मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालका फोहोर पानी सिधै ढलमा मिसाउने गरेको पाइयो

मङ्गलबार, ०९ असोज २०७५, २१ : २२
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो । 

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सचिव गजेन्द्र ठाकुर, मन्त्रालय मातहतका विभाग, बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले सामान्य प्रशोधन पनि नगरी ढलमा मिसाएको पाइएको हो । 

मन्त्रालयका अनुसार वीर अस्पतालले दैनिक एक लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ । काठमाडौं उपत्यका लिमिटेडबाट वितरण गरेको धाराबाट हप्तामा एक पटक पानी आउने हुँदा अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तानिएको पाइएको हो । अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागिसमेत अनुमति लिइएको छैन । 

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चार वटा डिप बोरिङ सञ्चालनमा ल्याएको भए पनि एउटाको मात्रै अनुमति लिएको पाइएको छ । दैनिक आठ लाख लिटर पानी भूमिगत स्रोतको प्रयोग गरेको भएपनि फोहोर पानी व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ । 

यस्तै सेन्ट्रल विजनेश पार्कबाट निस्कने फोहोर तरल पदार्थ सिधै ढलमा मिसाइएको अनुगमनको क्रममा फेला परेको मन्त्रालयले जनाएको छ । उक्त व्यापारिक संस्थाले दैनिक ४० हजार लिटर पानी प्रयोग गर्दै आएको छ । 

यसैगरी पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ । दैनिक चार लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भएपनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ । 

त्यस्तै नमूना बस्ती हात्तीवनले समेत अनुमति नलिई भूमिगत स्रोतको पानी उपयोग गरेको छ । दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । तरल फोहरको व्यवस्थापनपछि मात्रै खोलामा पठाइएको अनुगमनका क्रममा देखिएको छ । 

यस्तै ललितपुरको भैँसेपाटीमा रहेको वाई वाई चाउचाउ उद्योगले दैनिक ५० हजार लिटर पानी प्रयोग गर्ने गरेको छ । 

अनुमति नलिईकन डिप बोरिङ सञ्चालन गर्नेलाई तत्काल अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्री मगरले फोहर पानी प्रशोधनपछि मात्रै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्न र अनुमति लिएर मात्रै डिप बोरिङ सञ्चालन गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको बताइन् । 

उनले ठूला संस्था वा प्रतिष्ठानको अनुमगन कार्य निरन्तर जारी रहनेसमेत जानकारी दिइन् । मन्त्री मगरले केही दिन पहिले काठमाडौँका पानी उद्योगको समेत स्थलगत निरीक्षण गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप