बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेरि खोलियो धौलीगङ्गा बाँध, सतर्क हुन आह्वान

मङ्गलबार, ०९ असोज २०७५, १५ : २१
मङ्गलबार, ०९ असोज २०७५

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ । 

उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए । 

उनले भने, ‘बिहान ८ बजेदेखि बाँध खोल्ने भन्ने जानकारी आएको छ, त्यहाँको पानी सदरमुकाम पुग्न तीन घण्टा लाग्छ ।’ यस वर्षमात्रै परियोजनाको बाँध छैटौँ पटकसम्म खोलिएको हो । 

परियोजनाले पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बेलाबेलामा बाँध खुला गर्दै आएको छ । बाँधको पानी खोल्दा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

बाँधबाट बढी मात्रामा पानी खोल्दा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउ नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 

दुईसय असी मेगावाट विद्युत् क्षमताको उक्त परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गरेकाले नेपालतर्फ पनि सतर्कता अपनाउन सजिलो भएको हो । विसं २०७० मा उक्त बाँध खोल्दा दार्चुला सरमुकाममा अर्बौको धनमाल क्षति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप