बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दहचोकको इन्द्र दहमा विशेष मेला, यस्तो छ धार्मिक विश्वास (फोटोफिचर)

मङ्गलबार, ०९ असोज २०७५, १२ : ४५
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं – काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा रहेको इन्द्र दहमा आज (मंगलबार) विशेष मेला लागेको छ । 

प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन यो स्थानमा स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ । इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दै आएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ ।

पूर्णिमाको दिन इन्द्र दहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नास हुने जनविश्वास पाइन्छ । 

उक्त स्थानमा इन्द्रले आफ्नो माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा सोही दहमा स्नान गरेको समय देखि जात्रा मनाउन थालिएको स्थानिय समाजसेवी देबेन्द्र गिरीले बताए ।

इन्द्रले फूल चोरी गरेको अभियोगमा वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले सजायस्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको बुढापाका बताउँछन् । 

इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने कुरा आफुले बाजेको पालादेखि नै सुन्दै आएकोले पनि मेला भर्न आएको नागर्जुन ६ का किशोर श्रेष्ठले बताए । 

थानकोट, नैकाप, सितापाइला लगायत बिभिन्न स्थानबाट सजिलै पुग्न सकिने मोटर बाटोको अलवा पर्यटकका लागि बनाइएको बिभिन्न पदयात्रा मार्ग समेत रहेकोले मेलामा भिडभाड हुने गरेको हो । 

काठमाडौँ उपत्यकाको अलवा धादिङ, मकवानपुर, गोर्खा लगायतका स्थानबाट पनि यो दिन मेला भर्न सर्वसाधारण आउने गरेका छन् । 

पूर्णिमाको अघिल्लो साँझमा मन्दिरमा बत्ती बाल्ने चलन पनि रहेको छ । मृत्य भएका घरको सदस्यको नाममा यहाँ बत्ती बाल्नाले ती व्यक्तिले मोक्क्ष पाउने विश्वास रहिआएको स्थानीय मदन थापाले बताए । 
सोमबार साँझबाटै भीडभाड देखिएको मन्दिरमा भक्तजनको सुविधाका लागि बिहानैदेखि दह खुला गरिएका थियो । दह साँझसम्म खुला रहनेछ । 

बिगत केही दिनदेखि पानी नपरेको र आज मौसम पनि सफा रहेको कारण विगतका केही बर्षको भन्दा भक्तजनको चाप यो वर्ष बढी रहने अनुमान स्थानीयको छ । 

मेलामा खानेकुरा, लत्ताकपडादेखि विभिन्न खेलौनाको समेत स्टल राखिएका छन् । आजको दिनलाई नै लक्षित गरेर केही मौसमे होटल समेत खोलिएका छन् ।

मेलामा स्थानीय उत्पादन तरकारी, फलफूल र अन्य घरेलु सामान समेत राखिएका छन् । 

मेलामा आउने भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरीका अलवा नेपाल स्काउट, स्थानिय स्वयम्म सेवकको समेत व्यवस्था गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप