोज २०७५

एजेन्सी । हिमनदी (ग्लेसियर)हरु पग्लिने क्रम रोक्नको लागि वैज्ञानिकहरुले नयाँ तरिका पत्ता लगाएको दावी गरेका छन् । 

उनीहरुले समुन्द्र मुनि धातुको पर्खाल बनाएमा ग्लेसियरहरुको पग्लिने दर निक्कै कम गर्न सकिने बताएका छन् । यसबाट एकातर्फ समुन्द्रको जलस्तर बढ्न कमी गराउनेछ र तटीय सहरहरुको डुबानको खतरा कम हुनेछ । 

क्रायोस्फियर जर्नलमा प्रकाशित युरोपली जियोसाइन्स युनियनको रिपोर्ट अनुसार समुन्द्रमा बनेको पर्खालले ग्लेसियरको नजिक न्यानो पानी पुग्न दिँदैन । यस्तो गर्न सकेमा ग्लेसियरको हिउँ पग्लेर समुन्द्रमा जाने क्रम रोक्न सकिन्छ । 

अर्बौँको डलरको परियोजना
अध्ययनमा यसका लागि ३०० मिटर अग्लो पर्खाल बनाउनुपर्ने देखिएको छ । यो पर्खाल ०.१ क्युबिक किमीदेखि १.५ क्युबिक किमी धातुको हुनेछ । तथापि, यसको लागि निक्कै पैसा खर्च हुने अनुमान गरिएको छ । दुबईको पाम आइल्याण्ड र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो सामग्रीको प्रयोग गरिएको थियो । 

दुबईको समुन्द्री तटमा बनेको पाम आइल्याण्डमा ०.१ क्यूबिक किमी धातुको पर्खाल बनाइएको थियो । त्यसमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो । त्यस्तै हङकङ इन्टरनेशनल एयरपोर्टको लागि बनाइएको ०.३ किमी धातुको पर्खाललाई ३० खर्ब रुपैया परेको थियो । 

रिपोर्ट लेख्ने प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक माइकल वोलोविक र फिनल्याण्ड विश्वविद्यालयको जोन मूरले यो जलवायु परिवर्तन रोक्नको लागि अल्पकालिन योजना मात्र हुने बताएका छन् । उनीहरुले जलवायु परिवर्तनको दीर्घकालिन समाधानको लागि केही अर्को विकल्प सोच्नुपर्ने बताए । 

सन् २०१६ मा नासाको जेट प्रपुल्शन ल्याबोरेटरीले पश्चिमी अन्टार्कटिकाको बरफ निक्कै तीव्र गतिमा पग्लिरहेको बताएको थियो । नेचर कम्युनिकेसेनमा प्रकाशित रिपोर्टमा बरफको विशाल ब्लकको मुनि रहेको तातो पानी बरफ पगालन प्रमुख कारण रहेको उल्लेख थियो । 

यसपछि वालोविक र मूरले संसारको सबैभन्दा ठूलो ग्लेसियरमध्य एक थ्वाइट्समा अध्ययन गरे । कम्प्युटर मोडल्स मार्फत वैज्ञानिकहरुले वरफ पग्लिने कारण जान्न कोसिस गरिरहेका छन् । 

वैज्ञानिकहरुका अनुसार यदी परियोजना अघि बढेमा समुन्द्रमा बन्ने धातुको पर्खाल संसारको सबैभन्दा ठूलो सिभिल इन्जिनियरिङ्ग परियोजना हुनेछ । यो सफल हुने आशा ३०% मात्र छ । 

साइन्स जर्नलका अनुसार समुन्द्रलाई सामान्य अवस्थामा राख्नलाई ग्लेसियरले महत्वपूर्ण भूमिका निभाउँछ । तर विश्वव्यापी तापक्रमको कारण समुन्द्रको पानी तातेकाले पछिल्लो दशकहरुमा पश्चिमी अन्र्टाकटिकाको बरफ पग्लिने दरमा ७०% बृद्धि भएको छ । 

सात फिटसम्म बढ्न सक्छ समुन्द्र सतह
वैज्ञानिकहरुका अनुसार भविष्यमा थ्वाइट्स पूर्ण रुपमा पग्लिए मात्रै पनि सम्पूर्ण समुन्द्रको जलस्तर बढ्न सक्छ । 

आजको अवस्था नियन्त्रण नहुने हो भने सन् २१०० सम्म समुन्द्रको जलस्तर सात फीटसम्म बढ्नसक्ने अनुमान गरिएको छ ।  

गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप