शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असफल प्रेमले निम्त्याएको दुर्घटना : बिमल र बसन्तीको यस्तो थियो ‘प्रेम’ को गोलचक्कर

मङ्गलबार, ०९ असोज २०७५, १६ : २८
मङ्गलबार, ०९ असोज २०७५

परासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ वर्षीय विमल सिर्पालीले सोही स्थानकी २७ बर्षीया बसन्ती परियारको शरीरमा एसिड छर्कनुका साथै छुरा समेत प्रहार गरे ।

विमलले छर्केको एसिड र छुरा प्रहारबाट गम्भीर घाइते बनेकी बसन्तीको हाल चितवनस्थित एक अस्पतालमा उपचार भइरहेको छ । 

किन छर्के विमलले एसिड ?
प्रहरीका अनुसार विमल र बसन्ती छिमेकी हुन् । यसअघि उनीहरुबीच आपसमा सहयोग आदन प्रदान र आपसमा कुराकानी समेत भैरहन्थ्यो । यसैक्रममा उनीहरुबीच प्रेम सम्बन्ध समेत बस्दै गयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना हुनुको मुख्य कारण बसन्तीले विमलसँग विवाह गर्न नमान्नु रहेको खुलेको छ ।

‘हालसम्मको अनुसन्धानमा बसन्तीले आफनो प्रेमी बिमलसँग विवाह गर्ने पूर्व सहमतिबाट पछि हटेकाले उनीमाथि एसिड प्रहार गरेको बयान विमलले दिइसकेका छन्’ अनुसन्धानमा संलग्न प्रहरी भन्छन् –‘ घटनाको मुख्य कारण नै विमलले बसन्तीलाई राखेको विवाहको प्रस्ताव नमान्नु देखिन्छ ।’ 

नवलपुर प्रहरी कार्याललयका प्रहरी नायब उपरीक्षक लिलाधर लामिछानेले बसन्तीले बिमलको प्रस्ताव अस्वीकार गरेपछि एसिड र चक्कु हानेर ज्यान मार्ने प्रयास गरेको खुलेको जानकारी दिए । 

‘विदेश बस्दै आएका बिमल र बसन्तीबीच प्रेम सम्बन्ध बढ्दै गएपछि बिमलले बसन्तीसँग विवाह गर्न भनेर  ५ महिना अगाडी नेपाल फर्किएका थिए । तर, घर फर्किएका बिमलले बसन्तीलाई विवाहको प्रस्ताव सार्दा बसन्तीले आलटाल गरिन् । 

बसन्तीले आलटाल गर्न थालेपछि उनीहरुबीच समय समयमा सामान्य भनाभन समेत हुने गरेको थियो । बसन्तीका श्रीमान बैदेशिक रोजगारीका क्रममा विदेशमै थिए । 

जब बसन्तीका श्रीमान नेपाल फर्किए 
विमल बसन्तीलाई जसरी पनि बिवाह गर्न चाहान्थे । बसन्तीले बिमलालाई आशा पनि देखाएकी थिइन् । यहि क्रममा बसन्तीका श्रीमान यमनारायण परियार (प्रकाश) दुई साताअघि मात्रै विदेशबाट घर फर्किए ।

यमनारायण घर फर्केसँगै बिमल र बसन्तीबीच विवाह हुने सम्भावना टर्दै गयो । बिमलको विवाह बसन्तीसँग नहुने पक्का भइसकेपछि बिमलले बदला लिने सोच बनाए । फलस्वरुप सोमबार साँझ ६ बजे योजनाबद्ध तरिकाले बसन्ती माथि एसिड मात्रै खन्याएनन् चक्कु हानेर ज्यानै लिने दुश्प्रयास गरे । 

यसरी आक्रमण गरे विमलले 
सोमबार साँझपख बसन्ती बजार बजार गइन् । बसन्ती बजार गएको बिमलले नियालिरहेका थिए । जव बसन्ती बजारबाट घर फर्किदै थिइन् । उनीमाथि एकसी एसिड र छुरा प्रहार भयो । केराघारीमा लुकेर बसेका बिमलले पछाडीबाट बसन्तीको कपाल तान्दै मुखमा एसिड खन्याए । अनि चक्कु हानेर ज्यान मार्ने प्रयास समेत गरे । 

शरीरमा एसिड र चक्कू प्रहार भएपछि बसन्ती चिच्याउन र छटपटाउन थालिन् । बसन्तीसँगै रहेकी एक युवतीले बचाउन खोज्दा उनलाई पनि बिमलले प्रहार गरे । जसबाट ती युवती पनि घाइते भइन् ।

बसन्ती छटपटिएर चिच्चाउन थालेपछि आत्तिएका बिमल त्यसपछि भागे । एसिड र चक्कुले गम्भीर घाइते भएकी बसन्तीलाई तत्काल उपचारका लागि स्थानीय मध्यविन्दु सामुदायीक अस्पताल लगियो । ‘घटनालगत्तै घटनाका मुख्य दोषी बिमल नै भएको भन्दै स्थानीयले बिमलको घर घेराउ गरे’ कावासोती नगरपालिका १६ का वडाअध्यक्ष एकादत्त वस्तीले घटनाबारे बताए ।

केही दिनअघि देखि नै विमलले बसन्तीलाई घुम्न जाऔं भन्दै आएका थिए । यो कुरा बसन्तीले आफन्तहरुलाई समेत भनेकी थिइन् ।

को हुन् बिमल र बसन्ती ?
कावासोती नगरपालिका १६ हरमासी टोल घर भएका बिमल सिर्पाली र बसन्ती परियार छिमेकी हुन् ।

बिमल र बसन्तीको श्रीमान प्रकाश भन्ने यमनारायण परियार पनि साथि नै हुन् । दुबैको घर आमने सामने छ । बिमल र बसन्ती दुबै विवाहित हुन् । बिमलको एउटा छोरी र बसन्तीका एक १२ बर्षे छोरा र १० बर्षे छोरी छन् । बिमल र प्रकाश दुबै लामो समयदेखि विदेश बस्दै आएका थिए । तर, बिमलको आफ्नी श्रीमतिसँग खासै राम्रो सम्बन्ध थिएन । बिमलले विदेशबाट पठाएको पैसा पनि घरमा नदिई श्रीमतिले माइततिर दिने गरेकी थिइन् । विमल र श्रीमतिबीच प्राय यसैविषयमा झगडा समेत चल्दै आएको थियो । 

५ महिना अगाडी विदेशबाट घर फर्किएका बिमल र उनको श्रीमति बिच छुट पत्रको लागि अदालतमा मुद्दा समेत चलिरेहेको छ । अहिले बिमलको श्रीमति आफनो छोरी लिएर माईतमा बस्दै आएकी छन् । यो भन्दा पहिलादेखि नै बिमल र बसन्तीबीच प्रेम बसेको थियो ।

यसरी भयो घटना
बिमल र प्रकाश श्रीमति बसन्तीबीच केहि बर्षदेखि प्रेम सम्बन्ध चलिरहेको थियो । प्रेम सम्बन्ध बलियो हुदै गयो ।  दुबैले विवाह नै गर्ने मानसिकता बनाए । विदेश रहेका बिमल आफनी श्रीमतिलाई डिभोर्स दिन र बसन्तीसँग विवाह गर्न भन्दै ५ महिना अगाडी नेपाल फर्के तर बसन्ती र बिमलको पूर्व सहमति अनुसार विवाह हुनसक्ने अवस्था टर्दै गयो । दुई साता अगाडी बसन्तीका श्रीमान घर फर्केपछि त विवाहको कुरा झन् जटिल बन्न पुग्यो । जसको परिणाम बिमलले बसन्तीलाई एसिड र चक्कु प्रहार गर्न पुगे ।

यस्तो छ बसन्तीको स्वास्थ्य अवस्था
थप उपचारका लागि गम्भीर घाईते बसन्तीलाई चितवनको भरतपुर मेडिकल कलेज लगिएको छ । उनको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । एसिडले उनको दाहिने र देब्रे गाला जलेका छन् । एउटा आँखा डयामेज भैसकेको छ । एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको तथा त्यसको असर श्वास–प्रश्वासमा समेत परेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार बसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको छ ।

चक्कु प्रहार छेक्न खोज्दा बसन्तीकोे दायाँ गालाको हड्डी पनि फुटेको छ । बिमलले देव्रेतर्फको पेटमा प्रहार गरेको चक्कुले सानो आन्द्रा नै बाहिर आएको छ । जसको अप्रेशन सोमबार राती नै भैसकेको छ । अस्पतालका सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको अस्पतालले जनाएको छ । 

विवाह गर्न नमानेपछि महिलामाथि ‘एसिड र छुरा’ प्रहार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप