शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला बलात्कार–हत्या छानबिन प्रतिवेदन : तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटी’

मङ्गलबार, ०९ असोज २०७५, १६ : ४९
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई छानबिन प्रतिवेदन बुझाएको छ । 

कारागार व्यवस्थापन विभागका प्रमुख (सह–सचिव) हरि प्रसाद मैनालीको नेतृत्वमा गठन भएको छानबिन समितिले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ‘गम्भीर त्रुटी’ औंल्याएको छ ।

समितिले तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्कासँग बयान लिएको थियो । बयानका क्रममा खड्काले आफूले ‘गोली नचलाउनु’ भन्दै प्रहरी उपरीक्षक विष्टलाई लिखित आदेश नै दिएको बताएका थिए । 

निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनका क्रममा भदौ ७ र त्यसपछि कञ्चनपुरमा पटक–पटक गोली चलेको थियो । समितिले दिएको प्रतिवेदन अनुसार छानबिनका क्रममा एसपी विष्टले तत्कालिन प्रमुख जिल्ला अधिकारीले दिएको लिखित आदेश अनुसार नै आफूले काम गरेपनि फिल्डमा काम गर्ने ‘फिल्ड अफिसर’ ले समेत आफूलाई गोली चलाइसकेपछि मात्र रिपोर्ट गरेको बयान दिएका छन् । 

‘स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मात्र गोली चलाउनुपर्ने भएपनि प्रहरी उपरीक्षक विष्टले समन्वय नै नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ’ समितिका एक सदस्यले रातोपाटीसँग भने, ‘समन्वय अभाव र एसपीको कमजोरीका कारण घटनाक्रम एकपछि अर्को गर्दै झन् कम्प्लिकेटेड बनेको कुरा प्रतिवेदनमा उल्लेख गरेका छौं ।’  

कञ्चनपुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुरमा प्रहरीले गोली चलाएपछी पटक–पटक आफूले प्रहरी उपरीक्षक विष्टलाई फोन गर्दा उनले फोन समेत नउठाएको बयान दिएका छन् । प्रमुख जिल्ला अधिकारीसँगको समन्वय बिना प्रहरी उपरीक्षक विष्टले किन गोली चलाउने आदेश दिए ? समितिले यसबारे गम्भीर प्रश्न उठाएको छ । 

छानबिन समितिले प्रमुख जिल्ला अधिकारीको ड्राईभर, एसपी र डिएसपीको ड्राईभरलाई समेत बयान लिएको थियो । 

छानविन समितिले निर्मलाको शव भेटिएको स्थललाई प्रहरीले जसरी सुरक्षित गरेर प्रमाण संकलन गनुपर्ने थियो त्यसमा लापरवाही गरेर गम्भीर त्रुटी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । ‘निर्मलाको सुरुवाल धुनु, शरीरमा लागेको माटो पखाल्ने लगायतका कार्य प्रहरी अनुसन्धानको मर्म अनुसार देखिएन’ प्रतिवेदनमा भनिएको छ, ‘घटनास्थलबाट प्रमाण संकलनमा लापरवाही हुँदा घट्नाको अनुसन्धान थप जटिल बनेको छ ।’ 

प्रहरी कमजोरीको कथाले भरिएको मोटो प्रतिवेदनले शंकास्पद केही व्यक्तिहरुमाथि अनुसन्धान गर्न सुझाएको छ । तर, त्यस्ता ब्यक्तिहरु को हुन भन्नेबारे समितिका सदस्यहरुले मुख खोल्न चाहेनन् । 
समितिका एक सदस्यले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यान्वयन भएमा हत्यारा उम्किनै सक्दैन, थप अनुसन्धानको पनि आवश्यकता पर्दैन, सबैकुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।’

सह–सचिव नेतृत्वको समितीले निर्मला पन्तको हत्यापछि भएको आन्दोलन, अनुसन्धानको क्रममा भएको कमजोरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको प्रहरी टोलीले गरेको काम–कारवाही लगायत समग्र विषयमा छानबिन गरेको थियो । 

प्रहरी कर्मचारीको सम्बन्धमा आन्तरिक छानविन गर्नका लागीे एआईजी धिरु बस्न्यातको नेतृत्वमा बनेको छुट्टै समितीले काम गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप