बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय थिङ्कट्याङ्कको सल्लाहमा ‘सीमा संवाद’ चलाउँदै राजपा

मङ्गलबार, ०९ असोज २०७५, १६ : ३६
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौँ  । नेपाल–भारत सीमा क्षेत्रमा कडाई गर्ने या अहिलेकै अवस्थालाई कायम राख्ने भन्नेबारे बहस चलिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले सीमा क्षेत्रमा त्यसबारे बहस चलाएका छन् ।

राजपाका नेताहरुले ‘नेपाल भारत खुला सीमा संवाद समूह’ गठन गरेर अहिले तराई मधेशका सीमावर्ती जिल्लाहरुमा कामर्यक्रम शुरु गरेका छन् ।

आज सोही समूहले वीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सहभागी भएका छन् । 

असोज ५ गते सो समूहले सप्तरीको राजविराजमा कार्यक्रमको आयोजना गरेको थियो । त्यसका प्रमुख अतिथि राजपा नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह थिए । 

भदौ २० गते जनकपुरमा एक बैठक बसी नेपाल र भारतबीच सुमधुर सम्बन्ध निर्माण गर्ने उद्देश्यले राजपा नेपालका महासचिव राजिव झाको संयोजकत्वमा सो समुह गठन गरिएको थियो । सो समूहमा राजेश चौधरी, मनोज चौधरी, पंकज मण्डल, दीपक कर्ण, अजय अनुरागी, कुन्दन झा, रामकृपाल साह, किरण झा, बजरंग यादव र अनिल महासेठ रहेका छन् । 

सो समूहको सल्लाहकारमा पूर्व प्रमुख जिल्ला अधिकारी जिवछ मिश्र र ब्रम्हदेव झालाई राखिएको छ । 

समूहमा सबै क्षेत्रका व्यक्तित्वहरु राखिएपनि  राजपा नेपालका नेताहरुकै बाहूल्यता रहेको छ । 

नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गर्न २०७३ मा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले आफ्नो प्रतिवेदन बुझाउन ठिक पारेको अवस्थामा नेपालको सीमामा यस्तो शृङ्खलावद्ध रुपमा कार्यक्रमहरु आयोजना हुन थालेपछि यसलाई नेपाल स्थित भारतीय दूतावासले पनि चासोका रुपमा लिएको छ ।

नेपाल भारतको सीमा विवादकै कारण इपिजीको प्रतिवेदन बुझ्न ढिलो भइरहेको यस अवस्थामा संसदमा रहेको एउटा दलका नेताहरुको अगुवाईमा सो कार्यक्रम हुनुलाई चासोका रुपमा हेरिएको बुझिएको छ । 

कसरी जन्मियो समूह ?

काठमाडौंमा साउन १५ गते नेपाल भारतका थिंक ट्यांकहरुको सम्मेलन भएको थियो । सम्मेलनको एक सत्रमा इपीजीका सदस्य राजन भट्टराईले नेपाल भारतको सीमा क्षेत्रमा परिचयप वा पासपोर्टको व्यवस्था गर्ने भनि धारणा राखे । 

त्यसलाई त्यहाँ कतिपयले समर्थन गरे भने कतिपयले विरोध पनि गरे । कार्यक्रममा सहभागीका रुपमा आएका अनिल महासेठ जो राजपा नेपालका केन्द्रीय सदस्य हुन् । उनले यसबारे सीमा क्षेत्रमा अभियान चलाउनु पर्ने बताए । 

त्यसलगत्तै उनी विभिन्न व्यक्तिसँग सम्पर्क गर्दै सोही विषयमा सरसल्लाहका लागि भदौं ४ गते दिल्लीसम्म पुगे । राजपा नेपालका महासचिव राजिव झाका साथ दिल्ली पुगेका उनी भारतीय जनता पार्टीको हेडक्वाटरसम्म पनि पुगे । 

त्यहाँ उनीहरुले भाजपा केन्द्रीय कार्यालयका सचिव महेन्द्र कुमारलाई भेटेर अटल विहारी वाजपेइको विषयमा राजपा नेपालले दिएको शोक सन्देश बुझाए ।

त्यहाँ उनीहरुले नेपाल–भारत सीमाको विषमया पनि कुराकानी गरेका थिए ।  

यस्तै उनीहरु भारत सरकारका सहयोगी संस्था अन्तराष्ट्रिय मामिला तथा सुरक्षासम्बन्धी अध्ययन गर्ने थिंक टयांक संस्था ‘आइडीएस’ सम्म पुगेका थिए । 

त्यहाँ उनीहरु त्यसका रिसर्च फेलो निहार नायकसँग भेटे । जो साउन १५ गते नेपालमा भएको थिंकट्यांक सम्मेलनमा भाग लिन काठमाडौ आएका थिए । 

नायकसँग उनीहरुले नेपाल–भारतको सीमा बारेमा छलफल गरेका थिए । नेपाल–भारतको सुरक्षा तथा राजनीतिकका जानकार मानिएका उनले सीमा सुरक्षामा संवेदनशिल हुन सुझाव दिए । सीमामा कडा पार्ने, काँडेतार लगाउने वा परिचयपत्र लागू गर्नेसम्मका कुराकानी भइरहेको सन्दर्भमा  सीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेर अघि बढ्न सुझाए । 

त्यसपछि उनीहरु भारतको पटना (विहार), झारखण्ड हुँदै नेपाल फर्के । 

यसो त  झारखण्ड र पटनामा  रहँदा पनि उनीहरुले सीमाको विषयमा छलफल गरेका थिए । 

पटना हुँदै भदौ १५ गते जनकपुर पुगेका उनीहरुले भारतमा भएको विभिन्न भेटघाटको समीक्षा गर्दै एउटा समूह बनाएर अगाडि बढ्ने निर्णय गरे । जसअनुसार भदौं २० गते समूह गठन भएको हो ।

समूह गठन भएसँगै भदौं २४ गते जनकपुरमा  र भदौ २६ गते पिपरौन गाउँमा खुला सीमा कायम राख्ने वा कडाई गर्ने भन्नेबारेमा छलफल भएको थियो ।  

त्यसपछि भदौं ५ गते राजविराजमा कार्यक्रम गरिएकोमा आज वीरगञ्जमा गरिएको हो ।

यसैगरी समूहले बुधवार रौतहटमा अर्को छलफल कार्यक्रम गरिएको एक सदस्यले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप