शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अझै बेच्दैछन् पाका मान्छे ‘काँचो कपडा’

मङ्गलबार, ०९ असोज २०७५, ११ : ४६
मङ्गलबार, ०९ असोज २०७५

बुटवल । बजारमा नुन, चामल र कपडाको भारी बोक्ने भरियाको कथा पछिल्लो समय एका देशको कथा जस्तै बनेको छ । गाडी चल्ने भएपछि  ‘ब्यापार ठप्प’ भयो भन्थे एकथरी व्यवसायी । भरियाहरूले पनि आफ्नो रोजीरोटी खोसिएको महसुस गर्थे ।

पश्चिम नेपाललाई वर्षौंदेखि थेग्ने बजार भनेको नै हालको प्रदेश ५ को अस्थायी राजधानी बुटवल हो ।  उहिले बटौली र खसौली बजार थियो र अहिले पनि छ । यो बजारमा अरू थुप्रै किसिमका व्यापार एकपछि अर्को मौलाउँदै गए । तर काँचो कपडा बेच्ने धेरै व्यापारीहरू विस्थापित नै भइसके । आजकाल बजारमा काँचो कपडा बेच्ने पसल र व्यापारी कमै मात्रै भेटिन्छन् । 

उतिबेला उधारोमा काँचो कपडा दिने चलन थियो । व्यावसायीको लाखौँ उधारो रकम उठ्न तब छाड्यो जब गाउँगाउँमा गाडी पुग्यो र रेडिमेड कपडाप्रति आकर्षण बढ्यो ।  पहिला पहिला कपडा व्यापारीसँगै कपडा सिलाउने पेसाकर्मीको पनि उस्तै व्यस्तता हुन्थ्यो । 

तर अहिले अधिकांश काँचो कपडा मात्रै भएका पसलमा बुढापाकाहरू नाप्ने फिता र कैँची समाएर हाई काड्दै बसेको देखिन्छ ।  बरु फेन्सी पसल र साडीलगायतका स्वरूपहरूमा युवायुवतीहरू धेरै भेटिन्छन् ।

तत्कालीन बटौली र खसौलीको कथा 

 बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा बुटवलका पुराना कपडा व्यवसायी हुन जीवनप्रसाद ओझा । उनी भन्छन्– ‘२०२५ सालअघिसम्म मेरा बुवाले कपडा बेच्नुहुन्थ्यो । त्यसयता मैले बेच्दै आएको छु ।  मसँगै तत्कालीन वारि खसौली र पारि बटौलीका पुराना कपडा  ब्यापारीहरूमा कर्णकुमार हेजु, महेशप्रसाद श्रेष्ठ, महेशकुमार राज भण्डारीलगायत थियौं । यो सिजनमा हामीलाई भ्याई नभ्याई हुन्थ्यो । उता  बाग्लुङ, पर्वत स्याङ्जा, पाल्पाको थोक व्यापारीहरू भरिया र खच्चड  लिएर नुन तेल, चामल  र कपडा किन्न आउँथे । रुकुम  रोल्पाका ब्यापारीहरूको पनि त्यसरी नै भीड लाग्थ्यो । यताबाट भालुबाङसम्म लैजाने र त्यहाँबाट भरिया र खच्चडबाट कपडा र नुन चामल बोकाएर दाङ, प्युठन, रुकुम रोल्पासम्म लैजाने गरिन्थ्यो । तीजमा महिलाहरू अहिलेका सिङ्गापुरे साडी जस्तै महँगा खद्दरका साडी छान्न आउँथे । मखमली, पिलाँसको चोलो पनि सँगै किन्थे ।’

ओझा त्यसबेला पसलमा कपडा च्यात्न भ्याई नभ्याई हुने गरेको सम्झन्छन् । तर अहिले इतिहासजस्तै बनेको छ । ‘अहिले त कपडा पसलमा बाहिर रेडिमेड कपडा नझुन्डाए ग्राहक नै पस्दैनन्’ उनको अनुभवले बताउँछ । २०३६÷०३७ सालसम्म तत्कालीन बटौली र खसौलीको त्यो व्यापार चलि नै रहेको थियो । 

  त्यसयता सिद्धार्थ राजमार्ग खुल्यो र पाल्पासम्म गाडी चल्यो । २०३७÷०३८ सालमा पाल्पाबाट रिडीसम्म मोटरबाटो खुल्यो । त्यस बेलासम्म पाल्पा र रिडीको ब्यापार बढ्यो । २०३९ सालतिर तम्घाससम्म मोटरबाटो खुल्यो । त्यसपछि व्यापारमा पनि विकेन्द्रीकरण भयो । उनका अनुसार २००७ सालअघिसम्मका पुराना व्यापारीहरू रुद्रविलास तिलाचन, द्रोणराज जोसी, सानुकाजी श्रेष्ठ, भारतीय नागरिक रामवकसलगायत बटौली–खौसौलीमा कहलाएका कपडा व्यापारी  थिए । 

कपडा व्यवसाय खत्तम भयो : वजिमियाँ

उनै पुरानामध्येका जीवित एक साक्षी हुन् रामबहादुर वजिमियाँ । बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका उनी २०१९ सालदेखि कपडा व्यवसाय गर्दै आएको बताउँछन् । ‘काँचो कपडाको व्यवसाय खत्तम भयो । खासै चल्दैन, बाहिर रेडिमेड कपडा नदेखाए मान्छे नै आउँदैनन्’, वजिमियाँ सुनाउँछन् । बटौली र खसौलीका पुराना कपडा ब्यापारी रामबहादुरका पिता तिलकबहादुर वजिमियाँ, युक्तबहादुर प्रधान, भरतकुमार प्रधान, अग्निकुमार ओझा, लक्ष्मी नरायण ओझालगायत थिए ।

को–को थिए कहलाएका कपडा ब्यापारी ? 

  बुटवलको उत्तरतर्फ वारि बाग्लुङ, पर्वत, स्याङ्जा, वल्लो अर्घाखाँची पूरै गुल्मीको व्यापारिक राजधानी पाल्पा थियो । पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठका अनुसार पाल्पा तानेसेनमा पुराना र कहलाएका कपडा व्यवसायीहरूमा गोविन्दे साहु अर्थात गोविन्दलाल कक्षपति, प्युठानी वस्त्रालयका यज्ञप्रसाद कक्षपति, भोलारत्न प्रधान, नरेन्द्र थैव, अनमोललाल श्रेष्ठ, बलराम प्रधान, नगेन्द्र शेखर बज्राचार्य, बैकुण्ठध्वज राजलवट, देवेन्द्रमान प्रधान, द्वारिकमान महार्जनलगायत थिए । 

अध्यक्ष श्रेष्ठका अनुसार पाल्पामा अहिले सुतीको साडीसमेत उत्पादन हुन्छ । ढाका उत्पादनको माग थेगिसाध्ये छैन । श्रेष्ठ भन्छन्– ‘स्थानीय उत्पादनलाई बढवा दिन नेताहरूले पनि स्थानीय तहमै सिलाएको कपडा लागाउनुपर्छ । जसरी भारतमा महात्मागान्धीले भारतीय उत्पादन सुतीभन्दा अन्य लगाएनन् ।’ 

६० वर्षअघि गणेशमानसिंहले उद्घाटन गरेको पाल्पाको ढाका उद्योग अहिले फस्टाएको छ । माग धान्नै गाह्रो छ । त्यसरी नै अन्य कपडा पनि स्थानीय तहमा सिलाएर लगाउन थाले खर्च कम, रोजगारी र रोजगारी समेत वृद्धि हुने व्यापारीको भनाइ छ । 

गुल्मीमा कपडा पसलको इतिहास 
 गुल्मीको सबैभन्दा पुरानो व्यापारिक केन्द्र रिडी बजार हो । गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाका अध्यक्ष सुर्वणलाल कक्षपतिका अनुसार रिडी बजारको इतिहास लिच्छविकालदेखिको हो । जहाँ  २०१८ साल अगाडिसम्म डम्बरबहादुर श्रेष्ठ र निर्मलप्रसाद श्रेष्ठसहितका पाँचवटा कपडा पसल निकै चलेका थिए । 

 यहाँ दोस्रो पुस्ताका अमृतमान वजिमय, मिनबहादुर कसाजु बढी कहलाए । हाल उनै डम्बरबहादुरका छोराहरूले आभास इम्पुरेन्स नामक कपडा पसल चलाएका छन् । भार्सेली कपडा पसलका विनोद भारी, गशेण थैव, प्रवेश कसाजु  र जीवन भण्डारी वर्तमान पुस्ताका रिडीमा कहलाएका ब्यापारी हुन् । रिडी धार्मिक क्षेत्र भएकाले अझै त्यहाँ काँचो कपडा राम्रै बिक्ने गरेको अध्यक्ष कक्षपति बताउँछन् । 

 पछि तत्कालीन बाग्लुङ गुल्मीको दोस्रो ठूलो व्यापारिक केन्द्र बन्यो वामिटक्सार । गुल्मी उद्योग वाणिज्य सङ्घ वामिटक्सार शाखाका अध्यक्ष सुदर्शन शाक्यका अनुसार उनका जिज्युहरू आज भन्दा २ सय १० वर्षअघि काठमाडौँबाट पैसा काट्न आएका थिए । टक अर्थात पैसा काट्ने भएकाले वामिटक्सार भनिएको हो । पुरानो पुस्ताका  सबैभन्दा कहलाएका मखने साहु अर्थात् मखनलाल श्रेष्ठ कपडा पसल र वैद्यका रूपमा जिल्लामा कहलाएका थिए । उनको पुस्तामा राजकुमार शाक्य, तेजप्रसाद शाक्य, लालचन श्रेष्ठ पनि कहलाएका पसले हुन् । 

दोस्रो पुस्तामा अञ्जनी कक्षापति, जसले अहिले भाँडा पसल चलाएकी छन् । उनीसँगै टोपनारायण श्रेष्ठ, बाबुराम सापकोटा पनि कहलाएका व्यापारी हुन् । वर्तमान पुस्तामा उनै सुदर्शन शाक्य, कृष्णकुमार बज्राचार्य, भूमिश्वर खनाल, राजकुमार शाक्यले कपडा पसल गर्छन् तर रेडिमेड बढी, काँचो कपडा कमै राख्छन् ।

 शाक्य भन्छन्– ‘काँचो कपडाको दिन हरायो, रेडिमेड कपडा राख्ने गरेका छौँ ।’ गुल्मीको सबैभन्दा ठूलो बजार तर तेस्रो विकासित व्यापारिक केन्द्र सदरमुकाम तम्घास हो । २००९ सालबाट पाल्पा, बाग्लुङबाट प्रशासनिक निकायबाट छुट्टिँदै तत्कालीन बडाहाकिम चन्द्रमान थकालीले बजारीकरण सुरु गरेपछि सदरमुकाम तम्घासमा सबैभन्दा पुरानो कपडा पसल चलाएका बखाने साहु अर्थात बखानसिंह श्रेष्ठ । उनीपछि भीमलाल मरासिनी कहलाए । उनैको नामबाट भीमचोक नामकरण गरियो । क्रमशः अयोध्याप्रसाद श्रेष्ठ, मानबहादुर श्रेष्ठ,  नरप्रसाद श्रेष्ठ, नन्दारम भुसाल, डिल्लीराज भुसाल पुरानामध्येका कहलाएका कपडा पसले हुन् । २०२६ सालदेखि हालसम्म कपडा पसल राखेका अयोध्याप्रसाद श्रेष्ठ भन्छन– ‘तीमध्ये धेरैले छाडे, मलगायत केहिले ब्लाउजका भित्री, सिरक डसना र केही ब्लजका पिस बेचेर दिन ठेलेका छौँ, पहिला जस्तो व्यापार छैन ।’  उनले रेडिमेड कपडाको फेसन आएपछि उधारो दिएको १० लाखभन्दा बढी रकम डुबेको बताए । 

गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ भन्छन्, ‘रेडिमेड कपडा फेसन मात्रै नभएर बाध्यता पनि हो । सिलाउने समय, मूल्य लगायतले मानिसहरूको रोजाइ रेडिमेड कपडा बन्यो । एउटा आस्कोट (स्टकोट) रेडिमेड किन्दा १२ सयमा पाइन्छ तर टे«लरले दुई हजारदेखि २५ सय लिन्छन् ।  यसकारणले कर्दा काँचो कपडाको ब्यापार घटेको हो ।’ 

पत्थरकोटलाई मोटरबाटोले दियो चोट 
बुटवलपछि अर्घाखाँची, गुल्मी, प्युठान र बाग्लुङसम्मको दोस्रो ठूलो व्यापारिक केन्द्र बनेको थियो, कपिलवस्तुको पत्थरकोट  बजार ।  जहाँ त्यतिबेला ढाक्रे भनिने भरियाहरू डोकामा आटो, कोदाको पिठो, सातु र हुक्का चिलिमसम्म बोकेर बाग्लुङ  गुल्मीबाट  तीन दिनदेखि सात दिनसम्मको बाटो हिँडेरै नुन, तेल चामल र कपडा बोक्न जान्थे । उनीहरूलाई स्वागत गर्थे पत्थरकोट बजारका ब्यापारीहरूले तर २०४० सालपछि  सन्धीखर्कमा मोटरबाटो सुरु भएसँगै पत्थरकोटका व्यापारीहरूलाई चोट लाग्यो । अर्घाखाँची उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज श्रेष्ठ भन्छन्– ‘धेरै व्यापारीका सन्तान र दरसन्तानले कपडा पसललाई फेन्सीमा परिणत गरिसकेका छन् ।’  

रोल्पामा चल्छ अझै काँचो कपडा 
रोल्पाको हकमा ग्रामीण भेगका बासिन्दाले काँचो कपडा सिलाएर लगाउने क्रम अहिले पनि कम नभएको त्यहाँका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य किशोर आचार्य बताउँछन् । उनका अनुसार सदरमुकाम लिवाङमा सबैभन्दा पुराना र कहलाएका कपडा व्यवसायीहरूमा आचार्य स्टेर्सका लेखनाथ आचर्य र उनका छोरा रमेश आचार्य, जीसी स्टेर्सका राजन श्रेष्ठ, राजेन्द्र कक्षापतिलगायत रहेका छन् । 

विगतमा जस्तै अहिले पनि ती पसलमा कपडा किन्नेको कमी छैन ।  छिमेकी जिल्ला रुकुम उद्योग वाणिज्य सङ्घका  पूर्वअध्यक्ष वसन्त पुनका अनुसार सदरमुकाम  खलाङ्गा, मुसिकोट कोटलगायतका बजार क्षेत्रमा रेडिमेड कपडा लगाउनेको सङ्ख्या बढे पनि ग्रामीण  क्षेत्रका अधिकांश काँचो कपडा सिलाएर लगाउने गरेका छन् । 

प्युठानका कोटी साहुपछि लङ्के साहु 
प्युठानको सदरमुकाम खलङ्गा र आसपासका बजारमा पुराना कपडा व्यवसायीका रूपमा कुटीचौरका कोटीप्रसाद कक्षपति र रुद्रकुमार कक्षपति पनि कहलिएका कपडा पसले हुन् । पछि होलसेल व्यापार गर्न कृष्णनगरतर्फ लागे कोटीप्रसाद  । त्यसपछि लङ्के साहुका रूपमा उदाए उनकै भाइ भतिजा पर्ने लङ्केश्वरप्रसाद कक्षपति । उनका माइला छोरा एवम् प्युठान उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केदारमान कक्षपति भन्छन्– ‘कोटीचौरमा उहाँपछि मेरा बुबालाई बाग्दुलामा  पुराना कपडा व्यवसायीका रूपमा चिन्न थालियो ।’ काँचो कपडा बिक्न छाडेपछि उनीहरूका पुस्ता फेन्सी पसल गर्न थालेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप