शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दो

मङ्गलबार, ०९ असोज २०७५, ११ : ०९
मङ्गलबार, ०९ असोज २०७५

– आदित्य दाहाल 

काठमाडौं– पछिल्लो समय लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै गएको पाइएको छ । 

सरकार र विभिन्न सङ्घसंस्थाले लागूऔषध प्रयोगकर्ता घटाउने तथा यसको प्रयोगले हुने असरबारे सचेत गराउने विषयमा विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोगक र कारोबारमा कमी आउन सकेको छैन ।
 महानगरीय प्रहरी वृत्त बौद्धले १४ महिनामा ६० लागूऔषध प्रयोगकर्ता पक्राउ गरी मुद्दा चलाएको छ । दर्ता भएका ३५ मुद्दामा १९ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । 

आर्थिक वर्ष २०७४÷७५ मा ३० युवा र सात किशोर लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेका थिए । चालु आवको असोज पहिलो सातासम्म १८ वर्ष भन्दा बढी उमेरका २३ जना पक्राउ परेका छन् । गत आव र चालु आवको तुलनात्मक अध्ययनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ । यसको नियन्त्रण र रोकथामका लागि हुने गरेका विभिन्न कार्यक्रम व्यवहारमा लागू भएका देखिँदैनन् । 

परिवारको संरक्षण नपाएका, सडक बालबालिका, कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालकालिका तथा युवा लागूऔषधको प्रयोगकर्ता बढी भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खानाल बताउँछिन् । 
 
लागूऔषध प्रयोगकर्ताको अवस्था दिनदिनै दयनीय बन्दै गएको उनको भनाइ छ । “साथीसङ्गतका कारण थुप्रै बालबालिका कुलतमा फसेका छन्,” उनले भनिन्। 

लागूऔषध सेवनकर्ता र कारोबारीको सङ्ख्या न्यूनीकरण गर्न तथा युवापुस्तामाझ यसको दीर्घकालीन असरबारे सचेतना अभियान सञ्चालनमा जोड दिनु पर्छ । 

प्रहरी निरीक्षक गिरीले लागूऔषध प्रयोगकर्ता लागूऔषध ओसारपसारमा समेत संलग्न रहेको पाइएको बताउँछिन्  । गत भदौ ३१ गते मात्रै प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नक्कली पेस्तोलसहित प्रहरीले चुच्चेपाटीबाट इलामको माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिवसताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राईलाई पक्राउ गरेको थियो । उनीहरू प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । 

अहिले युवा हतियारसहित लागूऔषधको प्रयोग र कारोबारीमा लागेको भन्दै प्रहरीले पछिल्लो समय अनुसन्धानलाई तीव्र पारेको छ । 
अन्तर्राष्ट्रिय मुद्दासमेत बनेकोे लागूऔषधको नेपालमा अझै रोकथाम हुनसकेको छैन । यसको ओसारपसार र प्रयोग गर्नेमा बालबालिका तथा युवायुवतीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी गाँजा, नारोजैसिक, डाइजेपाम, एभिल, कोरेक्स, नाइट्रोसन, स्मास्मो प्रोक्सिन र खैरो हिरोइनलगायतका लागूऔषध प्रयोग हुने गरेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप