शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार यज्ञनिधिको पैतालिसौँ स्मृति दिनमा शोकसभा

सोमबार, ०८ असोज २०७५, ११ : ३८
सोमबार, ०८ असोज २०७५

काठमाडौँ– साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५ औँ स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकताान्त्रिक आन्दोलनमा गणतन्त्र काव्यटार घोषित अनामनगरस्थित दाहालको दैलोमा आज शोकसभाको आयोजना गरेको छ ।  

चर्चित रेडियो कार्यक्रम ‘साहित्य संसार’ को प्रस्तुतकर्ता तथा साहित्य लेखनका माध्यमबाट लोकप्रिय भएका दाहाल यज्ञनिधिको गत साउन २५ गते मस्तिष्कघातका कारण निधन भएको थियो । 

उनको जन्म विसं २०१० साउन ८ गते खोटाङमा भएको थियो । दाहाल सो प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं पूर्वअध्यक्ष पनि थिए ।    शोकसभामा राष्ट्रियसभाका सांसद एवं साहित्यकार खेम नेपालीले साहित्यिक, सांस्कृतिक र सामाजिक जागरणमा दाहालको भूमिका महत्वपूर्ण रहेको बताए । 

प्रतिष्ठानका सल्लाहकार डा रामप्रसाद ज्ञवालीले दाहालका साहित्यिक र सांस्कृतिक क्षेत्रमा हक्की र स्पष्ट स्वभाव एवं प्रगतिशील विचार सदा स्मरणीय रहने जनाउँदै उनको कृतित्व झल्कने गरी नागार्जुनले विशेष प्रकाशन गर्नुपर्ने बताए । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले दाहालले साहित्यिक पत्रकारिता र साहित्यिक पत्रकार सङ्घको इतिहासमा दिनुभएको योगदानको स्मरण गरे । 

प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले दाहालको स्मृतिमा सम्मान÷पुरस्कार स्थापना र विशेष प्रकाशन गरिने जानकारी दिए । 
विसं २०५८ मा राजाले प्रत्यक्ष शासन सञ्चालन गरेपछि सो प्रतिष्ठानले दाहालको अगुवाइमा हरेक महीना शुभप्रभात काव्यगोष्ठी सञ्चालन र लोकतान्त्रिक साहित्यकार भेलाको संयोजन गरेको थियो । 
सोही समयमा प्रतिष्ठानको कार्यालय तथा दाहालको निवास रहेको दाहालको दैलोलाई गणतन्त्र काव्यटार घोषित गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप