केन्द्रीय संस्करण

३२ वर्षको उमेरमा सुत्न गइन्, उठ्दा भइन् १५ वर्ष

person access_timeअसोज ८, २०७५ chat_bubble_outline0

मिरयम मारुफ /बीबीसी

एक बिहान नाओमी ज्याकब्स उठिन् तर आफू को हो उनलाई केही थाहा भएन ।  सन् २००८ को अप्रिलमा ब्रिटेनको शहर म्यान्चेस्टरमा एक सानो घरमा उठ्दा उनी अचम्ममा परिन् ।

उठ्दा उनलाई लागेको थियो, उनी १५ वर्षे किशोरी हुन् तर वास्तवमा उनी ३२ वर्षकी महिला थिइन् । उनी उठ्दा सन् २००८ मा थिइन् तर उनका लागि यो सन् १९९२  थियो । उनी पछिल्लो शताब्दीमा आइपुगेकी थिइन् ।

‘पहिलो केही सेकेन्ड त मैले सपना देखिरहेकी छु जस्तो लागेको थियो । तर यो त एउटा नराम्रो सपना थियो । म जुन कोठामा उठेँ, त्यसलाई पनि मैले चिन्नै सकिनँ ।’

‘मलाई याद छ कि मैले आँखा खोल्दा सुरुमा पर्दा देखेकी थिएँ तर मैले त्यो पनि चिन्न सकिनँ । दराज, म पल्टिरहेकी ओछ्यान, कोठाको सबैकुरा देख्दा निकै अचम्म लागेको थियो । मैले आफ्नो शरिर हेरें, मैले एउटा पाइजामा लगाएको थियो त्यसलाई पनि मैले पहिले कहिले देखेकी थिइनँ ।’

‘मैले आफूलाई ऐनामा हेरें । मेरो अनुहार परिवर्तन भएको थियो । यो पहेंलो भएको थियो र म निकै बुढी देखिएकी थिएँ । आफ्नो आवाज सुन्दा आफैंलाई अचम्म लागेको थियो ।’

तर फरक के थियो ?

‘भविष्य’ मा पुगिन् नाओमीः

‘मलाई लागिरहेको थियो कि म १५ वर्षे किशोरी हुँ । मेरो सबै भावना १५ वर्षकी किशोरीको थियो र मैले सोचिरहेको थिएँ कि यो सन् १९९२ हो ।’

तर त्यो समय सन् १९९२ नभई सन् २००८ थियो । उनी १५ वर्षकी किशोरी होइन ३२ वर्षे महिला थिइन् ।

नाओमीले पछिल्लो डेढ दशकको आफ्नो सबै स्मरणशक्ति गुमाइसकेकी थिइन् ।

नाओमीले अब २१ औं शताब्दीको सामना गर्नुपरेको थियो । २१ औं शताब्दीको जीवन, प्रविधी, संस्कृति र खबरको ।

आफू जुन वर्षमा भएको उनी ठान्छिन् त्यसमा न त इन्टेरनेट थियो, न सोसल मिडिया न नै स्मार्टफोन ।

यतिमात्र होइन ।

उनको वास्तविकताको हिसाबले त दक्षिण अफ्रिकामा जातीय राजनीतिक र सामाजिक व्यवस्था अहिले पनि त्यहीँ छ र नेल्सन मन्डेलाको स्वतन्त्र आन्दोलन पनि समाप्त भएको छैन ।

इराकमा सद्दाम हुसैन सत्तामा थिए जबकी इंगल्याण्डमा राजकुमारी डायनाका प्रशंसक बढ्दै थिए ।

र संयुक्त राज्य अमेरिकामा कुनै काला व्यक्ति ‘ह्वाइट हाउस’ सम्म पुग्ने इच्छा राख्नु एउटा सपना जस्तो थियो ।

नाओमी याद गर्छिन्, ‘वाह, म विश्वास गर्न सकिरहेको थिइनँ । मैले कहिले सोचेको थिइनँ कि म आफ्नो जीवनमा यस्तो भइरहेको देख्नेछु । सुरुमा त मैले यो कुनै मजाक होला भन्ने सोचें । यो ओबामा को हुन् ? के उनी वास्तवमा नै छन् ?’

तर सबैभन्दा मुश्किल यो थियो कि म लियो नामका १० वर्षका छोराकी आमा हुँ । यो वास्तविकताको सामना गर्नु सबैभन्दा मुश्किल थियो ।

‘पहिलो २४ घण्टासम्म त मैले मेरो छोरा भएको कुरा बुझ्नै सकिनँ । म अचम्ममा थिएँ, मेरो छोरा हाँस्दै क्लासबाट बाहिर आइरहेको थियो र म भने उसलाई घुरिरहेको थिएँ ।’

नाओमी जब १५ वर्षकी थिइन् तब एक पत्रकार वा लेखक बन्न चाहन्थिन् । संसारभरी घुम्न चाहन्थिन् र एउटा ठूलो घरमा बस्न चाहन्थिन् ।

तर उनले पाइन् कि उनी एक सिंगल पेरेन्ट थिइन्, जो आफ्नो खर्चका लागि सरकारमा निर्भर थिइन् । उनी बेरोजगार थिइन् र मनोविज्ञानको पढाई गरिरहेकी थिइन् जुन पढ्नेबारे १५ वर्षकी नाओमीले कहिले सोचेकी थिइनन् ।

‘मलाई त्यो वयस्क नाओमी मन परिरहेको थिएन । मैले बुझ्नै सकिनँ कि म यहाँसम्म कसरी पुगें । यसले मलाई तोडिरहेको थियो, उल्झनमा पारिरहेको थिएँ । म यो स्थितीमा आफूलाई हेर्न चाहन्नथें, न यो घरमा बस्न चाहन्थें न नै यस्तो जिन्दगी बाँच्न चाहन्थें ।’

जति उनलाई आफ्नो जीवनबारे थाहा हुन्थ्यो त्यति नै मनपर्दैनथ्यो ।

उनले महसुस गरिन् कि वर्तमानमा बाँच्नका लागि उनले आफ्नो अतितलाई परिवर्तन गर्नुपर्छ ।

जब ओछ्यान मुनी भेटियोः

उनी एउटा यस्तो डाक्टरलाई भेटिन् जसले उनको मद्दत त गरेनन् नै उनलाई विश्वास समेत गरेनन् । त्यसकारण उनी आफैंले यसलाई कसरी ठिक पार्ने त्यसबारे सोच्न थालिन् ।

‘म आफ्नो स्मरणशक्ति खोजीरहेकी थिएँ र सबैभन्दा पहिले मैले यो पत्ता लगाउनु थियो कि आखिर यस्तो कसरी भयो, म यो स्थितीमा कसरी पुगें ।’

उनकी बहिनी सिमोन र उनकी सबैभन्दा मिल्ने साथी केटी, जसले सुरुवातदेखि नै उनको मद्दत गरिरहेका छन्, का अनुसार नाओमी किशोरावस्थादेखि नै पत्रिकामा निकै लेख्ने गर्थिन् ती पत्रिका घरको कुनै कुनामा अहिले पनि भएको बताइन् ।

थोरै खोजी गरेपछि उनले ओछ्यान मुनी समाचार पत्रले भरिएको बाकस भेटिन् जसमा उनले गुमाएको १६ वर्षको याद थियो र उनको प्रश्नको जवाफ पनि ।

पत्रिकाका लागि लेखिएको जर्नलमा धेरै कुरा लेखिएको थियो जुन अचम्मित गरिदिने किसिमको थियो । उनलाई थाहा भयो कि उनलाई लागु औषधको लत थियो र एकपटक उनी बेघर पनि भएकी थिइन् ।

‘कुनैबेला मसँग निकै सफल व्यवसाय र मेरो घर थियो र केही समस्याका कारण म निकै खराब बाटोमा फसें र मैले आफ्नो व्यवसाय पनि गुमाएँ । आफ्नो घर गुमाएँ । म ड्रग्समा फसेको थिएँ ।’

‘म बेघर र टाट पल्टिसकेको थिएँ र त्यतिबेला मलाई थाहा भयो कि मलाई बाइपोलर डिसअर्डर छ ।’

तर समाचार पत्रमा केही अन्य जानकारी पनि थियो ।

‘त्यो पल सबैकुरा परिवर्तन भयो जब मैले ती समाचार पत्रमा पढें कि एक बच्चाको रुपमा ममाथि यौन शोषण भयो र मैले त्यो भयानक यादलाई ६ वर्षको उमेरदेखि २५ वर्षसम्म लुकाएर राखेकी थिएँ ।’

जो महिला आफूलाई  १५ वर्ष सम्झिन्छिन्  उनले आफ्नै विगतलाई आफूले २५ वर्षको उमेरमा लेखेको जर्नलबाट पढ्नुपर्दा निकै नराम्रो अनुभव थियो ।

यद्यपी, अहिले पनि विभिन्न प्रश्नको जवाफ बाँकी नै छन् ।

उनले सन् १९९२ र सन् २००८ बीचको आफ्नो जीवनबारे किन याद आइरहेको छैन । के भएको थियो जब उनी १५ वर्षकी थिइन् । १५ वर्षको उमेरमै किन ?

नाओमी भन्छिन्, ‘निकै तनाव थियो । मेरो परिवार टुटेको थियो । मेरा सौतेनी पिताले हामीलाई छोडेका थिए । मेरो आमासँगको सम्बन्ध टुटेको थियो ।’

ती समाचार पत्रका अनुसार नाओमीकी आमालाई रक्सीको लत लागेको थियो र उनीहरुबीच निकै नराम्रोसँग झगडा भएको थियो ।

नाओमी भन्छिन्, ‘त्यो झगडा पछि आमाले पिउन थालेकी थिइन् र मैले आफूलाई मार्ने कोशिश गरेको थिएँ ।’

‘१५ वर्षको उमेरमा मैले जुन निर्णय गरें त्यसले नै मेरो जीवनको दिशा तय भयो ।’

आफ्नो स्मरणशक्ति गुमाएपछि पहिलो पटक नाओमी आफूमाथि भएको हरेक कुराको सामना गर्नका लागि तयार थिइन् ।

एक गर्मी महिनाको बिहान, उनले स्मरणशक्ति गुमाएको लगभग तीन महिना पछि, नाओमी उठ्दा उनलाई एकदम भिन्न महसुस भइरहेको थियो । उनको स्मरणशक्ति फिर्ता आएको थियो र उनलाई थाहा थियो कि उनी २३ वर्षकी हुन् र त्यो सन् २००८ थियो ।

उनलाई के भएको थियो ?

नाओमीलाई तीन वर्षपछि थाहा भयो कि उनलाई के भएको थियो ?

‘मैले एक निकै राम्रा मनोचिकित्सकलाई भेटें र जे भएको थियो त्यसबारे बिस्तृत जानकारी दिएँ । मेरो जीवनको लगभग पूरा कहानी । उनले अत्यधिक अनुसन्धान गरे । आफ्ना सहयोगीसँग कुरा गरे र यो कुरामा सहमत भए कि मलाई डिसोसिएटिव एमनिजिया थियो ।’

यो एक दुर्लभ प्रकारको एमनिजिया हो । उनको स्मरणशक्ति गुमेको थिएन । गम्भीर तनावका कारण उनको दिमागमा झट्का लागेको थियो ।

रोगबारे पत्ता लागेपछि उनलाई थोरै राहत महसुस भयो ।

आफ्नो रोगबारे नाओमीले ‘द फरगटन गर्ल’ नामको एउटा किताब पनि लेखेकी छिन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ