बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

सोमबार, ०८ असोज २०७५, १५ : ३३
सोमबार, ०८ असोज २०७५

पशुपतिनगर– इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । 

सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि सरकारले स्वीकृत दिएको हो । 

जिल्ला सुरक्षा समितिले इलामको नेपाल भारत सीमा क्षेत्रका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बीसे र सन्दकपुर क्षेत्रमा सीमा सुरक्षा बलको टोली राख्ने स्वीकृत मागेको थियो । सुरक्षा समितिको सिफारिशका आधारमा सरकारले पहिलो चरणमा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृति दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए  । 

तीन हप्ताअघिनै सुरक्षा पोष्ट राख्ने स्वीकृति दिएकाले सुरक्षा फौज बस्ने स्थानको खोजी भइरहेको तिमिल्सिनाले बताए । सीमा सुरक्षा पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा ३७ जनाको टोली रहने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलामका प्रमुख विदुर खड्काले बताए । जिल्ला सुरक्षा समितिले सुरक्षा पोष्ट राख्नका लागि पशुपतिनगर भन्सार कार्यालयको पुरानो भवनको माग गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ । 

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ तिमिल्सिनाले सरकारबाट स्वीृकति आउनेबित्तिकै बाँकी तीन स्थानमा पनि सीमा सुरक्षा पोष्ट राखिने बताए । सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ को स्थापना इलाममा भएपछि पर्याप्त मात्रामा सुरक्षा फौजको जनशक्ति रहेकाले स्वीकृति पाउनबित्तिकै सीमा सुरक्षा पोष्ट स्थापना गरिने जिल्ला सुरक्षा समितिको योजना छ । एक महिनाअघि ६२१ दरबन्दी रहेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा स्थापना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप