शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा जबर्जस्ती करणीका घटनामा बृद्दि

आइतबार, ०७ असोज २०७५, १८ : ३६
आइतबार, ०७ असोज २०७५

संजय मिश्रा
रौतहट– रौतहटमा जबर्जस्ती करणीका घटनामा बृद्धि भएको छ ।  राजनीतिक हस्तक्षेप, घटनापछि दोषीलाई बचाउने चलखेल, तथा पैसाको लेनदेनमा अदालतमा गई पीडितद्धारा इन्कार गर्ने प्रवृतिका कारण करणीका घटनामा बृद्दि भएको हो । जिल्लामा प्रत्येक हप्तामा सरदर दुईवटा जबर्जस्ती करणीका घटना भइरहेको तथ्यांकमा देखिएको छ ।

आर्थिक वर्ष सुरु हुने साउनदेखि हालसम्म जिल्लामा कुल १७ वटा जबरदस्ती करणीको घटनाका मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी महेन्द्र मरासिनिकाअनुसार १७ वटा घटनामा संलग्न १९ जना अभियुक्तमध्ये १० जना पक्राउ परिसकेका छन ।

अन्य नौजना अभियुक्त भने हालसम्म फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरी प्रवक्ता मरासिनीले जानकारी दिए । अभियुक्त सबैमाथि जबर्जस्ती करणीको मुद्धा दर्ता भई जिल्ला अदालत गौरमार्फत कानुनी कार्वाही अगाडी बढाई सकिएको उनले जानकारी दिए ।

१७ वटा करणीका घटनाका पीडितमध्ये अधिकांश नाबालिका रहेको प्रहरीको तथ्यांकले देखाएको छ । ललाई फकाई, झारफुँकको बहानामा उक्त घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले विभिन्न प्रकारका लागूऔषध, मदिराजन्य पदार्थको सेवनको कारण पनि यस्ता घटनामा बृद्दि भएको बताए ।

विगतमा समाजमा यस्ता घटनाहरु हुँदा स्थानीय स्तरमै मिलाउने चलन थियो । पछिलो केही समयदेखि विभिन्न संघ संस्थाद्दारा फैलाइएको चेतनामुलक कार्यक्रमका कारण पीडितहरुले कानुनी कार्वाहीमा अग्रसरता देखाएकाले पनि करणीका घटना बढेको जस्तो देखिएको उनले बताए ।

यस्ता घटनालाई न्युनीकरण गर्न जिल्ला प्रहरी तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको पहलमा जिल्लामा चेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको प्रजिअ गोविन्द रिजालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप