मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

सोमबार, ०८ असोज २०७५, १६ : ०८
सोमबार, ०८ असोज २०७५

–ज्ञानेन्द्र न्यौपाने 
रसुवा– गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् ।  नेपालकी छोरी भृकुटीको घर माइत गर्ने प्रमुख मार्ग नुवाकोट, केरुङ हुँदै तिब्बत थियो । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच विवाह हुँदा जन्ती आएको गएको तथा घर माइती ओहोरदोहर रसुवाबाट भएको थियो ।

उनी राष्ट्रिय विभूतिसमेत रहेकाले गल्छी–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडकलाई भृकुटी राजमार्ग कायम गर्न प्रस्ताव गरिएको हो । अहिले बालाजु–धुञ्चे सडकको नाम राष्ट्रिय विभूति सगरमाथा आरोही पासाङल्हामु शेर्पाको नामबाट राखिएको छ । 

सो सडकको नाम ‘भृकुटी राजमार्ग’ राख्ने प्रस्तावमा रसुवाका पाँच गाउँपालिका प्रमुख तथा रसुवा नागरिक समाजले समेत समर्थन गरेका छन् । भृकुटी राजमार्ग नामकरण गर्न समर्थन गर्नेमा गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, कालिका गापा अध्यक्ष सीतादेवी पौडेल, ,उत्तरगया गापा अध्यक्ष उपेन्द्र लम्साल, नौकुण्ड गापा अध्यक्ष नुर्पुसाङ्मो घले र पार्वतीकुण्ड गापा अध्यक्ष बुचुङ तामाङ तथा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ रहेका छन् । 

गल्छीदेखि मैलुङ रसुवागढीको दूरी ८७ किमी रहेको डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनीयर वीरेन्द्रप्रकाश गुप्ताले जानकारी दिनुभयो । काठमाडौँ देवपतनका महासामन्त अंशुवर्माले तिब्बतको सम्भावित आक्रमणबाट नेपाललाई जोगाउन, बौद्ध धर्म तिब्बतमा प्रचारप्रसार गर्न र तिब्बतमा सुन छ भन्ने मोहबाटै नाता सम्बन्ध स्थापित गर्न आफ्न छोरी भृकृटीलाई तिब्बतका राजा स्रङ्चङगम्पोसँग विवाह गराएको पूर्वप्रशासक एवं इतिहासकार रेशमबहादुर पाण्डे बताउछन् । राष्ट्रिय विभूतिका रुपमा समेत सम्मानित भृकुटीका नामबाट राजमार्गको नामकरण गर्दा अत्यन्तै उपयुक्त हुने सुझाव उनले दिए । 

भृकुटीले विवाहपछि दुलहीका रुपमा काठमाडौँको जीतपुर फेदी, नुवाकोट डाँडा, गेर्खुटार, बेत्रावती, कालिकास्थान, स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी हुँदै गएको र यही मार्गबाट घरमाइती गर्ने गरेको इतिहास रहेको बताउँदै पाण्डेले नेपाल र तिब्बत व्यापार व्यवसायको शुरुआत गर्ने पहिलो व्यक्ति भृकुटी नै भएको ठोकुवा गरे । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप