बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कालो दिवस’ को समाचार सेयर गर्दा जसले गुमाउनुपर्यो सरकारी जागिर

आइतबार, ०७ असोज २०७५, १७ : १५
आइतबार, ०७ असोज २०७५

काठमाडौ–संविधान दिवसको विरोधमा असोज ३ गते मधेशी दलले ‘कालो दिवस’ मनाए ।  सो कालो दिवससम्बन्धी समाचार आफ्नो फेसबुकमा सेयर गरेको भन्दै एकजना कर्मचारी सरकारीले जागिरबाट हात धुनु परेको छ । 

जिल्ला अदालत धनुषामा खरिदार (करार) पदमा कार्यरत गुञ्जा रायलाई समाचार सेयर गरेको आरोपमा जागिरबाट बर्खास्तीमा परेकी हुन् ।  उनले आइतबार पत्रकार सम्मेलन गरेर त्यस्तो दाबी गरेकी हुन् । महोत्तरीकी रायले यसअघि विभिन्न सञ्चारमाध्यममा काम गर्नुको साथै मानवअधिकार सम्बन्धी संस्थामा पनि गरेकी थिइन् । 

स्नातकोत्तरसम्मको अध्ययन गरेकी रायले आफू पहिलादेखि अन्यायको विरुद्ध लड्ने भएको हुनाले यसमा चुप लागेर नबस्ने बताइन् ।  पत्रकार सम्मेलनपछि रातोपाटीसँगले उनीसँग बर्खास्तीका विषयमा केन्द्रीत रहेछ छोटो कुराकानी गरेको छ :

फेसबुकमा समाचार सेयर गरेकै कारण तपाईँ बखास्तीमा पर्नुभयो भनेर कसरी विश्वास गर्ने ?
–मसँग त कुनै प्रमाण छैन तर मसँग अदालतका श्रेस्तेदार राधाकान्त झाले कुरा गरेको कारण फेसबुकमा समाचार सेयर गरेकै कारण मलाई हटाएको कुरामा विश्वस्त छु ।

उहाँले के कुरा गर्नुभएको थियो तपाईसँग  ?

–असोज ३ गते संविधान दिवसको विरुद्धमा मनाएको कालो दिवसको समाचार मैले आफ्नो फेसबुकमा सेयर गरेको थिए । नियमित जस्तै ४ गते कार्यालय गए । कार्यालय जाने वित्तिकै श्रेस्तेदार राधाकान्त झाले मलाई बोलाएर संविधान दिवसको विरुद्धमा भएको गतिविधिको समाचार तपाईले आफ्नो फेसबुकमा सेयर गर्नुभएको छ भनि सोध्नुभयो ।

मैले भने, ‘हो सर ।’ अनि उहाँले ‘कालो दिवसलाई समर्थन गर्नुभएको हो’ भनेर सोध्नुभयो । मैले भने, ‘होइन, समर्थनमा होइन । जस्ट सेयर मात्र गरेको हुँ मेरो त्यसमा कुनै समर्थन छैन ।’ उहाँले भन्नुभयो, ‘सेयर गर्नु भनेको समर्थन जस्तै हो, तपाईलाई थाहा छैन ।’ मैले ‘छैन सर’ भने । त्यसपछि उहाँ केही बोल्नुभएन । म त्यो दिन आफ्नो काममा लागे । पाँच गते कार्यालय गएपछि अदालत प्रशासनले म्याद नथपिएको चिठी थमाईदियो । 

त्यसपछि के गर्नुभयो ?

–चिठी दिएपछि मैले थाहा पाएकि हिजो समाचारको विषय लिएर श्रेष्तेदारसँग कुरा भएको थियो । कामबाट हटाएको चिठी होला । म त्यो चिठी लिएर घर फर्के । घर फर्केपछि मैले अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीलाई फोन गरे । मैले सबै घटनाक्रम सुनाए । अनि उहाँले यो प्रशासनिक कुरा हो ।

उतै बुझ्नुस् भनि कुनै रेसपोन्स गर्नुभएन । दिनभरि म यसै गन्थनमन्थनमा रहे । साथी र घरपरिवारसँग सल्लाह गरे । सबैले मलाई यसलाई बहसमा ल्याउनुपर्छ भनि सल्लाह दिए, मैले सोही सल्लाहका आधारमा आज पत्रकार सम्मेलन गरे । 

एउटा सरकारी कर्मचारी भएर फेसबुकमा त्यस्तो समाचार सेयर गरेको छु भनि गलत लागेन ?

–पहिलो कुरा मैले त्यहाँ आफ्नो विचार व्यक्त गरेको छैन । कसैले लेखेको समाचार मैले सेयर गरि दिएको मात्र हुँ । त्यसरी सेयर गर्नुहुँदैन भन्ने कुरा मैले बल्ल थाहा पाएको छु । अहिलेको नयाँ कानुनमा त्यो कुरा उल्लेख छ । तर मेरो भनाई यति हो कि मबाट गल्ती भएको हो भने एकचोटी आफ्नो धारणा राख्ने मौका दिनुपथ्र्यो ।

पहिला मसँग स्पष्टिकरण सोध्नुपथ्र्यो । मलाई जवाफ दिने मौका दिनुपथ्र्यो तर त्यस्तो कुनै मौका नदिइ एकैचोटी चिठीनै हातमा थमाईदिनु भनेको ममाथि अन्याय भएको हो भन्ने मेरो बुझाई हो । जसले जस्तोसुकै गल्ती गरेपनि एकचोटी आफ्नो कुरा राख्ने मौका अवश्य दिन्छन् ।

मैले गल्ती गरेको छु भनि महसुस भएको हो ?

–गल्ती भन्दा पनि त्यो अन्जानमा भएको हो जस्तो लाग्छ मलाई । यसरी समाचार सेयर गर्दा कारवाही हुन्छ भनि मलाई थाहा थिएन । थुप्रै कर्मचारीहरुले फेसबुकमा के–के लेखिरहेका हुन्छन् ।

सेयर गरिरहेका हुन्छन् तर कसैलाई केही भएको छैन । ल ठिक छ मैले गरे । त्यो गलत भयो तर एकचोटी त मौका दिनुपथ्र्यो । त्यो न्यायलय हो, कसैमाथि फैसला गर्दा विपक्षीको कुरा पनि सुन्नुपर्छ । प्रमाणहरु हेर्नुपर्छ तर न्यायलयले नै ममाथि अन्याय गरेको छ ।

पत्रकार सम्मेलन नै किन गर्नुभयो त ?

–ममाथि आज जे भयो त्यो भोली गएर अरुमाथि नहोस् भनि मैले एउटा बहस चलाएको हुँ । म जस्ता थुप्रै करार तथा ज्यालादारी कर्मचारीहरु छन् । उनीहरुमाथि यस्तो अन्याय नहोस् भनेर मैले यो कदम चालेको हुँ । विगतमा मैले विभिन्न समाजिक संघ–संस्थामा काम गरेको छु ।

महिलाको हित र अधिकारका लागि लडेको छु । वकालत गरेको छु, आज म माथिनै यस्तो भयो, म कसरी चुप लागेर  बस्न सक्छु । मैले कुनै पार्टीको झण्डा बोकेर नारा लगाएर त्यस्तो काम गरेको छैन ।

संविधान दिवसको दिन त्यसको विरुद्धमा कालोदिवस मनाउनु ठिक थियोकि गलत ?

–म सही हो या गलत त्यो भन्दिन् । म सरकारी कर्मचारी थिए, त्यसको मार्यादामा बसेको थिए । संविधानमा सबै कुरा गलत हुन्छ भने होइन । धेरै यस्ता कुराहरु छन् जो अग्रगामी छन् । जनताको हितमा छन् । उत्पीडित समुदायको हितमा छन् ।

त्यसलाई स्वीकार गर्नैपर्छ तर कतिपय कुरा संशोधन गर्नुपर्ने पनि देखिन्छ । संविधानमा यस्ता कतिपय कुराहरु छन्, जसलाई संशोधन गर्न आवश्यक छ । जुन कुरा सरकारले सरकारले पनि स्वीकार गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आवश्यकताअनुसार संविधान संशोधन हुने भनिरहनुभएको छ ।

तपाईको अभियान पत्रकार सम्मेलन गरेर सकियो कि अझै अगाडि बढ्नुहुन्छ ?

–म यसलाई बहसको विषय बनाउँछु । फेरि अरुमाथि पनि यस किसिमको कुनै अन्याय नहोस् भनि म यसलाई अभियानकै रुपमा अगाडि बढाउँछु । संविधानमा सबैलाई मौलिक अधिकार दिएको छ । नागरिकको आफ्नो मौलिक अधिकार छ ।

कसैको स्वतन्त्र मौलिक अधिकार हनन् नहोस् भनि म बहसमा ल्याउँछु । म पहिला मिडियामा काम गरिसकेको, समाजिक संस्थामा काम गरिसकेको र एउटा न्यायलयमा पनि काम गरिसकेको हुनाले यसलाई अगाडि बढाउँछु ।  

तपाईको बहस राजनीतिक मुद्दा पनि बन्न सक्छ, भोली राजनीतिमा पनि आउनुहुन्छ कि ?

–होइन, अहिले राजनीति गर्ने मेरो कुनै सोंच छैन । मैले पहिलादेखि जागिर गरेको कारणले पुनः म जागिरमै जान्छु तर भविष्यको बारेमा कसैले केही भन्न सक्दैन । म पत्रकार थिए, पछि समाजिक संघ–संस्थामा काम गरे । त्यसपछि जागिरमा गए । त्यसैले भविष्यमा के गर्ने भनि भन्न सक्ने अवस्था छैन । तर मेरो साेंच जागिरमै जाने हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप